
रूपन्देही । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावारस्थित लुम्बिनी विकास कोष परिसर, विश्व शान्ति दीप अगाडि सोमबार आयोजित शान्ति पदयात्रा तथा आत्महत्या, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित शान्ति पदयात्रा लिटल बुद्धदेखि सुरू भई अन्तर्राष्ट्रिय सभाहलमा पुगेर सम्पन्न भएको थियो । पदयात्रामा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्की, मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी हिक्मत बहादुर विष्ट, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।
शान्ति पदयात्रा पश्चात अन्तर्राष्ट्रिय सभाहलमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदयात्राले सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज एवम् सरोकारवाला सबै पक्षहरू एकआपसमा समन्वय गर्दै एकअर्काको सारथीको रूपमा काम गर्न सकिन्छ भन्ने सामुहिक प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको बताए ।

समाजमा देखा परेका लागूऔषध दुर्व्यसनी, आत्महत्या, सडक दुर्घटना लगायतका अन्य गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै शान्तिपूर्ण समाज सिर्जना गर्नको लागि सबै सरोकारवाला पक्षहरूको सामुहिक प्रतिबद्धता अपरिहार्य रहेको उनले बताए । साथै सबैको सामुहिक प्रतिबद्धताको माध्यमले सुरक्षाका चुनौतीहरू, शान्तिका चुनौतीहरू एवम् विकासका चुनौतीहरूलाई परास्त गर्दै आगामी दिनमा सुनौलो भविष्य कोर्न सक्षम एवम् सामर्थ्य हुने विश्वास समेत उनले व्यक्त गरे ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आफ्नो शुभकामना सहितको मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुर्व्यसनबाट पीडित भई समाजमा पुन: स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया