सुन्दरताको प्रविधि इलेक्ट्रोप्लेटिङ

ठुलो परिमाणमा सामानहरू एकैपटक प्लेटिङ गर्न, कम खर्चमा बहुमूल्य धातुको लेपन चढाउन र रैथाने हस्तकला उद्योगलाई आधुनिक प्रविधिसँग आर्थिक रूपमा सुहाउँदो ढंगले जोड्नका इलेक्ट्रोप्लेटिङ नै सबैभन्दा व्यावहारिक र उत्कृष्ट रोजाइ बनेको छ ।

डा. भोला थापा – प्राध्यापक, विकल्प कार्की – विद्यार्थी : मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौँ विश्वविद्यालय

आधुनिक इन्जिनियरिङमा धातु वा वस्तु निर्माणमा सबैभन्दा बढी चिन्तन गरिने विषय हो ‘सर्फेस टेक्नोलोजी’ । वस्तुलाई लामो समयसम्म टिकाउन, खिया लाग्नबाट जोगाउन र हेर्दा आकर्षक बनाउन आज विश्वभरका वैज्ञानिकहरू अनेकौँ प्रकारका सतह लेपन र परिमार्जनका प्रविधिहरू खोजिरहेका छन् । तर, के सतह प्रविधि आधुनिक विज्ञानको मात्रै उपज हो त ? इतिहासलाई हेर्ने हो भने हाम्रा पुर्खाहरूले परापूर्वकालमै, जीवनोपयोगी सामानहरू र आस्थाका मूर्तिहरूमा उत्कृष्ट कोटिङ प्रविधिको प्रयोग गरिसकेका थिए । आज हामीले गर्व गर्ने धातु कला र सर्फेस टेक्नोलोजीको एउटा घटक आधुनिक इलेक्ट्रोप्लेटिङको अन्तर्सम्बन्ध निकै गहिरो छ ।

इलेक्ट्रोप्लेटिङको प्रक्रिया हामीले यमराजको कथामा सुनेको जस्तै हो । पापी व्यक्तिलाई तेलमा डुबाएर तताउने । इलेक्ट्रोप्लेटिङ पनि त्यस्तै हो । रसायनमा वस्तु डुबाउनु र विद्युतीय झटका दिनु । इलेक्ट्रोप्लेटिङमा पनि दुई चरित्र हुन्छन्, दुष्ट चरित्र गायब हुन्छ र राम्रो चरित्र बलियो र सुन्दर बन्छ । यो कथा हो ‘क्याथोड, एनोड र रसायनको पोखरीको’ ।

मूर्ति निर्माणको हाम्रो विगत

नेपालमा धातुका मूर्ति बनाउने गौरवशाली र प्राचीन इतिहास छ । विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदाय (शाक्य र वज्राचार्यहरू) ले ‘लस्ट वाक्स मेथड’ अर्थात् ‘थज्या’ प्रविधिलाई शताब्दीयौँदेखि जीवित राखेका छन् । लिच्छविकाललाई नेपाली मूर्तिकलाको स्वर्ण युग मानिन्छ । यस समयमा तामा, कास्य र पित्तलको प्रयोग गरेर उत्कृष्ट र चिल्ला मूर्तिहरू बनाइन्थ्यो । तामाको सहज उपलब्धताका कारण प्राचीन नेपालले तिब्बत र चीनमा समेत धातुका मूर्तिहरू निर्यात गर्ने गर्दथ्यो ।

प्राचीन नेपालमा कोटिङ वा प्लेटिङ परम्परा

नेपालमा धातुको मूर्तिमाथि सुन लेपन गर्ने प्रविधि प्राचीन कालदेखि नै अस्तित्वमा थियो । पुरातत्वविद् सुकरा सागर श्रेष्ठको ‘गोल्ड गिल्डिङ ः काठमाडाँै उपत्यकामा परम्परागत शिल्प’ (प्राचीन नेपाल, नम्बर १२८–१२९) का अनुसार नेपालमा छैटौँ र सातौँ शताब्दीमै सुनको जलप लगाइएका मूर्तिहरूको पूजा गरिन्थ्यो । चाँगुनारायणको अंशुवर्माको अभिलेखमा नारायणको पुरानो सुनको आसन र वाहन भत्किएको हुनाले त्यसको जीर्णोद्धार गरी पुनः सुनको जलप लगाइएको उल्लेख छ । चाँगुनारायणको स्थापना इस्वीका चौथो शताब्दीतिर भएकाले नेपालमा धातुमाथि लेपन गर्ने प्रविधि त्योभन्दा पनि अगाडिदेखि विकास भइसकेको हुन सक्छ ।

नेपालमा धातुमाथि लेपन गर्ने प्रविधि उन्नत थियो भन्ने कुरा हाम्रा ऐतिहासिक मन्दिर र मूर्तिहरूका ज्वलन्त उदाहरणहरूबाट प्रस्ट हुन्छ । अंशुवर्माको सोही अभिलेखले लिच्छविकालमै नेपाली कारिगरहरू कडा तामामाथि सुनको पातला तहहरू लगाउन पूर्ण रूपमा सक्षम रहेको देखाउँछ । त्यस्तै, स्वयम्भूनाथ र बौद्धनाथका महाचैत्यहरूको शीर्ष भागमा रहेका तामाका पाताहरूलाई बातावरणीय क्षयीकरणबाट जोगाउन र शताब्दीयौँसम्म चम्किलो राखिरहन पुर्खाहरूले पारो र सुनको रासायनिक मिश्रण प्रयोग गरी ‘पारो–सुन मोलम्बा’ विधि अपनाएका थिए ।

धातु कोटिङ कलाको जीवित संग्र्रहालय मानिने पाटनको हिरण्य वर्ण महाविहार (गोल्डेन टेम्पल) मा त रैथाने कागती, चुक र नुनको अम्लीय घोलले सतह सफा गरी आगोको तापमार्फत सुनको स्थायी तह बसाल्ने ‘फायर गिल्डिङ’ प्रविधिको उत्कृष्ट नमुना आज पनि देख्न सकिन्छ । यति मात्र नभएर, हाम्रा पुर्खाहरूले विज्ञान र कलाको सन्तुलन मिलाएर धातुका ठुला मूर्तिहरूलाई खिया र वातावरणीय मारबाट जोगाउन तोरीको तेल, धुपको धुलो र वनस्पतिको रस मिसाएर धातुको सतहमा अक्साइड तह निर्माण गर्थे, जसलाई आधुनिक इन्जिनियरिङको भाषामा केमिकल प्याटिनेसन भनिन्छ ।

भगवान्का मूर्तिहरूमा चमक

भगवान्का मूर्तिको अनुहारमा आउने चमक केवल आस्थाको नजर होइन, यो हाम्रा पुर्खाहरूको धातुशास्त्र र अप्टिकल ज्ञानको अद्भुत नतिजा हो । जब तामा वा कास्यको मूर्तिमाथि सुनको सुक्ष्म लेपन गरिन्छ, तब धातुको सतह ‘पर्फेक्ट रिफ्लेक्टर’ मा परिणत हुन्छ । मन्दिर वा गुम्बाको गर्भगृहमा बलिरहेको दियो वा मधुरो प्रकाश जब मूर्तिको अनुहारको उच्च विन्दुहरू (जस्तै निधार, नाकको डाँडी र गाला) मा पर्छ, तब त्यो किरण चौतर्फी छरिएर परावर्तन हुन्छ । यसले मूर्तिको अनुहारमा छाया र प्रकाशको अभूतपूर्व दृश्य पैदा हुन्छ, जसले अभिव्यक्तिको गहिराइसँगै धातुको निर्जीव संरचनामा पनि एउटा जीवन्त आत्मीयता र तेजभाव झल्काउँछ ।

यस्तै कलात्मकतामा नेवार र बौद्ध परम्पराको ‘मिखा खायेगु’ अर्थात् ‘आँखा खोल्ने’ रैथाने परम्परा थपिँदा मूर्तिको आध्यात्मिक र वैज्ञानिक प्रभाव अझ प्रगाढ बन्न पुग्छ । यस चरणमा शुद्ध सुनलाई विशेष वनस्पतिको रसमा रगडेर तयार पारिएको ‘चिसो सुनको लेप’ अनुहारमा मात्र लगाइन्छ र आँखाको अन्तिम रेखा कोरिन्छ । ती मूर्तिहरू दर्शन गर्दा मन पर्ने र आन्तरिक शान्ति मिल्ने कुरालाई आजको आधुनिक विज्ञानले ‘न्यूरो–सौन्दर्यशास्त्र’ मार्फत व्याख्या गर्छ । मानव मस्तिष्क सुनौलो चमक र सिमेट्रीकल स्वरूपप्रति प्राकृतिक रूपमै आकर्षित हुने भएकाले यस्तो दिव्य मुद्रा देख्नासाथ आँखाको रेटिनाले मस्तिष्कमा सकारात्मक संकेत पठाउँछ, जसले तनाव कम गर्ने डोपामाइन र सेरोटोनिन जस्ता हर्मोनहरू स्वतः उत्सर्जन गराई मानिसलाई मानसिक एकाग्रता र गहिरो श्रद्धा भावतर्फ डो¥याउँछ ।

इलेक्ट्रोकेमिस्ट्री

विद्युतीय ऊर्जा र रासायनिक प्रतिक्रियाहरू बीचको सम्बन्ध, ‘इलेक्ट्रोकेमिस्ट्री’ले रासायनिक प्रतिक्रियाहरूबाट कसरी विद्युत् उत्पादन हुन्छ र कसरी विद्युतीय ऊर्जा प्रयोग गरेर रासायनिक प्रतिक्रियाहरू गराउन सकिन्छ भन्ने सिद्धान्त प्रयोग गरेर इन्जिनियरिङ भाषाको इलेक्ट्रोप्लेटिङ वा विद्युतीय लेपन गर्न सकिन्छ । इलेक्ट्रोप्लेटिङ विद्युत् प्रवाहको माध्यमबाट एउटा धातुको सतहमा अर्को धातुको पातलो, बलियो र समान तह बसाल्ने विशिष्ट सतह प्रविधि हो । यो रसायन विज्ञानको ‘इलेक्ट्रोलाइसिस’ अर्थात् विद्युतीय विच्छेदनको सिद्धान्त पनि हो । यसमा कमजोर वा सस्तो धातुलाई बलियो र बहुमूल्य धातुको आवरण दिएर त्यसको गुणस्तर र आयु बढाइन्छ । यस प्रक्रियामा प्लेटिङ गर्नुपर्ने मूल वस्तुलाई निगेटिभ इलेक्ट्रोड (क्याथोड) र जुन धातुको लेपन गर्ने हो (जस्तै सुन वा प्लेटिनियम) त्यसलाई पोजेटिभ इलेक्ट्रोड (एनोड) बनाएर धातुको लवण मिसिएको रासायनिक घोल (इलेक्ट्रोलाइट)मा डुबाएर विद्युत् प्रवाह गरिन्छ ।

विद्यालयमै विज्ञानको प्रयोगशालाको प्रयोग ‘इलेक्ट्रोलाइसिस’, बिजुलीको मद्दतले केमिकललाई टुक्र्याउने एउटा रोचक वैज्ञानिक प्रक्रिया हो । शिक्षकले निलो रङको कपर सल्फेटको घोलमा दुईवटा धातुका डन्डी हालेर ब्याट्री जोडिदिँदा बिजुली बग्नासाथ एउटा डन्डीमा तामाको रातो पत्र जमेको जादु जस्तै लाग्थ्यो । तर, वास्तवमा त्यो कुनै जादु थिएन; हामीले उद्योग र कलकारखानामा प्रयोग गर्ने इलेक्ट्रोप्लेटिङ प्रविधिको त्यो पहिलो कखरा थियो ।

इलेक्ट्रोलाइसिसको यो आधारभूत सिद्धान्त केवल धातुमा जलप लगाउने काममा मात्र सीमित छैन, जब पानीमा इलेक्ट्रोलाइसिस प्रक्रिया गराइन्छ, तब पानीका अणुहरू खण्डित भई एकातिर भविष्यको स्वच्छ इन्धन मानिने हाइड्रोजन ग्यास र अर्कोतिर जीवनदायिनी अक्सिजन ग्यास उत्पादन गर्न सकिन्छ । त्यसैगरी, सुनचाँदीका पुराना गहनालाई गाल्न वा सफा गर्न प्रयोग गरिने शक्तिशाली ‘अम्लराज’ (एक्वा रेजिया) को रासायनिक प्रक्रिया र त्यसपछि ती बहुमूल्य धातुहरूलाई फेरि शुद्ध रूपमा बदल्ने वैज्ञानिक विधिमा पनि अप्रत्यक्ष रूपमा यही सिद्धान्तमा लुकेको हुन्छ । विज्ञानको यो एउटै नियमलाई फरक–फरक रसायन र माध्यमसँग जोडेर कतै धातु प्रशोधन गर्ने, कतै पर्यावरणमैत्री ऊर्जा निकाल्ने त कतै बहुमूल्य धातुको जलप चढाउने जस्ता कामहरू भइरहेका छन् ।

पातलो पत्रे प्रविधि

इलेक्ट्रोप्लेटिङको भित्री कुरा बुझ्न धेरै ठुलो वैज्ञानिक हुनुपर्दैन । विद्युत्को नियम छ, फरक चार्जहरू (प्लस र माइनस) एकअर्कामा आकर्षित हुन्छन् । इलेक्ट्रोलाइसिस प्रक्रियामा केमिकलको घोलमा जब विद्युत् पठाउँछौँ, तब घोलमा छरिएर रहेका धातुका स–साना कणहरू (जस्तै सुन वा तामा) माइनस चार्ज भएको वस्तुतर्फ दौडिन थाल्छन् । अनि त्यो वस्तुभरि एउटा समान र चम्किलो तह बनाएर टाँसिन्छन् । यो नै आज संसारभरिका ठुला–ठुला उद्योगमा महँगा गहना चम्काउन, गाडीका पार्टपुर्जालाई खियाबाट जोगाउन र मोबाइल–कम्प्युटरका भित्री सर्किट बोर्ड बनाउन प्रयोग भइरहेको छ ।

इलेक्ट्रोप्लेटिङ र परम्परागत लेपन विधिबीच प्रविधि, फिनिसिङ र मजबुतीका हिसाबले निकै ठुलो भिन्नता छ । परम्परागत विधिमा धातुलाई पगाल्न आगोको ताप र पारो जस्ता कडा रसायनको मिश्रण प्रयोग गरिन्थ्यो, जसले गर्दा लेपनको तह ठाउँअनुसार कतै बाक्लो त कतै पातलो हुने सम्भावना हुन्थ्यो; तर आधुनिक इलेक्ट्रोप्लेटिङमा धातुको तह परमाणुको स्तरमै वस्तुको कुना–कुनासम्म एकदमै समान र सुक्ष्म रूपमा बस्छ, जसले गर्दा अत्यन्तै मसिना बुट्टाहरू पनि पुरिँदैनन् र उत्कृष्ट फिनिसिङ प्राप्त हुन्छ । त्यस्तै, परम्परागत लेपनमा धातुहरू केवल बाहिरी सतहमा टाँसिने मात्र हुनाले समयक्रममा उप्किने वा खिइने डर हुन्थ्यो, जबकि इलेक्ट्रोप्लेटिङमा रासायनिक प्रतिक्रिया र आणविक आकर्षणका कारण दुई धातुबीच बलियो बन्धन बन्छ, जसले गर्दा यो कोटिङ अत्यधिक मजबुत, खिया प्रतिरोधी र शताब्दीयौँसम्म पनि नउप्किने खालको हुन्छ । यसका साथै, परम्परागत विधिमा पारोको धुवाँका कारण कारिगरको स्वास्थ्यमा ठुलो जोखिम हुन्थ्यो भने आधुनिक प्रविधि बन्द ट्यांक र नियन्त्रित प्रणालीमा गरिने हुनाले यो औद्योगिक सुरक्षाका हिसाबले पनि बढी भरपर्दो मानिन्छ ।

तर सुन्दा जति सजिलो र जादुमयी लाग्छ, व्यावसायिक इलेक्ट्रोप्लेटिङ त्यति सजिलो भने निश्चितै छैन । सयौँ बस्तुहरू एकैसाथ प्लेटिङ गर्नु, रेक्टिफायरले ‘डी.सी. करेन्ट’ उत्पन्न गर्नु, ऊर्जा दक्षता सबै इन्जिनियरिङ हो । औद्योगिक स्तरमा सफलतापूर्वक प्लेटिङ सम्पन्न गर्नका लागि ट्यांकको आयतन, वस्तुको सतहको क्षेत्रफल, करेन्ट डेन्सिटी, रेक्टिफायर सेटिङ, प्लेटिङको गति, जम्मा हुने तहको मोटाइ, प्लेटिङको समय, एनोडको क्षेत्रफल, एनोड–क्याथोडको अनुपात, घोलमा थपिने रसायन जस्ता महत्वपूर्ण प्राविधिक कारकहरूको सही गणना र विश्लेषण गर्नु इन्जिनियरिङ हो । यी प्रत्येक कारकको सानो फेरबदलले पनि प्लेटिङको गुणस्तरमा प्रत्यक्ष असर पार्ने हुनाले इलेक्ट्रोप्लेटिङ केवल तार जोडेर गरिने साधारण काम मात्र नभई विज्ञान, गणित र विशिष्ट प्रविधिको यस्तो समीकरण हो, जहाँ हरेक तहको सन्तुलनले मात्र धातुलाई दीर्घकालीन सुरक्षा र अलौकिक आकर्षण प्रदान गर्दछ ।

साधारणतया केवल धातुमाथि मात्रै अर्को धातुको जलप लगाउन सकिन्छ भन्ने भ्रम छ । तर वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने, इलेक्ट्रोप्लेटिङ गर्नका लागि वस्तु धातु नै हुनुपर्छ भन्ने छैन, त्यो वस्तुको सतहमा बिजुली बग्ने क्षमता भए मात्रै पुग्छ । सैद्धान्तिक रूपमा, जुनसुकै वस्तु चाहे त्यो प्लास्टिक होस्, काठ होस्, वा ओइलाएको फूल नै किन नहोस्, यदि त्यसको सतहलाई बिजुली बग्ने बनाउन सकियो भने त्यसमाथि सफलतापूर्वक इलेक्ट्रोप्लेटिङ गर्न सकिन्छ । इलेक्ट्रोलाइसिस प्रक्रियामा घोलमा तैरिरहेका धातुका आयनहरू गुड्नका लागि वस्तुको सतहमा इलेक्ट्रोनहरूको बलियो प्रवाह हुन जरुरी हुन्छ । त्यसैले, आधुनिक ‘सर्फेस इन्जिनियरिङ’मा धातुको पत्र चढाउनुभन्दा अगाडि उक्त वस्तुको सतहलाई कसरी चालक बनाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

यही वैज्ञानिक कुतूहलता र सिद्धान्तमा आधारित भएर हामीले पनि प्लास्टिकको थ्रिडी प्रिन्टेड सतहमाथि इलेक्ट्रोप्लेटिङ चढाउन कार्बन ब्ल्याकको प्रयोग गरी उत्कृष्ट चालक लेपन तयार पारेर सफल प्रयोग गरेका छौँ । इलेक्ट्रोप्लेटिङका लागि योग्य सुचालक बनाउन हामीले घरमा तोरीको तेल र दियोको मद्दतले गाजल बनाउने जस्तै परम्परागत प्रक्रियाबाट कार्बन ब्ल्याक संकलन गरेका हौँ । यसरी रैथाने मट्का र दियोको धुवाँबाट निस्कने कालो ध्वाँसोलाई संकलन गरी तयार पारिएको कार्बन ब्ल्याकलाई ग्राफाइटसँग मिसाउँदा पातलो सस्तो कन्डक्टिभ पेन्ट तयार भयो । यो लेपलाई थ्रिडी प्रिन्ट गरिएको प्लास्टिकको सतहमा लगाउँदा बिजुली बग्ने सूचालक सतहमा परिणत भयो । अन्त्यमा, यसरी तयार भएको वस्तुलाई कपर सल्फेट र एसिडको रासायनिक ट्यांकमा राखेर करेन्ट प्रवाह गर्दा, इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत तामाका परमाणुहरू प्लास्टिकको कुना–कुनामा समान रूपले बाँधिएर एउटा बलियो, चम्किलो र खिया प्रतिरोधी धातुको कोटिङ सफलतापूर्वक तयार भयो । यो उद्योगबाट निष्काशन हुने प्रदूषित कार्बनलाई समातेर औद्योगिक उत्पादनको रूपमा पुनः प्रयोग गर्ने अवसर हुन सक्छ ।

