
काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चालनअघि आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने अपरेसनल तथा मेन्टिनेन्स सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन परीक्षण गरिएको थियो । सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण समेत भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
नागढुंगा सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । परियोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशन ले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्न रहेको छ ।
परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ, जसको अधिकांश हिस्सा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिएको हो ।
मुख्य सुरुङको लम्बाइ करिब २।६८ किलोमिटर रहेको छ भने उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण गरिएको छ । सुरुङमार्गसँगै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत निर्माण गरिएका छन् ।
निर्माण कार्य २०७६ सालमा सुरु भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक चुनौती तथा अन्य व्यवस्थापकीय कारणले परियोजना सम्पन्न हुन केही ढिलाइ भएको थियो । हाल निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ र अन्तिम परीक्षण तथा सञ्चालन तयारी भइरहेको कम्पनीको भनाई छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा निश्चित मापदण्ड अनुसार सवारीसाधनलाई प्रवेश दिइने छ । सुरुङभित्र गति सीमा, सवारीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइने छ । सुरुङको सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था गरिएको छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने यात्रु र मालवाहक सवारीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । यसले नागढुंगा सडकखण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय, इन्धन खपत र सवारी सञ्चालन लागत घटाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।–तस्विर सुर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी


















प्रतिक्रिया