फ्रान्स अनुभव, आक्रमण क्षमता र विश्वकप इतिहासका कारण बलियो देखिए पनि मोरक्कोको अनुशासन, आत्मविश्वास र उत्कृष्ट रक्षात्मक प्रदर्शनले खेललाई निकै प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ

काठमाडौँ । विश्वकप २०२६ को क्वार्टरफाइनल चरण शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो खेलमा २ बलिया टोली फ्रान्स र मोरक्को नेपाली समयअनुसार शुक्रबार बिहान १ः४५ बजे आमनेसामने हुँदै छन् । लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको २ पटकको विश्व विजेता फ्रान्सले अन्तिम ८ को खेलमा मोरक्कोको चुनौती सामना गर्नेछ । यी २ टोलीबीचको बहुप्रतीक्षित खेल बिहीबार अमेरिकाको बोस्टनमा हुनेछ ।
यो खेल सन् २०२२ को कतार विश्वकप सेमिफाइनलको पुनरावृत्ति पनि हो । त्यसबेला फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । अब मोरक्को पुरानो हारको बदला लिने लक्ष्यमा हुनेछ भने फ्रान्स लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दौडमा अघि बढ्न चाहन्छ । यो खेलको विजेता टोलीले सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एक टोलीको सामना गर्नेछ ।
उत्कृष्ट लयमा फ्रान्स
फ्रान्स यस विश्वकपमा निकै प्रभावशाली प्रदर्शन गर्दै आएको छ । समूह चरणदेखि नै बलियो देखिएको फ्रान्सले अहिलेसम्म खेलेका पाँचै खेल जितेको छ । समूह ‘आई’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको फ्रान्सले त्यसपछि स्विडेन र पाराग्वेलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पाराग्वेविरुद्धको खेलमा फ्रान्सलाई जित दिलाउन कप्तान किलियन एमबाप्पेले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । उक्त जितसँगै फ्रान्सले प्रतियोगितामा हालसम्म १३ गोल गरिसकेको छ ।
फ्रान्सको आक्रमण पंक्ति निकै खतरनाक देखिएको छ । एमबाप्पे, ओस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बारकोलाले विपक्षी डिफेन्सलाई लगातार दबाब दिइरहेका छन् । यस्तै, डेसिरे डुएले पनि आफ्नो प्रभाव देखाइरहेका छन् । पाराग्वेविरुद्ध उनले देखाएको उत्कृष्ट कौशलले फ्रान्सलाई महत्वपूर्ण पेनाल्टी दिलाउन भूमिका खेलेको थियो ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसाम्सका लागि यो विश्वकप विशेष हुनेछ । प्रतियोगितापछि पद छाड्ने तयारीमा रहेका डेसाम्सले बिहीबार आफ्नो २५औँ विश्वकप खेलमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । यससँगै उनी जर्मनीका पूर्व प्रशिक्षक हेल्मुट सोनको कीर्तिमानसँग बराबरी गर्नेछन् । बोस्टनमा हुने खेलमा डेसाम्स फ्रान्सलाई विश्वकप इतिहासमा आफ्नो २०औँ जित दिलाउने लक्ष्यमा हुनेछन् । यसअघि फ्रान्सले यही मैदानमा कमजोर टोलीका रूपमा आएको नर्वेलाई ४–१ ले पराजित गरेको थियो ।
मोरक्कोको ऐतिहासिक यात्रा
अर्कोतर्फ, मोरक्को पनि यस विश्वकपमा उत्कृष्ट लयमा छ । अफ्रिकी फुटबलको इतिहासमा नयाँ अध्याय लेखिरहेको मोरक्कोले लगातार उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको हो । मोरक्कोले अहिलेसम्म विश्वकपमा फ्रान्सलाई ९० मिनेटभित्र हराउन सकेको छैन । यी २ टोलीबीच भएका ६ खेलमध्ये फ्रान्सले ४ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । सन् २०२२ को विश्वकपमा भएको एक मात्र प्रतिस्पर्धात्मक भेटमा फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई हराएको थियो ।
