एकपटक पुग्नैपर्ने ढोलिमारा

लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पाको नाम नसुन्ने बिरलै होलान् । पाल्ला जिल्लाको पूर्वखोला गाउँपालिकाको ढोलीमारा भन्ने ठाउँ यसपालिको आन्तरिक पर्यटनको गन्तब्य बन्यो । समुन्द्र सतहदेखि १ हजार ७८० मिटरको उचाइमा रहेको चुलीडाँडा टाकुराको टुप्पो यात्राको अन्तिम गन्तब्य ।

सिद्धार्थ राजमार्गको प्रारम्भ बिन्दु भैरहवादेखि हामी ८ जनाको समूह मोटरसाइकलमा पाल्पाको सदरमुकाम तानसेन बजारको प्रवेश मुहान बर्तुङदेखि १६ किलोमिटर उत्तरमा रहेको आर्यभन्ज्याङ पुगेपछि त्यहाँबाट पूर्वी पाल्पातर्फ हानिन्छ । उकालो–ओरालो एकतर्फी बाटोमा आङ तन्काउँदै ग्रामीण हुमिन बजारमा पुगेपछि सुस्ताउँदै तातिँदै गरेको चुनावी चहलपहललाई राम्रैसँग नियाल्छन् । एकछिनको सुस्ताइपछि सुरु भयो धुलौटे बाटोको उकालो ओरालो । आङै सिरिंग बनाउने बाटो र भिरलाई छिचोल्दै करिब १२ किलोमिटरको यात्रापछि टोली गन्तव्यमा पुग्यो ।

देवीनगरको बाटो हुँदै आर्गीडाँडाको माटोको स्पन्दन लिने बित्तिकै माथिपट्टी सेतो रंगको बोर्डमा ‘ढोलिमारा’ लेखिएको बोर्ड देखिने रहेछ गाउँको थाप्लोमा । जम्माजम्मी ९३ घर रहेछन् ढोलिमारामा । ती मध्ये ३ घर विश्वकर्मा, २ घर नेपाली तथा १ घर ब्राम्हण र ८७ घर मगर समुदायको बस्तीले सजिएको उक्त भिरालो गाउँमा पानी सञ्चयका लागि बनाइएका सिमेन्टको घ्याम्पोले त्यहाँ पानीको समस्या रहेको प्रस्ट्याउँथ्यो । त्यहाँको तापक्रम सालाखाला २२ डिग्री सेल्सियसको रहेछ । त्यसैलै मकै, कोदो, फापर नै त्यहाँको खाद्यान्नको स्रोत । तरुल, पिँडालु, भ्याकुर जस्ता कन्दमूल र गहत, बोडी, फुलगोभी, बन्दागोभी, सिमी, भट्ट, फर्सी, सिल्टिम जस्ता गेडागुडी तरकारीको जोहो तथा आयआर्जनको सहायकमा पर्दा रहेछन् भने खुर्सानी, गोलभेँडा, बेसार र अदुवा मसलाजन्य नगदे बाली । खेत कतै देखिँदैन, जताततै बारीका फोहटा । नजिकैको वनजंगल वस्तुभाउको चरण तथा घाँसपात र इन्धनको स्रोत । हाम्रो टोली पुग्ने बित्तिकै स्थानीय महिलाहरूले त्यहाँको संस्कार अनुसार फूलमाला र अबिरले स्वागत गरे भने पुरुष वर्ग फोटो खिच्नमा व्यस्त । ठिटा–ठिटी र बग्रेल्ती केटा–केटीहरू भलिबल खेलमा रमाइरहेका । बारीको कान्ला छेउमा तीनतिरको जाली नहुँदो हो त स्पाइक ब्लक गर्न नसकेको भकुन्डो भेटिने आशा छैन । जहाँ इच्छा, त्यहाँ व्यवस्था भने झैँ राम्रै लगानी गरेर भलिबल कोर्ट बनाइएको । पारी डाँडाभरी माकुराको जालो झैँ मोटरबाटो र बिजुलीका पोलहरू देखिन्छन् । साँझ परेपछि पिलपिले बिजुली बत्तीले रौनक थप्दो रहेछ । सबै गाउँलाई मोटरबाटोको सञ्जालले नजिक बनाउँदै लगेको । यातायात सुविधाले स्थानीय उत्पादन तानसेन, बुटवल र पोखरासम्म पुग्दो रहेछ । सबैतिर उज्यालो र स्वास्थ्यचौकी । बितेको १०–१५ वर्षमा विकासले निक्कै फड्को मारेको । केही भएन भनेर सामाजिक सञ्जालमा उफ्रनेहरूलाई गतिलो झापड हो कि झैँ लाग्ने ।

