
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक÷कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।
सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाखभन्दा बढी रकम फिर्ता भइसकेको छ । विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ ।
केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ । त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ । अध्ययन बिदामा गएर लामो समय सेवामा नफर्किएका त्रिविका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् । अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पु¥याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन् ।
केयूको उपकुलपति पदका लागि आवेदन खुला
यसैबीच, काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । विश्वविद्यालयको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने उद्देश्यले गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको हो । समितिद्वारा प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको अनलाइन लिंकमार्फत आवेदन पेस गर्न सक्नेछन् । उपकुलपति नियुक्ति प्रक्रिया ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सञ्चालन गरिने जनाइएको छ ।
यसअघि गत जेठ १९ मा बसेको विश्वविद्यालय सभाको बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिमा विश्वविद्यालयका संस्थापक उपकुलपति एवं पूर्वउपकुलपति प्राडा सुरेशराज शर्मा तथा राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य सहभागी छन् ।
समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी आवश्यक योग्यता, अनुभव र नेतृत्व क्षमता भएका उम्मेदवारहरूको छनोट गर्नेछ । त्यसपछि योग्य उम्मेदवारहरूको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गरिने बताइएको छ । देशकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिने काठमाडौँ विश्वविद्यालयले उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा प्राविधिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । नयाँ उपकुलपतिको नियुक्तिसँगै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा संस्थागत विकासका कार्यक्रमले थप गति लिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया