
कैलाली । जिल्लाका बालबालिकाले बालबालिकाका लागि खेलमैदान, बाल उद्यान निर्माणजस्ता संरचना निर्माणमा लगानी गर्न माग गरेका छन् । विद्यालय समयबाहेकको समय बिताउने ठाउँको अभावले बालबालिका गलत कार्यमा लाग्न थालेकाले बालबालिका खेल्ने र सिकाइ हुने खालका संचरना निर्माणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बालबालिकाले माग गरेका हुन् । कैलालीको घोडाघोडी–२ की बालिका आयुषा सञ्यालले बालबालिकालाई लागुपदार्थ, बालविवाह र सामाजिक सञ्जालको गलत प्रयोगबाट जोगाउन हरेक वडामा व्यवस्थित खेलमैदान बनाउनुपर्ने र साना बालबालिका खेल्ने बालउद्यान आवश्यक रहेको बताइन् ।
घोडाघोडी नगरस्तरीय बाल क्लबका अध्यक्ष तथा तेक्वान्दो खेलाडी हेमा न्यौपानेले खेलाडी बालबालिकालाई अध्ययनमा समेत विशेष प्रोत्साहन आवश्यक रहेको बताइन् । हेमा तेक्वान्दोको जिल्लास्तरीय खेलाडी हुन् । उनले गत वर्ष तेक्वान्दोमा कैलाली जिल्लामा द्वितीय स्थान हासिल गरेकी थिइन् । हेमाले छात्रवृत्तिका लागि विद्यालयमा आवेदन दिए पनि नपाएको गुनासो गरिन् । घोडाघोडी–३ जुडपानीका अमित चौधरीले पालिकाले बालबालिका र अभिभावकलाई सचेत बनाउन हरेक समुदायमा रूपान्तरण कक्षा सञ्चालन गर्नुपर्ने माग गरे । बालबालिकाहरू नै सही र गलत छुट्याउने ज्ञान नभएकाले समाजमा बालविवाह धेरै बढेको गुनासो गर्छन् ।
बालबालिका प्रेममा परेर कम उमेरमै गरिने विवाहले समस्या निम्त्याएको बालबालिकाकै भनाइ छ । घोडाघोडी–५ की शर्मिला रोक्काले सरकारको लक्ष्यअनुसार बालमैत्री स्थानीय शासन पालिका घोषणाका लागि बालबालिकामै लगानी बढाउन माग गरिन् । बालिका सुस्मता भण्डारीले विद्यालयमा अतिरिक्त क्रियाकलाप बढाउनुपर्ने, स्काउटका गतिविधि बढाउनुपर्ने माग गरिन् । महिला बालबालिका शाखा प्रमुख इन्दु जोशीले पालिकाले यस वर्ष बालकोष स्थापना गर्ने, बाल सञ्जाल, किशोरी सञ्जाल गठन गरेर क्षमता विकासमा काम गर्ने योजना बनाएको बताइन् । घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंहले घोडाघोडीमा शैक्षिक सुधारका लागि अतिरिक्त क्रियाकलापमा जोड दिइएको बताए ।
शैक्षिक सुधारका लागि विद्यालय सुविधायुक्त बनाउने, हरेक विद्यालयमा खेलमैदान, खेलसामग्री, शौचालय, स्यानिटरी प्याड, आरामकक्षजस्ता सुविधा विस्तार गर्दै गएको उनको भनाइ छ । नगर उपप्रमुख गुलियाकुमारी चौधरी किशोरकिशारीलाई गलत संगतबाट जोगाउन शिक्षा, महिला बालबालिका, स्वास्थ्य शाखामार्फत नियमित रूपमा काम भइरहेका बताइन् । नगरप्रमुख खडक रावतले घोडाघोडीमा शैक्षिक, खेलकुद, सांगीतिक, साहित्यिक क्षेत्रमा बालबालिका अघि बढाउन प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया