बजेट निर्माणमा सन्तुलन कायम गर्न सुझाव

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरूले आगामी वर्षको बजेट बनाउँदा सन्तुलन कायम राख्न मन्त्रीलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा वार्षिक विकास कार्यक्रम तर्जुमासम्बन्धी छलफलका सहभागिले यस्तो सुझाव दिएका हुन् । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्ष दलका नेता मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, प्रदेशसभाअन्तर्गत विभिन्न समितिका सभापतिहरूले बजेट आवश्यकतामा आधारमा सन्तुलित बनाउन सुझाव दिए । आयोजना बैंकमा समावेश आयोजनाहरूको विवरण तथा प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख गरिएका कार्यहरूको प्रगतिबारे छलफल गरिएको छ ।

आगामी बजेट निर्माण गर्दा बजेट सन्तुलन कायम गर्नुपर्ने, सबै स्थानीय तह समेटिने गरी योजना छनोट गर्नुपर्ने तथा अधुरा योजनालाई सम्पन्न गर्न प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन् । लिफ्ट सिँचाइ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, लागत सहभागिता हटाउनुपर्ने, खानेपानी, सिँचाइ, ऊर्जा तथा तटबन्धका योजनालाई प्राथमिकतामा राख्नुपर्ने र ‘एक घर एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझाव सहभागीले दिएका छन् ।

छलफल कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव डा. योगेन्द्र मिश्रले मन्त्रालयको हालसम्मको खर्च अवस्था, मन्त्रालय तथा मातहतका कार्यालयहरूको चैत मसान्तसम्मको वित्तीय तथा भौतिक प्रगति, आर्थिक वर्ष २०८२÷०८३ मा स्वीकृत बहुवर्षीय आयोजनाहरूको अवस्था तथा सालबसाली आयोजनाहरूको कार्यान्वयन अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा मन्त्री बुढाले प्रदेशसभा सदस्यहरूको सुझावहरूका आधारमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया