अन्तर्राष्ट्रिय रिर्पोटिङको केन्द्र बन्यो काठमाडौं

aajtakकाठमाडौं, १६ वैशाख । भूकम्पको झट्कासँगै स्तब्ध बनेको काठमाडौं अहिले अन्तर्राष्ट्रिय रिर्पोटिङको केन्द्र बनेको छ । लामो दूरीको यात्रा तय गर्दै विदेशी पत्रकारहरू नेपाल आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूले नेपालमा रिर्पोटिङ मात्रै गरेका छैनन्, ब्रेकिङ र स्कुप न्युजमा सक्रिय रहने नेपाली पत्रकारहरूलाई मानवीय विपद्का बेला कस्तो शैलीबाट रिर्पोटिङ गर्ने भन्ने गतिलो पाठसमेत सिकाएका छन् ।

पत्रकारिताका कोर्समा पठाइने अन्तर्राष्ट्रिय रिर्पोटिङको सैद्धान्तिक मर्म र पत्रकारको व्यावसायिक धर्मभन्दा माथि उठेर केही विदेशी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले आफ्नो उपस्थिति देखाएका छन् ।

 

सिएनएन र अलजजिराले समेत विशेष कभरेज गरिरहेको नेपालको महाभूकम्पका विषयमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको चासो बढी छ । चिनियाँ समाचार संस्था सिनुवा तथा बेलायती संस्था रोयटर्सका प्रतिनिधिले नेपालबाट दृश्य खिच्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यसलाई वितरण गर्दै आएका छन् ।

नेपाली जनताले भोगेको पीडालाई केवल दृश्यमा उतारेर बाहिरी देशका जनताका लागि पठनयोग्य वा हेर्नलायक सामग्री बनाउने मात्रै होइन, ती दृश्यभित्रका वेदना प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि झकझक्याउने काममा विदेशी पत्रकारको सक्रियता छ । नेपालमा रिर्पोटिङकै लागि आएका सिएनएनका पत्रकार डाक्टर सञ्जय गुप्ता समाचार संकलनसँगै उद्धारकार्यमा जुटेका छन् ।

उनले काठमाडौंको ट्रमा सेन्टरमा एक बालिकाको अप्ररेसन गर्दै गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ ।

पाँचखालकी सलिना दाहाललाई लिएर काठमाडौंको ट्रमा सेन्टरमा आएका उनका हजुरबुबा रामप्रसाद दाहाल चिकित्सकको अभावमा भौँतारिइरहेका बेला डाक्टर गुप्ताले मानवीय संवेदनाको ख्याल राख्दै आफ्नो कापी–कलम थन्क्याएर बालिकाको अप्ररेसन गरेका हुन् ।

उनी सिएनएनका प्रमुख स्वास्थ्य संवाददाता हुन् । सिएनएन मात्रै नभएर यतिबेला अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत आफ्ना प्रमुख संवाददाताहरूलाई नेपालमा खटाएका छन् ।

भारतीय सञ्चार समूह इन्डिया टुडेको समाचार च्यानल आजतकले नेपालमा भएको विपद्को समाचार संकलन गर्न केन्द्रबाट मात्रै एघार जना रिर्पोटर खटाएको छ ।

एबिपी न्युज तथा अन्य समाचार संस्थाले उत्तिकै मात्रामा केन्द्रबाट रिर्पोटर, क्यामेरापर्सन तथा अन्य प्राविधिक खटाएका छन् ।

उनीहरूको केन्द्रीय कार्यालयस्थित न्युज रूममा समेत नेपालको भूकम्पसम्बन्धी समाचारले एकछत्र प्रभाव जमाएको छ ।

भारतका टेलिभिजन च्यानलहरूले संसदीय मामिला, मनोरञ्जन तथा खेलकुद समाचारहरूलाई कम गर्दै भूकम्पको प्रभावलाई प्राथमिकतामा राखेका छन् । नेपाली सञ्चारमाध्यम पुग्न नसकेको स्थानमा भारतीय सञ्चारमाध्यमले आफ्नो उपस्थिति देखाइरहेका छन् ।

सबैभन्दा धेरै प्रभावित गोर्खाको बारपाक, सिन्धुपाल्चोक, काठमाडौंलगायत देशका प्रमुख सहर तथा धादिङ, नुवाकोटलगायतका गाउँमा पुगेर अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारहरूले समाचार संकलन गरिरहेका छन् ।

bbcपत्रकारहरूले पीडितलाई उद्धारको खाँचो रहेको औंल्याइरहेका छन् । भारतीय पत्रपत्रिकामा समेत नेपालको महाविपत् हेडलाइन बनेको छ ।

सुरुआतदेखि नै भूकम्पको फलोअप गर्दै आएका भारतीय अनलाइन तथा टेलिभिजनहरूले चौथो दिन नेपाली प्रधानमन्त्री सुशील कोइरालाको अभिव्यक्तिलाई हेडलाइन बनाएका छन् । कोइरालालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले मृतकको संख्या १० हजार पुग्न सक्ने जनाएका छन् ।

भारतसँगै चीन, अमेरिका र बेलायतका सञ्चारमाध्यममा समेत नेपालमा मच्चिएको दैवीप्रकोप प्रमुख समाचार बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी तथा चिनियाँ सञ्चारमाध्यम सिसीटिभीमा नेपालको भूकम्प र यसले पारेको प्रभावपछि त्रसित जनताको धारणालाई समेटिएको छ ।

 

नेपालका प्रधानमन्त्रीले बोलेका कुरादेखी भूकम्प आउन सक्ने सम्भावित खतरा तथा सामाजिक सञ्जालमा फैलाइएका अनावश्यक हल्लाहरूका विषयलाई समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयमित भएर उठाएका छन् ।

सिएनएन र अलजजिराले समेत विशेष कभरेज गरिरहेको नेपालको महाभूकम्पका विषयमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको चासो बढी छ । चिनियाँ समाचार संस्था सिनुवा तथा बेलायती संस्था रोयटर्सका प्रतिनिधिले नेपालबाट दृश्य खिच्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यसलाई वितरण गर्दै आएका छन् ।

नेपालमा अहिले भारत, चीन, जापान, बेलायत, अमेरिका, क्यानेडा, टर्की, पाकिस्तान, भुटानलगायत विश्वका थुप्रै देशबाट भूकम्पपीडितका नाममा राहत भित्रिने क्रम जारी छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूले पीडितसमक्ष राहत पुग्न नसकेको औँल्याइरहेका छन् ।

सगरमाथा बेस क्याम्पदेखि तराईको जनकपुरसम्मका दृश्यहरूलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ समेटेका कारण ताजा र विश्वसनीय समाचारका लागि नेपाली जनता अन्तर्राष्ट्रिय टेलिभिजन नियाल्न थालेका छन् ।

नेपालका प्रधानमन्त्रीले बोलेका कुरादेखी भूकम्प आउन सक्ने सम्भावित खतरा तथा सामाजिक सञ्जालमा फैलाइएका अनावश्यक हल्लाहरूका विषयलाई समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयमित भएर उठाएका छन् ।

नेपालमै मौकाको फाइदा उठाउने उद्देश्यसहित बढेको कालोबजारी तथा यसले मर्कामा परेका सर्वसाधारणको व्यथालाई समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ उठाएका छन् ।

प्रतिक्रिया