विश्व वरीयतामा सातौँ स्थानमा रहेको मोरक्कोले समूह ‘सी’ मा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपछि उसले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो भने आयोजक टोली क्यानडालाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश ग¥यो । अन्तिम १६ को खेलमा सुरुआत केही सुस्त भए पनि दोस्रो हाफमा अजिदिने ओउनाहीले २ गोल गर्दै मोरक्कोलाई नियन्त्रणमा ल्याएका थिए । त्यसपछि वैकल्पिक खेलाडी सोफियान रहिमीले इन्जुरी समयमा गोल गर्दै जित सुनिश्चित गरेका थिए । मोरक्को जनवरीमा भएको विवादास्पद अफ्रिका कप अफ नेसन्स फाइनलपछि लगातार १० खेलमा अपराजित छ । तर फ्रान्सजस्तो बलियो टोलीविरुद्ध यो अपराजित यात्रालाई कायम राख्नु उसको सबैभन्दा ठुलो चुनौती हुन सक्छ ।
सर्वाधिक गोलकर्ताको दौडमा एमबाप्पे
फ्रान्सका कप्तान एमबाप्पेले पाराग्वेविरुद्ध गरेको गोलसँगै विश्वकपमा आफ्नो गोल संख्या ७ पु¥याएका छन् । उनी गोल्डेन बुट दौडमा लियोनल मेसी र एर्लिङ हालान्डसँगै शीर्ष स्थानको प्रतिस्पर्धामा छन् । रियल मड्रिडका स्टार फरवार्ड एमबाप्पेले विश्वकपमा कुल १९ गोल गरिसकेका छन् । उनी विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा माथि उक्लिने प्रयासमा छन् ।
प्रशिक्षक डेसाम्सले सम्भवतः टोलीको सुरुआती संरचनामा धेरै परिवर्तन गर्ने छैनन् । औरेलियन चुआमेनी चोटका कारण बाहिर रहँदा म्यानु कोनेले मिडफिल्डमा निरन्तर अवसर पाउन सक्छन् । मार्कस थुराम पनि चोटका कारण उपलब्ध हुने सम्भावना कम छ । मोरक्कोमा भने इस्माइल साइबारीको फिटनेस मुख्य चिन्ताको विषय बनेको छ । बायर्न म्युनिखमा आबद्ध भएका साइबारीले समूह चरणमा राम्रो प्रदर्शन गरेका थिए तर अन्तिम १६ को खेलमा चाँडै मैदानबाट बाहिरिएका थिए ।
उनको ह्यामस्ट्रिङ समस्याका कारण अगाडिको पंक्तिमा सोफियान रहिमीले स्थान पाउन सक्छन् । सेन्टर ब्याक चादी रियादको फिटनेस पनि प्रश्नमा छ । क्यानडाविरुद्ध २ गोलमा सहयोग गरेका ब्राहिम डियाज मोरक्कोका प्रमुख सिर्जनात्मक खेलाडी हुन् । उनले यस विश्वकपमा ४ असिस्ट गर्दै अफ्रिकी खेलाडीमध्ये कीर्तिमान बनाएका छन् । यस वर्ष आफ्नो राष्ट्रिय टोलीका लागि उनले १० गोलमा प्रत्यक्ष योगदान दिएका छन् ।
फ्रान्सको सुरुआती ११ मा माइक मेग्नान, जुलेस कोन्डे, डेयोट उपामेकानो, विलियम सालिबा, लुकास डिग्ने; म्यानु कोने, एड्रियन राबियो; ओस्मान डेम्बेले, माइकल ओलिसे, ब्राडली बारकोला र किलियन एमबाप्पे रहने सम्भावना प्रबल छ । यासिन बुनो, अचरफ हाकिमी, अम्मार दियोप, चादी रियाद, नुसैर माजरावी; इलियास एल अयनाउई, बौआद्दी; ब्राहिम डियाज, अजीदिने ओउनाही, एल खन्नुस र सोफियान रहिमी स्वाडमा पर्ने सम्भावना छ ।
फ्रान्स अनुभव, आक्रमण क्षमता र विश्वकप इतिहासका कारण बलियो देखिए पनि मोरक्कोको अनुशासन, आत्मविश्वास र उत्कृष्ट रक्षात्मक प्रदर्शनले खेललाई निकै प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । सन् २०२२ को सेमिफाइनलपछि फेरि भेट हुन लागेको यी २ टोलीबीचको भिडन्त विश्वकप २०२६ को सबैभन्दा रोमाञ्चक क्वार्टरफाइनलमध्ये एक बन्न सक्छ ।
०००
अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन, स्विट्जरल्यान्ड पनि क्वार्टरफाइनलमा
काठमाडौँ । फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत भएका रोमाञ्चक प्रतिस्पर्धापछि साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले इजिप्टविरुद्ध २ गोलले पछि परेको अवस्थाबाट सानदार पुनरागमन गर्दै ३–२ को जित निकालेको हो भने स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।
एटलान्टा स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुआतदेखि नै अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको हेडमार्फत गोल गर्दै अग्रता बनाएको थियो । त्यसपछि अर्जेन्टिनाले २२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाए पनि कप्तान लियोनल मेसीको प्रहार इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले उत्कृष्ट रूपमा बचाएका थिए । यसले अर्जेन्टिनामाथि थप दबाब सिर्जना गरेको थियो ।
दोस्रो हाफमा पनि इजिप्टले आफ्नो लय कायम राख्यो । खेलको ६७औँ मिनेटमा मोस्ताफा जिकोले तीव्र काउन्टर अट्याकलाई गोलमा परिणत गर्दै इजिप्टलाई २–० को बलियो अग्रता दिलाए । त्यसपछि अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुने सम्भावना बलियो देखिएको थियो । तर, अन्तिम १२ मिनेटमा अर्जेन्टिनाले च्याम्पियन टोलीको परिचय दियो । ७९औँ मिनेटमा मेसीको आकर्षक क्रसलाई क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसको ४ मिनेटपछि मेसीले स्वयं उत्कृष्ट फिनिसिङ गर्दै खेल २–२ को बराबरीमा पुर्याए ।
इन्जुरी समयको दोस्रो मिनेटमा खेलले नाटकीय मोड लियो । इजिप्टका खेलाडीहरूले पेनाल्टीको माग गरिरहेका बेला अर्जेन्टिनाले तीव्र काउन्टर अट्याक निर्माण ग¥यो । लाउटारो मार्टिनेजको सटीक पासमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलाए । खेल समाप्तिपछि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै इजिप्टका खेलाडी र प्रशिक्षक मण्डलीले विरोध गरेका थिए । विरोधका क्रममा मुख्य प्रशिक्षक होसाम हसन र गोलकिपर मोस्टाफा शोबेइरले पहेँलो कार्ड पाए भने प्रशिक्षक समूहका एक सदस्यलाई रातो कार्ड देखाइएको थियो ।
यस जितसँगै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । टोलीले अब स्ट्जिरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । साथै, यस खेलमा गोल गरेसँगै कप्तान लियोनल मेसी प्रतियोगितामा ८ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा पुगेका छन् । विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको उल्लेख गरिएको छ ।
यता, क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा सम्पन्न अर्को अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय ग¥यो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे भने म्यानुअल अकांजीको प्रहार गोलमा परिणत हुन सकेन । कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीमा गोल गरे । तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेज आफ्नो प्रहारमा सफल हुन नसक्दा टोली प्रतियोगिताबाट बाहिरियो ।
