रास्वपाको अनुशासन आयोगमा पूर्वन्यायाधीश लेखनाथ पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेल नियुक्त भएका छन् । प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बुधबार बसेको पहिलो बैठकले पौडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा रहेका पूर्वन्यायाधीश पौडेललाई पार्टीको आन्तरिक अनुशासन, नियमावली कार्यान्वयन र कानुनी सुशासनको पाटो हेर्ने गरी महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको पार्टीले जनाएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिले पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै बसेको सोही बैठकले पौडेलको नियुक्तिका साथै अन्य दुई निर्णयहरू समेत गरेको छ ।

बैठकले पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिएका विभिन्न उपसमितिहरू, पार्टीका नेता तथा कार्यकर्ता, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवाला सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने पहिलो निर्णय गरेको छ ।

पार्टीको विधान अनुसार पहिलो बैठकबाटै निर्वाचन, लेखा र अनुशासन आयोग रिक्त हुन नहुने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई टेकेर बैठकले लेखा आयोगको पुरानो कमिटी विघटन गरी पुरानै टिमलाई पुनः जिम्मेवारी सुम्पिने निर्णय गरेको छ ।

प्रतिक्रिया