बौद्धमा वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ, ज्यान मार्ने उद्योगमा अनुसन्धान

काठमाडौं । काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गरी घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुढानीलकण्ठ नगरपालिका–१ नारायणथान घर भई हाल काठमाडौं ६ बौद्ध बस्ने ३४ वर्षीय टाइसन लामालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गत जेठ २४ गते दिउँसो करिब १२ः३५ बजे काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालयन जाभा पछाडिको सडकमा यो घटना भएको थियो । ३४ वर्षीय लामाले बौद्ध सानो टुसाल बस्ने ७९ वर्षीय वृद्धलाई कैँची प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते वृद्धको तत्काल चुच्चेपाटीस्थित स्तूप सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

कैँची प्रहार गर्ने लामालाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसूरमा कानुनी कारबाही अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार घटनाको थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ ।

प्रतिक्रिया