विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टेनी खेलाडीहरूले इस्लास माल्भिनास हाम्रो हो भन्ने ब्यानेर बोकेका थिए । तर, एउटा राष्ट्रले युद्ध सम्झिनु र अर्काे राष्ट्रका नागरिकप्रति स्थायी घृणा राख्नु एउटै कुरा होइन ।

फिफा विश्वकप २०२६ सकिएको छ । फाइनलमा अघिल्लो पटकको विजेता अर्जेन्टिनालाई २०१० को विजेता स्पेनले १–० को अन्तरले पराजित ग¥यो । विश्वकप सकिए पनि विश्वकपको धङ्धङ्गी सकिएको छैन । यस स्तम्भमा हालै सम्पन्न विश्वकपका अनेकन सन्दर्भमाथि होइन, एउटा चर्चित मिथकमाथि चर्चा गरिने छ ।
विश्वकप सुरु हुनेबित्तिकै नेपाली फुटबल समर्थकहरू विभिन्न दुई भागमा बाँडिन्छ । आकाशे नीलो, रातो र पहेँलो आदि । कसैले अर्जेन्टिनाको जर्सी लगाउँछ, कसैले ब्राजिल, कसैले पोर्चुगल, कसैले फ्रान्स त कसैले स्पेनको । चिया पसलदेखि विश्वविद्यालय, गाउँका चौतारादेखि सहरका क्याफेसम्म फुटबल बहसले घन्किन्छ । विश्वकप नेपालमा केवल खेल मात्रै होइन, एउटा सांस्कृतिक उत्सव बन्न थालेको देखिन्छ । उसो त यो नेपालको मात्रै नभएर विश्वकै निम्ति उत्सव नै हो । आर्थिक, राजनीतिक रूपमा पनि विश्वकप अर्थपूर्ण छ ।
विश्वकपको दौरानमा उल्लिखित सन्दर्भ एकातिर छँदै छन् । तर, अर्जेन्टिनालाई लिएर नेपालमा एउटा पुरानो कथा दोहोरिन्छ, ‘फकल्यान्ड युद्धमा गोर्खालीले अर्जेन्टिनी सेनालाई हराएका थिए, त्यसैले अर्जेन्टिनीहरू गोर्खालीलाई घृणा गर्छन्, गोर्खालीको नाम सुनेर अर्जेन्टिनी सेना भागेको थियो, अर्जेन्टिनामा नेपाली भनेर चिनायो भने अझै पनि घृणा गर्छन् ।’
यी मिथक र कथाहरू वर्षौंदेखि नेपालमा सुनिँदै आएका छन् । सामाजिक सञ्जालले तिनलाई अझ चर्चित बनाएको छ । युट्युबका भिडियो, फेसबुकका पोस्ट र चिया पसलका गफले यी दाबीलाई इतिहास जस्तै स्थापित गरिदिएका छन् । तर, एउटा प्रश्न उठ्छ, के यी दाबी तथ्य हुन्, कि लोकप्रिय मिथक मात्रै ? पत्रकारिताको एउटा आधारभूत सिद्धान्तले भन्छ, ‘बारम्बार दोहोरिएको कुरा सत्य हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।’
दक्षिण एटलान्टिक महासागरमा रहेका केही साना टापुहरूलाई बेलायतले फकल्यान्ड आइल्यान्ड्स भन्छ । अर्जेन्टिनाले तिनै टापुलाई इस्लास माल्भिनास भन्छ । नाम फरक भए पनि भू–भाग एउटै हो । बेलायतले सन् १८३३ देखि त्यहाँ आफ्नो प्रशासन चलाउँदै आएको छ । अर्जेन्टिनाले भने ती टापु आफ्नै ऐतिहासिक भू–भाग भएको दाबी गर्दै आएको छ । यही विवाद अन्ततः सन् १९८२ मा ७४ दिन लामो युद्धमा परिणत भयो ।
बेलायती सेनाको एउटा विशेष पहिचान गोर्खा रेजिमेन्ट हो । नेपालका हजारौँ युवाले दुई शताब्दीभन्दा बढी समयदेखि बेलायती सेनामा सेवा गर्दै आएका छन् । फकल्यान्ड युद्धमा पनि गोर्खा सैनिकहरू बेलायती सेनाको हिस्सा थिए । यहीबाट नेपाली समाजमा एउटा नयाँ कथा जन्मियो, ‘गोर्खालीले अर्जेन्टिनी सेनालाई पराजित गरे ।’ तर इतिहास यति सरल छैन । गोर्खाली युद्धमा सहभागी थिए, तर युद्ध गोर्खालीले जितेका थिएनन् । त्यो बेलायती सैन्य अभियान थियो, जसमा नौसेना, वायुसेना, प्याराट्रुपर, रोयल मरिन र गोर्खा सबैको भूमिका थियो ।
यद्यपि, एउटा कुरा भने सत्य हो – गोर्खालीको नाम र खुकुरीको छविले अर्जेन्टिनी सैनिकहरूको मनोविज्ञानमा प्रभाव पारेको उल्लेख धेरै संस्मरण र अध्ययनमा पाइन्छ । तर त्यसको अर्थ के अर्जेन्टिनी समाजले आज पनि गोर्खालीलाई घृणा गर्छ ? यस सवालको तथ्यपरक जबाफको खोजी गरौँ । सन् १०८२ को अप्रिल । दक्षिण एटलान्टिकको चिसो समुद्र युद्धको तयारीमा थियो । अर्जेन्टिनाले माल्भिनास (फकल्यान्ड) टापुमा आफ्नो झन्डा गाडिसकेको थियो । बेलायतले ८ हजार माइलभन्दा टाढाबाट विशाल नौसैनिक पठाएको थियो । संसारका धेरैलाई यो असम्भव युद्धजस्तो लागेको थियो ।
यही बेला बेलायती सेनासँग एउटा नाम पनि समुद्र पार गर्दै दक्षिणतर्फ बढिरहेको थियो, गोर्खा । गोर्खा सैनिक युद्धमा सहभागी हुने खबर सार्वजनिक भएसँगै बेलायती पत्रपत्रिकाले उनीहरूको बहादुरीका पुराना कथा दोहो¥याउन थालेका थिए । दोस्रो विश्वयुद्धदेखि बोर्नियो र मलायासम्मका लडाइँमा कमाएको प्रतिष्ठा फेरी समाचार बन्न थाल्यो । खुकुरी र वीरताको चर्चा भयो । साहसका कथा लेखिए । युद्ध सुरू हुनुअघि नै गोर्खाली एउटा सैनिक एकाइ मात्र थिएन, उनीहरू एउटा प्रतिष्ठाको विषय बनिसकेका थिए । युद्धमा प्रतिष्ठा पनि हतियार बन्छ भन्ने कुरा उक्त युद्धमा पुष्टि भएको थियो ।
मनोवैज्ञानिक युद्ध
युद्ध बन्दुकले मात्र जितिँदैन । कहिलेकाहीँ युद्ध सुरु हुनुअघि नै सैनिकको मनमा जित–हारको बिउ रोपिन्छ । यसलाई सैन्य भाषामा मनोवैज्ञानिक युद्ध भनिन्छ । फकल्यान्ड युद्धमा गोर्खालीको नाम पनि यस्तै मनोवैज्ञानिक प्रभावसँग जोडिएको देखिन्छ । धेरै अर्जेन्टिनी सैनिकका संस्मरणमा गोर्खा सैनिकबारे उनीहरूले युद्धअघि सुनेका कथाहरू उल्लेख छन् । कतै उनीहरूलाई खुकुरी बोकेका निडर सैनिक भनिएको छ, कतै भयानक लडाकु भनेर चित्रण गरिएको छ । तर, ती वर्णनहरू प्रायः सुनेका कथा थिए, प्रत्यक्ष अनुभव होइनन् । युद्ध सुरु हुनुअघि नै कथा सैनिक शिविरमा पुगिसकेको थियो ।
वास्तविक युद्धभूमि
लोकप्रिय नेपाली कथामा जस्तो गोर्खा र अर्जेन्टिनी सेनाबीच ठुलो आमनेसामने युद्ध भएको चित्र इतिहासले देखाउँदैन । गोर्खा रेजिमेन्ट बेलायती सेनाको एउटा हिस्सा थियो । उनीहरू युद्धको अन्तिम चरणमा स्थलगत अभियानमा खटाइए । केही स्थानमा उनीहरूले अग्रगमन गरे, सुरक्षा जिम्मेवारी सम्हाले र युद्धविरामको अवस्थासम्म आफ्नो भूमिका निर्वाह गरे । तर अर्जेन्टिनी सेनाका अधिकांश आत्मसमर्पणहरू बेलायती सेनाको समग्र सैन्य अभियान, नौसैनिक नाकाबन्दी, वायु आक्रमण र स्थलगत प्रगतिपछि भएका थिए । अर्थात् युद्धको जित एउटै रेजिमेन्टको उपलब्धि थिएन ।
नेपालमा एउटा कथा निकै लोकप्रिय छ, ‘गोर्खालीले खुकुरी निकाल्ने बित्तिकै अर्जेन्टिनी सेना भाग्यो ।’ इतिहासले यो दाबीलाई त्यति सरल रूपमा स्वीकार गर्दैन । खुकुरी गोर्खा सैनिकको पहिचान अवश्य थियो । त्यसले मनोवैज्ञानिक प्रभाव पनि पारेको हुन सक्छ । तर, उपलब्ध सैन्य अभिलेखले युद्धको परिणामलाई खुकुरी वा गोर्खालीको उपस्थितिमात्रसँग जोड्दैन । युद्ध जित्ने वा हार्ने निर्णय एउटा हतियार, एउटा सैनिक वा एउटा रेजिमेन्टले गर्दैन । त्यो रणनीति, नेतृत्व, रसद, मौसम, हवाई शक्ति, नौसैनिक नियन्त्रण र सयौँ साना–ठुला निर्णयहरूको परिणाम हुन्छ ।
युद्ध समाप्त भयो । तर युद्धपछि एउटा अर्काे यात्रा सुरु भयो – कथाहरूको यात्रा । कतिपय कथाले गोर्खालीलाई वास्तविक वीरताभन्दा अझ ठुलो किंवदन्ती बनाए । कतिपयले अर्जेन्टिनी सेनाको मनोवैज्ञानिक अवस्थालाई अतिरञ्जित रूपमा प्रस्तुत गरे । यसले गोर्खालीको गौरव घटाउँदैन । बरु एउटा सत्य सम्झाउँछ – वास्तविक बहादुरीलाई अतिरञ्जनाको सहारा चाहिँदैन । गोर्खालीको इतिहास आफैँमा पर्याप्त गौरवशाली छ । त्यसलाई प्रमाणित गर्न कल्पित कथाहरू थपिरहनु पर्दैन । दोहो¥याइरहनु पर्दैन ।
के अर्जेन्टिनीहरू नेपालीलाई घृणा गर्छन् ?
विश्वकपको समयमा सबैभन्दा धेरै दोहोरिने वाक्यहरूको सूची बनाइयो भने सम्भवतः एउटा वाक्य अवश्य पर्नेछ । फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले गोर्खालीलाई आज पनि घृणा गर्छन् । यो वाक्य यति धेरै दोहोरिएको छ कि धेरैले यसलाई प्रमाण खोज्नुपर्ने विषय नै ठान्दैनन् ।
तर, इतिहासको संसारमा कुनै पनि दाबीको मूल्य त्यसको लोकप्रियताले होइन, प्रमाणले निर्धारण गर्छ । त्यसैले प्रश्न फेरि उही हो, के यो दाबीलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाण छन् ? सन् १९८२ को फकल्यान्ड (माल्भिनास) युद्ध अर्जेन्टिनाका लागि राष्ट्रिय स्मृतिको एउटा गहिरो अध्याय हो । त्यहाँ युद्धमा ज्यान गुमाएका सैनिकलाई सम्मान गरिन्छ । माल्भिनासमाथिको दाबी आज पनि अर्जेन्टिनी राष्ट्रिय पहिचानको एउटा हिस्सा मानिन्छ ।
विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टेनी खेलाडीहरूले इस्लास माल्भिनास हाम्रो हो भन्ने ब्यानेर बोकेका थिए । तर, एउटा राष्ट्रले युद्ध सम्झिनु र अर्काे राष्ट्रका नागरिकप्रति स्थायी घृणा राख्नु एउटै कुरा होइन । अर्जेन्टिनी इतिहासकार, पत्रकार र युद्धसम्बन्धी अध्ययनहरू हेर्दा युद्धको केन्द्रमा मुख्यतः बेलायत र माल्भिनासको सार्वभौमिकताको प्रश्न देखिन्छ । गोर्खा रेजिमेन्ट त्यस युद्धमा सहभागी बेलायती सैन्य इकाइहरूमध्ये एक थियो । तर, युद्धको राजनीतिक वा राष्ट्रिय विमर्श गोर्खामै केन्द्रित भएको देखिँदैन ।
फकल्यान्ड युद्धका केही अर्जेन्टिनी सैनिक संस्मरणमा गोर्खा सैनिकको उल्लेख भेटिन्छ । त्यहाँ उनीहरूको साहस, खुकुरी र युद्धकौशलबारे सुनेका कथाहरू उल्लेख गरिएका छन् । युद्धअघि गोर्खाबारे फैलिएका कथाले केही सैनिकमा मनोवैज्ञानिक प्रभाव पारेको हुन सक्छ भन्ने संकेत पनि पाइन्छ । तर, त्यसलाई अर्जेन्टिनी समाजले गोर्खालीलाई घृणा गर्छ भन्ने निष्कर्षमा रूपान्तरण गर्न पर्याप्त आधार भेटिँदैन । डर, सम्मान, युद्धकालीन प्रचार र घृणा – यी चारवटा शब्दको अर्थ एउटै होइन ।
युद्धमा प्रतिद्वन्द्वी सैनिकप्रति डर हुन सक्छ । उसको युद्धकौशलप्रति सम्मान पनि हुन सक्छ । तर, त्यसबाट पूरै राष्ट्रले अर्काे राष्ट्रका नागरिकप्रति पुस्तौँसम्म घृणा गर्छ भन्ने निष्कर्ष स्वतः निस्कँदैन । आजको अर्जेन्टिनामा नयाँ पुस्ता हुर्किएको छ । उनीहरूको धेरै चासो अर्थतन्त्र, राजनीति, फुटबल र दैनिकीमा केन्द्रित छ । नेपाल वा गोर्खाबारे उनीहरूको जानकारी प्रायः सीमित देखिन्छ । सार्वजनिक रूपमा उपलब्ध अन्तरक्रिया, यात्रा अनुभव र अनलाइन छलफलहरूमा अधिकांश अर्जेन्टिनीले नेपालप्रति कुनै विशेष नकारात्मक धारणा व्यक्त गरेको देखिँदैन ।
धेरैका लागि नेपाल हिमाल, बुद्ध र हिमालयसँग जोडिएको देश हो । कतिपयले गोर्खाबारे सुनेका छन्, तर त्यसलाई आजको व्यक्तिगत सम्बन्धसँग जोडेको देखिँदैन । यसको अर्थ युद्धको स्मृति समाप्त भएको होइन । यसको अर्थ यति मात्र हो – युद्धको स्मृति र वर्तमान समाजको दृष्टिकोणलाई एउटै ठान्नु ऐतिहासिक रूपमा सावधानीपूर्वक गर्नुपर्ने काम हो ।
यदि अर्जेन्टिनामा गोर्खालीप्रतिको घृणाको ठोस् प्रमाण छैन भने नेपालमा यस्तो विश्वास किन यति बलियो बन्यो ? यसका केही सम्भावित कारण देखिन्छन् । पहिलो, गोर्खालीको वीरताको ऐतिहासिक प्रतिष्ठा । नेपाली समाजले आफ्ना सैनिक परम्पराबाट स्वाभाविक रूपमा गर्व गर्छ । दोस्रो, युद्धकालीन प्रचार र सैनिक कथाहरू । युद्ध सकिएपछि यस्ता कथाहरू मुखैमुख सर्दै जाँदा कतिपय तथ्य र कल्पना मिसिन्छन् । तेस्रो, सामाजिक सञ्जाल । छोटो, रोमाञ्चक र भावनात्मक कथा धेरै फैलिन्छन् । जटिल ऐतिहासिक व्याख्या कम फैलिन्छ ।
प्रतिक्रिया