
काठमाडौं । नागरिकता प्राप्ति र सीमा सुरक्षाको माग राख्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता क्षेत्रका बासिन्दाहरूले संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन् । वर्षौँदेखि भोग्दै आएको राज्यविहीनताको अवस्था र सीमा क्षेत्रको असुरक्षालाई सम्बोधन गर्न माग गर्दै सुस्ताबासीहरूले दोस्रो दिन पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
भूमि र पहिचानको लडाइँलाई सांकेतिक रूपमा प्रस्तुत गर्न प्रदर्शनकारीहरूले सुस्ताकै माटो बोकेर प्रदर्शनस्थलमा उपस्थित भएका छन् । आफ्नै भूमिमा नागरिक भएर पनि राज्यबाट पाउनुपर्ने न्यूनतम अधिकार र नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनुपरेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनमा सहभागी सुस्ताबासीहरूले लामो समयदेखि सीमा रक्षाका लागि आफूहरू अग्रपंक्तिमा उभिए पनि राज्यले आफ्नो अस्तित्व र अधिकारलाई बेवास्ता गरेको गुनासो पोखेका छन् । उनीहरूले नागरिकता समस्याको स्थायी समाधान नभएसम्म र सुस्ता क्षेत्रको सीमा सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।–तस्विर नेपाल फोटो लाइब्रेरी












प्रतिक्रिया