ट्राफिक कारबाहीले सुध्रिँदै सवारी चालक, घट्यो उपत्यकाको जाम र दुर्घटना

काठमाडौँ । आजभोलि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले दैनिक कारबाहीमा परेका सवारी चालकको संख्या तथा त्यसबापत उठेको राजस्वबारे जानकारी सार्वजनिक गरिरहेको छ । जसअनुसार हरेक दिन औसतमा २ हजार ५०० चालक कारबाहीमा पर्ने गरेका छन् भने करिब २० लाख रुपैयाँ राजस्व उठ्ने गरेको देखिन्छ । यसलाई ट्राफिक कार्यालयले पारदर्शितासँगै नागरिकलाई सचेत गराउने पहलका रूपमा लिएको छ । कारबाहीमा परेकाको संख्या सार्वजनिक गर्दा तथा जाँचमा सक्रियता बढाउँदा अन्य चालक सचेत हुने र त्यसले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आउने अपेक्षा गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ले बताउँछन् ।


गत चैतदेखि ट्राफिक कार्यालयले बढी नै सक्रियता देखाएको हो । दुर्घटना न्यूनीकरण तथा नागरिक र समुदायस्तरमा सचेतना पुर्याउन कारबाहीको दायरा बढाइएको तर्क प्रहरीको छ । उपत्यकामा हुने गरेको दुर्घटनासम्बन्धी पछिल्लो आँकडाले पनि काफ्लेको अपेक्षालाई पुष्टि गरेको छ । आर्थिक वर्ष २०८२/८३ को दुर्घटनासम्बन्धी आँकडा हेर्ने हो भने फागुनसम्म प्रतिमहिना औसतमा ५५० हाराहारी दुर्घटना हुने गरेकामा ट्राफिक प्रहरीको सक्रियताका कारण पछिल्ला ३ महिनामा यो आँकडा औसत ३५० मा झरेको छ । त्यस्तै, ट्राफिक प्रहरीले पछिल्लो समय देखाएको सक्रियताका कारण ट्राफिक नियम पालनामा नागरिक सचेत भएको र लेन पालनाका कारण उपत्यकाको ट्राफिक जाम पनि कम भएको ट्राफिक कार्यालयको विश्लेषण छ ।


त्यस्तै, पछिल्लो समय ट्राफिक कार्यालयले नियमविपरीत सवारी चलाउनेको भिडियो तथा कारबाहीसहित माफी मागेको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न थालेपछि यसले नागरिकलाई झनै सतर्क बनाएको छ । सामाजिक सञ्जालमार्फत् भिडियो नै सार्वजनिक हुँदा समाजमा लज्जाबोध हुने हुँदा पनि नागरिक सचेत हुने गरेको ट्राफिक कार्यालयको बुझाइ छ । यसका अलावा भारतीय पर्यटकले उपत्यकासँगै नेपालका अन्य सडकमा नेपालीले ट्राफिक नियम पालना गरेको सकारात्मक भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने ट्रेन्ड बढेको र यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि सकारात्मक बनाएको छ । ट्राफिक प्रहरीले त्यस्ता भिडियो सन्देशहरूलाई पनि सर्भिलेन्समा राख्ने गरेको छ । विशेष गरी उपत्यका भित्रिने विभिन्न नाकामै भारतीय पर्यटकलाई ट्राफिक प्रहरीले यहाँको सडकको अवस्थादेखि चालक तथा पैदलयात्रुले पालना गर्नुपर्ने ट्राफिक नियमबारे जानकारी गराएर मात्रै प्रवेश गराउने गरेको छ । यसले पनि उनीहरूमा सकारात्मक सन्देश पुगेको उपत्यका ट्राफिक कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदी बताउँछन् ।


सडकमा हुने दुर्घटना न्यूनीकरण गर्ने मुख्य आधार नै ट्राफिक नियमको पालनामा कडाइ भएकाले यो आवश्यक भएको यातायातविज्ञ हरेराम श्रेष्ठ बताउँछन् । ‘जाँचमा कडाइ गर्नु कानुन पालनाका लागि ट्राफिक प्रहरीको रणनीति पनि हुन सक्छ । यसले नागरिकलाई सचेत गराउन र सडकमा हुने दुर्घटना घटाउन मद्दत पु¥याउँछ,’ उनले भने, विगतमा भन्दा पछिल्ला केही वर्षयता ट्राफिक शिक्षाप्रति नागरिक धेरै सचेत भएकाले ट्राफिक नियम पालनाको सवालमा हामी सुध्रिएका छौँ ।’ व्यवस्थित ट्राफिकले पनि नागरिकलाई राज्यको अनुभूति गराउने भएकाले यसका लागि ट्राफिक प्रहरी आवश्यक कदम चाल्न तयार रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक सुवेदी बताउँछन् । ‘नागरिकले प्रत्यक्ष रूपमा राज्यको अनुभूति गर्ने क्षेत्र ट्राफिक व्यवस्थापन पनि भएकाले यसलाई चुस्त र व्यवस्थित बनाउने प्रयास भइरहेको छ,’ सुवेदीले भने, ‘हामी नागरिकलाई सास्ती दिने भन्दा पनि नियम पालनाप्रति सजग बनाइरहेका छौँ । नागरिक सचेत भइदिने हो भने ट्राफिक व्यवस्थापन त्यसै सहज हुन्छ ।’


तर, नेपालमा ट्राफिक नियम पालनाका लागि जगदेखि नै काम गर्नुपर्ने यातायातविज्ञ श्रेष्ठ बताउँछन् । सडक पूर्वाधार र ट्राफिक संकेतसँगै लाइसेन्स प्रक्रियामै सुधार आवश्यक रहेको उनले बताए । सामान्य ट्रायल परीक्षणबाट सजिलै लाइसेन्स दिँदा ती चालकहरूले सवारी चलाउने मूलभूत विषयमा जाने पनि ट्राफिक नियम, सडक सुरक्षा, यससम्बन्धी कानुनबारे भने अनविज्ञ नै हुने र यसले नै ट्राफिक नियम उल्लंघन र दुर्घटना बढाउने उनको बुझाइ छ । यसका लागि लाइसेन्स दिँदा कम्तीमा १ वर्षको परीक्षण अवधि तोक्ने र त्यस अवधिभित्र कुनै नियम उल्लंघन गरे पुनः प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था राखियो भने ट्राफिक व्यवस्थापनप्रति चालक नै बढी जिम्मेवार हुने उनले बताए । यसका अलावा विद्यालय शिक्षामै ट्राफिक शिक्षाको व्यवस्थापन गर्नुपर्ने र पैदलयात्रुलाई सचेत गराउनुपर्ने उनको सुझाव छ ।


००००


चिट काटेर जरिमाना नतिर्नेको ब्लुबुक नवीकरण रोक्का


ट्राफिक प्रहरीले उपत्यकामा सिसिटिभी क्यामेरामार्फत् दैनिक २५० भन्दा बढी चालकलाई कारबाही गर्ने गरेको छ । यसका लागि ट्राफिक प्रहरीले उपत्यकामा रहेका सिसी क्यामेराबाट निगरानी बढाएको छ । कारबाही मात्र गर्नेभन्दा पनि कारबाहीमा परेकाहरूबाट जरिमाना असुल गर्ने सवालमा पनि ट्राफिक कार्यालयले सक्रियता बढाएको छ । जसअनुसार अहिलेसम्म जरिमाना नतिर्ने २ लाख ६१ हजारको नामावली यातायात व्यवस्था कार्यालयमा पठाइएको छ । यसरी पठाइएका नामका आधारमा यातायात कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले ट्राफिक जरिमाना नतिर्नेको ब्लुबुक रिन्युदेखि अन्य यातायात सेवाहरू रोक्का गर्ने गरेको छ ।


०००


१ प्रहरीले हेर्नुपर्छ १२५० सवारीसाधन


हाल देशभर करिब ४ हजार ३०० ट्राफिक प्रहरी छन् भने सबैभन्दा बढी सवारीसाधन गुड्ने काठमाडौँ उपत्यकामा १ हजार ६०० ट्राफिक प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार उपत्यकामा दैनिक २० लाख सवारीसाधन गुड्छन् । यस हिसाबमा १ जना ट्राफिक प्रहरीको भागमा १ हजार २५० सवारीसाधन पर्छन् । नेपालजस्तो प्रविधियुक्त ट्राफिक व्यवस्थापन नभएको देशमा यो निकै उच्च चाप हो ।

प्रतिक्रिया