
सुर्खेत । पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधि सकिएको २ वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७९ सालमा सुरु गरिएको उक्त सडक निर्माणको उपलब्धि ४ वर्षमा आधा पनि काम नसकिएको हो । सम्झौताको ४ वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२.५ प्रतिशतमा सीमित रहेको छ । सडक निर्माण ढिलाइ हुँदा पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाबासी सास्ती भोग्नु परेको छ । सडक निर्माणको जिम्मा लिएको अनक÷जयदेवी जेभी निर्माण सेवाले २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको सडकको काम ४ वर्ष बित्दासमेत ढिलाइ गरेपछि पश्चिम सुर्खेतका नागरिकले कर्णाली प्रदेश राजधानी आउजाउ गर्दा निकै सास्ती भोग्नुपरेको छ । सडकमा हिँउदमा धुलाम्य र बर्खामा हिलाम्य सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
बड्डीचौर–बिउरेनी–खम्बागाडे सडकको दुरी १३ किलोमिटर रहेको छ । उक्त सडक कालोपत्र गर्ने ठेक्का लिएको निर्माण व्यवसायी कम्पनीको ढिलाइका कारण समयमै काम नसकिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताए । निर्माण व्यवसायीको लापरवाहीले सडकको काम समयमै हुन नसकेको उनको भनाइ छ । ४२ करोड रुपैयाँ लागत रहेको सडकमा अहिलेसम्म भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत मात्रै भएको निर्देशक शाहीले बताए । ‘सम्झौता अवधिमा निर्माण कम्पनीले काम गर्न नसकेपछि एकपटक म्याद थपिएको हो,’ उनले भने, ‘थप गरिएको समय सीमामाभित्र पनि काम नभए पनि निर्माण कम्पनीलाई अन्तिम ताकेता गरिएको छ ।’
सुरुमा सडक क्षेत्रमा पर्ने जग्गाको भोगाधिकार स्वीकृति, रुख कटान, विद्युत् लाइन व्यवस्थापन, संघीय सरकारबाट हुने निर्णय प्रक्रियालगायत प्रशासनिक तथा प्राविधिक ढिलाइका कारण आयोजनाको काममा ढिलाइ भएको उनले बताए । आगामी आव २०८३÷०८४ को चैत मसान्तसम्म काम सम्पन्न गर्नेगरी दोस्रोपटक म्याद थप्ने तयारी भएको र उक्त अवधिमा पनि काम सम्पन्न नगरे कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । अनक÷जयदेवी जेभी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर रावतले सुरुमा रुख कटान, भोगाधिकार, विद्युत् लाइन व्यवस्थापनलगायत जटिलताले काम रोकिए पनि अब त्यसमा सहजता भइसकेकाले काम नरोकिने बताए । मध्यपूर्व एसियाको द्वन्द्वको असरले पनि सडक निर्माणमा आवश्यक इन्धनको आपूर्ति गर्न समस्या भएकाले ढिलाइ भएको उनले बताए । ‘सडक निर्माणमा दैनिक २ हजार लिटर तेल जरुरी छ,’ उनले भने, ‘अहिले मुस्किलले ६०० लिटर मात्र आपूर्ति हुन्छ । अनि कसरी काम गर्नू ?’ अब थप गरिएको समयमा निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ छ ।
सडक निर्माणमा भएको ढिलाइले स्थानीय सरकारहरू पनि आक्रोशित बनेका छन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्माले समयमै सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको बताए । अब बेलैमा काम नसक्ने निर्माण व्यवसायीलाई क्षतिपूर्ति भराउनुपर्नेमा जोड दिए । पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारी कुनै पनि बहानामा विकासका काममा भइरहेको ढिलासुस्ती स्वीकार्य नहुने बताउँछन् । बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले निर्माण व्यवसायीले समयमा काम नगर्दाको दोष स्थानीय तहका जनप्रतिनिधिले लिनुपरेको बताउँदै विकासका काममा ढिलासुस्ती नगर्न सुझाइन् । ‘समयमै सडक निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने जनप्रतिनिधिले स्थानीयबाट सडक नबन्दाको हैरानी खेप्नुपरेको छ,’ उनले भनिन् ।
प्रतिक्रिया