काठमाडौं, १६ वैशाख । राष्ट्रिय भलिबल खेलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको विनाशकारी भूकम्पमा परी मृत्यु भएको छ ।
गत शनिबार गएको विनाशकारी भूकम्पमा कलङ्कीस्थित आफ्नै निवासमा घरले थिचिएर श्रेष्ठको मृत्यु भएको राष्ट्रिय भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
महासचिव चन्दले श्रेष्ठको मृत्युले भलिबल खेलमात्र नभई सिङ्गो खेलकुद क्षेत्रलाई क्षति पुगेको भन्दै प्रकृतिभन्दा ठूलो अरु केही नहुने बताए ।
उनले श्रेष्ठको शोकमा यही वैशाखमै हुने भनिएको महिला क्लब च्याम्पियनसीप प्रतियोगिता स्थगितसमेत गरेको जानकारी दिए । ५६ वर्षीय श्रेष्ठको श्रीमतीसँगै दुई छोरा छन् ।
मुख्य प्रशिक्षक श्रेष्ठ पूर्व राष्ट्रिय खेलाडीसमेत थिए । उनको सहभागितामा नेपालले अन्तर्राष्ट्रिय पदक हासिल गर्न नसके तापनि राष्ट्रियस्तरको विभिन्न प्रतियोगितामा पदक हासिल गरेको थियो ।
त्यस्तै विनाशकारी भूकम्पबाट नै बक्सिङ खलाडी दीपक महर्जनले आफ्नो आमा, दाजु, भाउजु र भतिजीलाई गुमाएका छन् ।
बक्सिङ खेलाडी महर्जनको संलग्नतामा नेपालले सन् २०१० मा चीनको ग्वाङजाउमा भएको १६औँ एसियाली खेलकुद प्रतियोगितामा एकमात्र कास्य पदक जितेको थियो ।
गत शनिबार र पटक–पटक गएको विनाशकारी भूकम्पले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाका तीनवटा ढोका, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मुख्य कार्यालय र राखेप नजिकै रहेको टेनिस कोर्ट वरिपरिको पर्खाल भत्किनुका साथै प्याराफिटमा समेत क्षति पुगेको छ ।
प्रतिक्रिया