चीन र भारतबीच प्रचारमा होडबाजी

काठमाडौं, १७ वैशाख । महाभूकम्पका पीडितहरूलाई उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन दुई छिमेकी मुलुक चीन र भारतको होडबाजीजस्तै चलेको छ । तर, प्रचारबाजीमा मात्रै । भारतीयले पठाएको हेलिकप्टरसहित शैन्य उद्धार टोलीले कामभन्दा प्रचारबढी गरिरहेको पाइएको छ भने चिनियाँले चाहेजति सहयोग गर्न अनुमति नै नपाएको चर्चा छ ।

भारत सरकारले पठाएको छ सिटे क्षमताको हेलिकप्टर सामान्य बादलमा पनि उड्न नसक्ने खालको भएको स्रोतको दाबी छ । ‘भारतीय टोलीले कसैलाई उद्धार गर्न गए भने चार जना भारतीय सञ्चारमाध्यमसँगै लिएर जानै र त्यही दृश्यलाई बढाइचढाई प्रचार गर्छन्,’ एक सरकारी स्रोतले भन्यो ।

‘साना छ सिटे हेलिकप्टरमा चारजना त पत्रकारै भएपछि कति राहत सामग्री लान्छन् र कतिजनालाई उद्धार गरी ल्याउने ?’ ती सरकारी अधिकारीले भने, ‘बढी क्षति पहाडमै भएकाले उक्लिन नचाहने उद्धार टोलीको के काम ?’ कास्मिर र कार्गिलमा जान सक्ने भारतीय शैन्य हेलिकप्टर नेपालका पहाडदेखि डराउनु बहाना मात्र भएको बताइन्छ ।

‘उनीहरूका हेलिकप्टर साना छन् र उपकरण अत्याधुनिक छ, त्यसैले राहत उद्धारमा भारतीयभन्दा चिनियाँलाई प्राथमिकता दिनुपर्छ,’ स्रोतले भन्यो ‘ भोलिसम्म उनीहरूलाई अनुमति दिलाउन हामी प्रयत्नरत छौँ ।’

सिन्धुपाल्चोक जिल्लाको कोदारी पारी सयौँको संख्यामा मानिसहरू थुनिएको खबर छ । बाटो अबरुद्ध भएकाले उनीहरू थुनिएका एमाले नेता अमृत बोहराले जानकारी दिएका छन् । बोहराका अनुसार सो स्थान अत्यन्त खोच भएकाले हेलिकप्टरले पनि उद्धार गर्न सक्दैन । उनले भने, ‘त्यहाँ हेलिकप्टर पुग्नै सक्दैन ।’

यसैबीच प्राप्त जानकारीअनुसार चिनियाँ सरकारले नेपालमा राहत उद्धारलाई थप प्रभावकारी बनाउन १४ वटा साना हेलिकप्टर नेपाली सीमा तिब्बतमा तैनाथ राखेको छ । नेपाल सरकारले अनुमति दिए उनीहरू तत्काल नेपाल भित्रिएर उद्धार र राहतमा खटने बताइएको छ ।

तर, उनीहरू नेपाल सरकारको अनुमतिको पर्खाइमा रहेको विश्वस्त स्रोतले बताएको छ । स्रोतका अनुसार कोदारीको सो खोँचमा थुनिएकालाई समेत चिनियाँले उद्धार गर्न सक्ने बताइन्छ । ‘उनीहरूका हेलिकप्टर साना छन् र उपकरण अत्याधुनिक छ, त्यसैले राहत उद्धारमा भारतीयभन्दा चिनियाँलाई प्राथमिकता दिनुपर्छ,’ स्रोतले भन्यो ‘ भोलिसम्म उनीहरूलाई अनुमति दिलाउन हामी प्रयत्नरत छौँ ।’

उद्धारमा नेपाली सेना नै अगाडि

महाभूकम्पका पीडितलाई राहत रउद्धार गर्न विभिन्न देशले सहयोग गरेको प्रचार गरिए पनि नेपाली सेना नै अग्र पंक्तिमा रहेको पाइएको छ । नेपाली सेनाको हेलिकप्टर ठूलो भएकाले राहत सामग्री पनि एकैपटकमा धेरै लाने र फर्कंदा उद्धार गरिएका घाइतेहरूलाई ल्याउने गरेको सैनिक स्रोतले बताएको छ ।

नेपाली सेना, प्रहरीले यहाँको स्थानका बारेमा जानकार हुने भाषामा कठिनाइ नहुने भएकाले पनि नेपाली सेनाको उद्धार र राहत कार्य विदेशीको भन्दा प्रभावकारी भएको सैन्य स्रोतले दाबी गरेको छ । ‘हामीले बोल्न मिल्दैन र हामी मात्र पनि गर्न सक्दैनौँ । विदेशीले काम कम हल्ला बढी गर्छन्,’ सैन्य स्रोतले भने, ‘हाम्रो त कर्तव्य नै भएकाले पनि हामीलाई आफ्नै दाजुभाइ नै परेकाले आफैं पीडित भएको महसुस छ ।’

प्रतिक्रिया