दिन बितेर गोधुली सन्ध्याको प्रहरमा ९ जना मध्येका १ जना यात्री फार्स बहादुर बल्ल आइपुगे जिपबाट । स्थानीय परिकारबाट भोक मेट्नका लागि निम्तो पाउनासाथ भान्छाभित्र हुलिन्छ समूह । १२ जना अट्ने हल जस्तो तर ६ फुटे मान्छे पर्यो भने दलिनमा ठोक्किने । गुम्मको कोठाले चिसिएको शरीरलाई निक्कै राहत दिएको महसुस हुन्छ । १०–१२ जनाको महिला समूहले पालैपालो विषयगत परिकारको परिचय दिँदै थालमा दिँदै जाँदा अन्तिमको थालसम्म पुग्दा सुरुको थाल रित्तिइसकेको हुन्थ्यो । भोकले पेट सारंगी नै बनाएको थियो । खाजाले पेट तातिसकेपछि सांस्कृतिक कार्यक्रम सुरु हुन लागेको सन्देश आयो । स्थानीय परम्परागत भाकाका गीत र नृत्यको झमझमाहटले अनिल पाठक, फर्स बहादुर, सुदन जिसी, गणेश पहारी, कन्हैया पाललाई जुरुक जुरुक पारिदियो भने पाको उमेर मध्येका घनश्याम बेलबासे दाइ तथा विशाल पहारीले ताली पिटेरै मनोरन्जन लिए । कुर्बान थापा भिडियो खिच्नमा मस्त । पंक्तिकार भने दोहोरी फर्काउनमा खटिए । स्थानीय महिलाहरू पनि दोहोरीमा खप्पिस, त्यहाँ खोला नभए पनि ‘आँधीखोला उर्लेर आयो …’ भाकाले साँच्चिकै त्यो समूह छेउबाटै आँधीखोला उर्लेर बगेको अनुभूति दिएको थियो । झ्याउरे, सोरठी र सालैजो भाका त्यहाँको जनजिब्रोको भाकामा पर्दोरहेछ । दोहोरी र नाचले गर्दा पट्ट्यारलाग्दो र आंङै सिरिंग पार्ने बाटाको यात्राको थकाइ भुलाइदियो सबैलाई । अन्तिममा साँझको खानापछि सबैजना को भन्दा को कम भन्दै घुर्नमा मस्त रहे ।

दोस्रो दिनको नुहाइधुवाइपछि प्रातःकालीन खाजामा सबैजना जुटे र कोही अबको गन्तव्यको परामर्शमा लागे भने कोही पारि डाँडामा झुल्केका कलिला घामको दृष्य नियाल्नमा मग्न । होम–स्टेको थाप्लोमा रहेको चुलीडाँडा घुम्न जाने निधो भयो । टोपी झर्ने ठाडै उकालो बाटो लाग्छ समूह । यात्रा बीचमा पर्यटकहरूलाई आकर्षण गर्न लामो काठे आकाशे पुल बनेको रहेछ । एकापसमा साथीहरू सेल्फीमा रमाए । आय आर्जनका लागि गरिएको व्यावसायिक अम्रिसो काट्नमा व्यस्त महिलाहरूको झुण्ड देखिन्छ अम्रिसो घारीको बीचबीचमा । चारैतिरका हरियाली दृश्यले बसिराखुँ जस्तो छ सबैमा । तलतिर बारीका फोहटामा हेवार्ड र एलसिन किवी खेतीका लागि बनाइएका टनेल देखिन्छन् । नयाँ पालुवाका लागि अनुकूल मौसमको पर्खाइमा किवी फलका पातविहीन लहरा मात्रै देखिन्छन् । बारीका कान्लामा खनियो, बेडुला, ठोटे, काउरो, टाँकी, कोइरालोका मुडुला रुख । उत्तरतर्फ हिमदृश्य सेताम्य देखिन्छ । आकाशे पुलमा एकछिनको बसाईंपछि उक्त टोली विभाजित हुन थाल्यो ९ जनाको टोली मध्ये ७ जनाले अगाडि बढ्ने हिम्मत गर्दैनन् ।

