कांग्रेसको १५औँ महाधिवेशन तयारी : विदेशस्थित जनसम्पर्क समितिहरूमा प्रतिनिधि पठाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको महाधिवेशन आगामी साउन मसान्तभित्र सम्पन्न गर्न र उक्त अधिवेशनहरूमा केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

बुधबार ललितपुरको पार्टी केन्द्रीय कार्यालयमा संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आज बसेको निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यसमितिको गत २०८२ चैत ११ गतेको बैठकको निर्णयानुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा जनसम्पर्क समितिहरूको महाधिवेशन २०८३ साउन मसान्तभित्र गरिसक्नुपर्ने तय भएको थियो ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा १४ (३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा हुनुपर्ने व्यवस्था रहेको छ ।

सोही कार्यतालिका र वैधानिक व्यवस्था बमोजिम विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले अनिवार्य रूपमा आफ्नो सदस्यताको विवरण केन्द्रमा पठाउनुपर्ने निर्णय बैठकले गरेको छ। उक्त विवरण पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृत भएपछि मात्रै निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने व्यवस्था रहेको छ ।

बैठकले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरूलाई आफ्नो अधिवेशनको मिति तय भएपश्चात् समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र तोकिएका प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन गराउन परिपत्र गर्ने निर्णय समेत गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो ।

प्रतिक्रिया