
काठमाडौँ । चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधान र नयाँ बजार पहिचान गर्न सरकारले कार्यदल गठन गरेको छ । कार्यदललाई चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी २ साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा ११ सदसयीय कार्यदल गठन गरिएको हो ।
यस्तै, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, परराष्ट्र र कृषि मन्त्रालयका उपसचिवहरू, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिवलाई कार्यदल सदस्इ तोकिएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्यसचिव छन् । समिति संयोजक गुरुङले कार्यदलले काम सुरु गरिसकेको जानकारी दिए । उनले भने, ‘नेपाली चिया निर्यातमा देखिएको समस्या तथा अवरोधको विषयमा अध्ययन गरेर दीर्घकालसम्म निर्यात सहजीकरण गर्ने विषयको खोजी गरिनेछ ।’ चियाको निर्यात बढाउने तथा नयाँ गन्तव्य खोज्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारिने गुरुङले बताए । उनले भने, ‘कार्यदललले सम्बन्धित सबै निकायसँग भेटेर सुझाव लिएर आगामी दिनमा यस्तो समस्या नआउने उपाय खोजी गर्छ ।’
भौगोलिक तथा अन्य कारण नेपाली चिया खपत गर्ने मुख्य बजार नै भारत भएको बताउँदै उनले पाकिस्तान पनि चिया निर्यातको गन्तव्य हुन सक्ने बताए । गुरुङका अनुसार चीन आफैँमा चियाको उत्पादक र निर्यातकर्ता भएकाले त्यति धेरै सम्भावना छैन । भारत उत्पादन गर्ने, आयात गर्ने र निर्यात गर्ने देश भएकाले भारतमा सम्भावना राम्रो छ । त्यस्तै, पाकिस्तान चिया आयात गर्ने मुलुक भएकाले नयाँ निर्यात गन्तव्य बन्न सक्ने सम्भावना छ ।
भारततर्फ निर्यात हुँदै आएको चियाको गुणस्तर परीक्षण गर्ने भन्दै भारतको टी बोर्ड अफ इन्डियाले नयाँ प्रावधान लागू गरेपछि नेपाली चिया निर्यात ठप्प भएको छ भने चिया उद्योगहरू बन्द छन् । टी बोर्ड अफ इन्डियाले केही समयअघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने र परीक्षण प्रतिवेदन नआउन्जेल गोदाममा भण्डारण गर्नुपर्ने प्रावधान ल्याएको थियो । सो प्रावधानले भारततर्फ चिया निकासीमा कठिनाइ भएको चिया उद्योगीहरूले बताएका छन् । उनीहरूले भन्सार विन्दुमा लामो समयसम्म मालवाहक सवारीसाधन रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने, व्यापारको लागत र चिया नष्ट गर्नुपर्नेसम्मको अवस्था आएको भन्दै उद्योग नै बन्द गरेका छन् ।
झापा र इलामका अधिकांश उद्योग बन्द हुँदा हजारौँ किसान र मजदुरको रोजीरोटी प्रभावित भएको छ । चियामा विगतदेखि नै पटकपटठ समस्या आउने गरे पनि सरकारले दीर्घकालीन समाधान खोज्न सकेको छैन । हाल नेपालले वार्षिक ४ अर्बभन्दा बढीको चिया निर्यात गर्दै आएको छ । निर्यात हुने चियामध्ये ९० प्रतिशत हिस्सा भारतमा जाने गरेको थियो ।
प्रतिक्रिया