तर जोशिला गोबिन्द बन्धु अर्याल र कन्हैया पाल भने गन्तव्यमा पुगेरै छाड्ने अठोटले उकालो लाग्छन् मोटरसाइकलमा । भरखरै खनेको दरफरे बाटोमा कन्हैयाले जसोतसो बाइक गुडाउँछन् । उकालो हेर्दा घनघस्याको उपमा दिए अन्याय नपर्ने । उकालो कबुलियती बनमा तेजपत्ता, चिलाउने, कटुस, सिमल, खयर, चाँप, खल्लुक, ऐँसेलु, टिमुर, चुत्रो, मियालो, पाँकडी, गिदरी, लाँकुरी, उत्तिस, बकाइनो लगायतका बोट–विरुवाहरू आफ्नै पौरखमा यात्रुहरूलाई स्वागत गर्छन् । चुलीडाँडाको चुचुरोमा पुग्ने क्रममा उकालो बाटोको दुबै किनारामा लगाइएका सयपत्री फूल ढकमक्क फुलेका ।

अग्लो प्रवेश द्वारले भव्य स्वागत गर्न तम्तयार । प्रवेश द्वारबाट छिर्ने बित्तिकै गोल्डेन चेन, ज्याकारान्डा, ट्युलिफ, ट्युवेलिया लगायतका विभिन्न प्रजातिका फूलको सुन्दर बगैँचा, डाँडाको टुप्पामा रहेको भ्यू टावरबाट कतैकतै तराइको समथर भू–भाग एवं स्याङजा, नवलपरासी, तनहुँ, गुल्मी र कास्की जिल्लाका सम्म फाँट देखिने । सूर्योदयको किरणसँगै चित्र कोर्ने अभिलाषा राखेर बुटवलदेखि बिहानको झिसमिसेमै पुगेका ३ जना भरखरका कलिला युवाहरू चित्र उतार्नमा मग्न । छेवैको आगोमा गिल्टेको कित्लेमा चिया बसालेका छन् । धिपधिपे आगोमा कित्लेको टुटीबाट तीव्र वाष्पीकरणले चिया पाकेको संकेत गरे पनि चित्र कोर्नमा व्यस्त छन् युवाहरू । अली पर छेउमा उपभोक्ता समूहले पानीको व्यवस्था गरेको छ । त्यत्रो विकट डाँडामा पनि लिफ्टमार्फत पानीको व्यवस्था गरेकोमा उनीहरूको भावनालाई भित्रैबाट नमन गर्न मन लाग्यो । धेरै भिरालो डाँडा भएकोले कोही नखसुन् भनेर भिरका छेउछाउमा बारको बन्दोबस्त । नत्र भालेलुङ भिरबाट खसियो भने अस्थिपञ्जर भेटिने सम्भावना नै छैन । अलि पर वनभोजका लागि विद्युत्, पानी, शौचालय र बन्दोवस्तको सबै व्यवस्था ।

कन्हैया पालले निक्कै उत्सुकताकासाथ फोटो खिचिरहेको बेलामा मोबाइलमा घण्टी बज्छ । अनिल पाठकको फोनले छिटो झर्ने आग्रह गरेपछि पुनः सुरु हुन्छ खुरखुरे ओरालो यात्रा । कबुलियती जंगलमा तेजपत्ता विस्तार परियोजना नै सञ्चालन हुनाले जंगलमा अधिक यसैका रुख–विरुवा बढी देखिन्छन् । कन्हैयालाई औधी मन पर्दोरहेछ तेजपत्ता, तेसैले २ वटा हाँगा उछिट्टाइहाल्यो । २ यात्रीको पर्खाइमा बसेका साथीहरूले सबैका झोलाहरू ठिक–ठाक पारेका । बिदाइ हुने समय आइपुगेछ । अघिल्लो दिन जसरी स्वागत गरेका थिए, फूलमाला र अबिर लगाएर बिदावारी भयो । बिदाइ भन्ने बित्तिकै मन अल्लि उदास भइहाल्ने । न्यानो आतिथ्यता र त्यो आत्मीय भावनासँग पुनः भेटिने वाचा गर्दै यात्रा समूह बिदावारी भैयो ढोलिमारासँग । लाखौँ खर्च गरेर विदेश भ्रमण गर्नुभन्दा आफ्नै माटोमा विकास गरिएका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गरौँ, देशको पैसा देशमै खर्च गरौँ । एकपटक ढोलीमाराको भ्रमण गरौँ ।

(अर्याल साप्ताहिक भैरहवाका पूर्वप्रधानसम्पादक हुन्)

प्रतिक्रिया