अन्तिम १६ का सबै खेल सम्पन्न भएसँगै विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम ८ मा अर्जेन्टिना र स्विट्जरल्यान्डसँगै फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, इंग्ल्यान्ड तथा नर्वे पुगेका छन् । अब उपाधि दाबेदार टोलीहरूबीच हुने प्रतिस्पर्धाले विश्व फुटबल समर्थकमाझ थप उत्साह र रोमाञ्चक पैदा गर्ने अपेक्षा गरिएको छ । यससँगै अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सविरुद्ध मोरक्को र स्पेनविरुद्ध बेल्जियम भिड्नेछन् । यस्तै, इंग्ल्यान्डले नर्वेको सामना गर्दा अर्जेन्टिनाले स्विट्जरल्यान्ड प्रतिद्वन्द्वी पाएको छ ।
अन्तिम ८ समीकरण
फ्रान्सविरुद्ध मोरक्को
इंग्ल्यान्डविरुद्ध नर्वे
स्पेनविरुद्ध बेल्जियम
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड
रेफ्रीको निर्णयमाथि छानबिनको माग गर्दै फिफामा इजिप्टको उजुरी
इजिप्टियन फुटबल फेडेरेसन (इएफएफ) ले अर्जेन्टिनाविरुद्ध भएको विश्वकपको अन्तिम १६ को खेलमा रेफ्रीहरूले गरेको निर्णयप्रति आपत्ति जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफामा औपचारिक उजुरी दर्ता गरेको छ । इजिप्टले खेल सञ्चालन गर्ने रेफ्री टोलीलाई विश्वकपका बाँकी खेलबाट हटाउनसमेत माग गरेको छ । इजिप्टियन फेडेरेसनले खेलका क्रममा रेफ्रीबाट ‘दोहोरो मापदण्ड’ अपनाइएको आरोप लगाएको छ । उसले विवादित निर्णयहरूको निष्पक्ष छानबिन गर्न फिफासँग आग्रह गरेको हो । फेडेरेसनका अनुसार रेफ्री टोलीका केही महत्वपूर्ण निर्णयले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पारेको थियो ।
अर्जेन्टिनाविरुद्धको खेलमा इजिप्ट १–० ले अगाडि रहेको समयमा मोस्टाफा जिकोले गरेको दोस्रो गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को हस्तक्षेपपछि रद्द गरिएको थियो । उक्त निर्णयमा खेलको सुरुआती चरणमा मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजको खुट्टामा कुल्चिएको भन्दै फाउल दिइएको थियो । तर इजिप्टले उक्त निर्णय अनुचित भएको दाबी गरेको छ ।
त्यस्तै, अर्जेन्टिनाले निर्णायक ३–२ को विजयी गोल गर्नुअघि इजिप्टका कप्तान मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा फाउल गरिएको भन्दै इजिप्टले अर्को विवादित घटना औँल्याएको छ । इजिप्टको दाबीअनुसार उक्त घटनामा पनि रेफ्रीले उचित निर्णय लिन नसकेको थियो । इजिप्टियन फुटबल फेडेरेसनका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरविरुद्ध फिफामा उजुरी दर्ता गरेका हुन् ।
फेडेरेसनले रेफ्री टोलीका गम्भीर त्रुटि र असमान निर्णयका कारण इजिप्ट पराजित हुन बाध्य भएको तथा विश्वकप यात्राबाट बाहिरिनुपरेको उल्लेख गरेको छ । अब फिफाले इजिप्टको उजुरीमाथि अध्ययन गरी रेफ्री निर्णयहरूको समीक्षा गर्ने अपेक्षा गरिएको छ । खेलमा प्रविधिको प्रयोग बढ्दै गए पनि महत्वपूर्ण क्षणमा भएका विवादित निर्णयले अन्तर्राष्ट्रिय फुटबलमा रेफ्री भूमिकामाथि फेरि बहस सुरु भएको छ ।
प्रतिक्रिया