आधुनिक सतह प्रविधिमा आज प्लाज्मा कोटिङ, थर्मल स्प्रे र लेजर क्ल्याडिङ जस्ता प्रविधिहरू विकास भइसकेका छन्, जसले धातुलाई निकै कडा र ताप–प्रतिरोधी बनाउँछन् । यति हुँदाहुँदै पनि इलेक्ट्रोप्लेटिङलाई बढी प्राथमिकता दिनुको मुख्य कारण यसको लागत र प्रभावकारिता हो । ठुलो परिमाणमा सामानहरू एकैपटक प्लेटिङ गर्न, कम खर्चमा बहुमूल्य धातुको लेपन चढाउन र रैथाने हस्तकला उद्योगलाई आधुनिक प्रविधिसँग आर्थिक रूपमा सुहाउँदो ढंगले जोड्नका इलेक्ट्रोप्लेटिङ नै सबैभन्दा व्यावहारिक र उत्कृष्ट रोजाइ बनेको छ ।

सुन्दरताको सधैँको असुर

इलेक्ट्रोप्लेटिङ प्रविधि उद्योग र हस्तकलाका लागि वरदान हँुदाहुँदै यसको वातावरणीय र स्वास्थ्यमा प्रभाव पनि त्यत्तिकै चुनौतीपूर्ण छ । यस प्रक्रियामा प्रयोग हुने रसायनहरू जस्तै कडा तेजाब (सल्फ्युरिक एसिड, हाइड्रोक्लोरिक एसिड), साइनाइड लवण र क्रोमियम जस्ता भारी धातुहरू अत्यधिक विषाक्त र क्यान्सरजन्य हुन्छन् । रसायनमिश्रित फोहोर पानीलाई उचित प्रशोधन नगरी सिधै नदीनाला वा माटोमा मिसाइँदा यसले जलचर प्रणालीलाई पूर्ण रूपमा नष्ट गर्नुका साथै भूमिगत पानी र खाद्यान्न चक्रमार्फत् मानव स्वास्थ्यमा गम्भीर रोगहरू निम्त्याउँछ । उद्योगका कारिगरहरू निरन्तर तेजाबको धुवाँ र विषाक्त ग्यासको सम्पर्कमा रहँदा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या, छालाको एलर्जी र दीर्घकालीन स्वास्थ्य जटिलताहरू देखापर्न सक्छन् ।

यसको प्रत्यक्ष वातावरणीय असरबाहेक नेपाल, भारतको सन्दर्भमा यस प्रविधिको एउटा भयावह र अप्रत्यक्ष सामाजिक असर पनि छ । इलेक्ट्रोप्लेटिङ कारखानामा प्रयोग गरिने कडा तेजाबहरूको दुरुपयोग गर्दै कतिपय आपराधिक मानसिकता भएका व्यक्तिहरूले ‘तेजाब आक्रमण’ जस्ता जघन्य अपराधहरूमा प्रयोग गरेको पाइन्छ । उद्योगका रसायनहरूको फितलो निगरानीले बस्तु सुन्दर बनाउन राखिएको तेजाब निर्दोष नागरिक, विशेष गरी महिलाहरू विरुद्ध प्रतिशोध साध्ने र कुरुप बनाउन हतियार बन्न पुगेको तीतो यथार्थ हाम्रासामु छ । त्यसैले, आधुनिक र दिगो इलेक्ट्रोप्लेटिङका लागि केवल उत्पादन मात्र नभएर ‘औद्योगिक फोहोर पानी प्रशोधन केन्द्र’, कडा वातावरणीय मापदण्डको पालना र तेजाबको बिक्री–वितरणमा नियमन र कसिलो निगरानी राख्नु कानुनी तथा मानवीय दृष्टिकोणले अनिवार्य हुन्छ ।

परम्परादेखि आधुनिकता

नेपालमा इलेक्ट्रोप्लेटिङ प्रविधिको विकासले सूचना प्रविधिको मेरुदण्ड मानिने इलेक्ट्रोनिक्स सर्किट बोर्ड उत्पादन उद्योगको स्थापनाका लागि एउटा ठुलो र क्रान्तिकारी सम्भावनाको ढोका खोल्न सक्छ, जुन हाम्रो देशलाई प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन कोसेढुंगा सावित हुन सक्छ । अहिले हामीले प्रयोग गर्ने मोबाइल, कम्प्युटर वा जुनसुकै विद्युतीय उपकरणको भित्री भागमा देखिने हरियो बोर्ड (पिसिबी) मा तामाका स–साना रेखाहरू रेखांकन गर्न र पार्टपुर्जाहरूबीच विद्युत्को संकेत तीव्र गतिमा प्रवाह गराउन इलेक्ट्रोलाइसिस प्रक्रिया प्रयोग हुन्छ । छिमेकी देश भारत हालै सेमिकन्डक्टर उत्पादनमा प्रवेश गरेको छ । चीन त पहिल्यै यसमा अगाडि छ । काठमाडौँ विश्वविद्यालयका केमिकल इन्जिनियरिङका डा. भीम काफ्लेको समूहले इलेक्ट्रोप्लेटिङ प्रविधि प्रयोग गरेर सौर्य पिभी सेल र थर्मल कोटिङ विकास गर्न पहल गरिसकेका छन् । यसबाट पाठ सिकेर नेपालले पनि अब कम्तीमा सस्तो र स्वच्छ जलविद्युत्को फाइदा उठाउँदै उच्च मूल्यका हलुका सामग्री उत्पादनको सपना देख्ने बेला भइसकेको छ । हाम्रो अनुसन्धानमा जस्तै, थ्रिडी प्रिन्टेड सतहलाई कन्डक्टिभ बनाएर इलेक्ट्रोप्लेटिङ गर्ने नयाँ प्रविधिलाई यस क्षेत्रमा मिसाउने हो भने, नेपालमै रैथाने स्तरमा ‘कस्टम–मेड’ सर्किट बोर्डहरू निकै कम खर्चमा तयार पार्न सकिन्छ, जसले गर्दा एकातिर वार्षिक अर्बौं रुपैयाँ बाहिरिनबाट जोगिन्छ भने अर्कोतिर नेपालले पनि दक्षिण एसियाकै एउटा उदीयमान इलेक्ट्रोनिक्स र हार्डवेयर हबमा आफ्नो पनि झन्डा गाडन सक्छ ।

मौलिक उत्पादन

गौतम बुद्धको महापरिनिर्वाणपश्चात् अस्थि धातु वा दाँतलाई जसरी संसारभरका स्तूप र गुम्बाहरूमा सुरक्षित राखी विश्वव्यापी श्रद्धा र आध्यात्मिक ऊर्जाको केन्द्र बनाइयो, त्यसैगरी लुम्बिनीको मायादेवी मन्दिरको पवित्र पिपलको पात (बोधि–पात) हरूलाई संकलन गरी आधुनिक इलेक्ट्रोफर्मिङ वा इलेक्ट्रोप्लेटिङ प्रविधिमार्फत तामा वा सुनको स्थायी धातुको आवरणमा सुरक्षित गरेर संसारभरका श्रद्धालुहरूलाई उपहार वा स्मृति–चिन्हका रूपमा वितरण गर्दा यसले एउटा अभूतपूर्व धार्मिक, सांस्कृतिक र आर्थिक क्रान्ति ल्याउन सक्नेछ ।

समयसँगै सुकेर वा कुहिएर नष्ट हुने पिपल पातलाई ग्राफाइटको लेप लगाई विद्युत् र रसायनको माध्यमबाट धातुमा रूपान्तरण गर्दा यसले जैविक वस्तुलाई अनन्तकालका लागि अमर बनाउने मात्र नभई, नेपालको परम्परागत हस्तकला र आधुनिक सतह संशोधन प्रविधिको एउटा उत्कृष्ट र नवप्रवर्तनकारी ‘इको–स्पिरिचुअल’ फ्युजन प्रस्तुत गर्नेछ; जसले लुम्बिनी आउने लाखौँ अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि बुद्धत्वको जीवित ऊर्जा बोकेको हलुका, दिगो र पवित्र उपहारको माध्यमबाट ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने ऐतिहासिक सत्यलाई विश्वभरका करोडौँ घर र पूजाकोठाहरूमा सिधै पु¥याएर लुम्बिनीको विश्वव्यापी ब्रान्डिङ गर्नेछ । साथै, पर्यावरणमैत्री ढंगले स्थानीय स्तरमा यस्ता कारखानामा स्थापना गरी नव युवाहरूलाई रसायन र धातु विज्ञानको प्राविधिक तालिम दिँदा यसले ठुलो संख्यामा रोजगारी सिर्जना गरी नेपालको अर्थतन्त्र र औद्योगिक प्रयोगमा एक नयाँ आयाम थप्न सक्नेछ ।

प्रतिक्रिया