डयाफोडिल बोर्डिङ स्कुलमा चल्यो ‘विद्यालय स्वास्थ्य कार्यक्रम’, विद्यार्थीले सिके सरसफाइ र सडक सुरक्षाका नियम

काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।

हाउस किपिङ तथा केयर गिभर सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टर, चाबहिल मित्रपार्कको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई (पर्सनल हाईजिन), स्वास्थ्य शिक्षा अन्तर्गत पोषण शिक्षा तथा सडक सुरक्षा (रोड सेफ्टी) सम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा स्किल बेस्ट ट्रेनिङ सेन्टरकी प्रमुख सोफिया लामाले विद्यार्थी जीवनमै स्वास्थ्य, सरसफाई र अनुशासन सम्बन्धी सही ज्ञान आवश्यक रहेको बताउँदै स्वस्थ बानीको विकासले भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरिन् । उनले बालबालिकामा सकारात्मक सोच, सुरक्षित व्यवहार तथा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् ।

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रशिक्षकहरुले दैनिक जीवनमा अपनाउनुपर्ने सरसफाईका उपाय, सन्तुलित आहारको महत्व, ट्राफिक नियम पालनाको आवश्यकता तथा सडक दुर्घटनाबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले समेत जिज्ञासा राख्दै स्वास्थ्य र सुरक्षासम्बन्धी विभिन्न विषयमा जानकारी लिएका थिए । यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुको व्यवहारिक ज्ञान अभिवृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्वबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा सेफ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा होटल एसोसिएसनका कुलिनरी कन्सल्टेन्ट सेफ श्याम लामाले विद्यालय तहदेखि नै स्वास्थ्य, सरसफाई, पोषण र सुरक्षित जीवनशैलीबारे सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले व्यवहारिक शिक्षा र जनचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीहरुलाई जिम्मेवार, अनुशासित र स्वास्थ्यप्रति सचेत नागरिक बनाउन सकिने बताए ।

प्रतिक्रिया