८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ आवेदन, छनोट प्रक्रिया सुरु

काठमाडौँ । विभिन्न ८ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ मा आव्हान गरेको थियो । उक्त सूचनाबमोजिम ८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ आवेदन परेको पाइएको छ । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८–३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५, राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ । आवेदकहरूको कागजात अध्ययन (छानबिन) गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गरेर छनोट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ ।

गत वैशाख २४ मा स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएको थियो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया सुरु भएको हो । छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ ।

त्रिविका हरेक क्याम्पसमा स्मार्टकक्षा सञ्चालन

यसैबीच, त्रिविले आगामी वर्षसम्ममा आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको बिहीबार उद्घाटन गर्दै उपकुलपति प्राडा सुशील बज्राचार्यले सो जानकारी दिएका हुन् । कक्षामा हुने पठनपाठनलाई एकोहोरो पढाउने शैलीबाट मुक्त गरी अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको उनले बताए ।

‘पछि क्रमशः सबै कक्षाहरूलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने छ,’ उनले भने । यसले पठनपाठन र समग्र शैक्षिक नतिजाकै सुधारमा ठुलो मद्दत हुने उनको भनाइ छ । इन्यिनियरिङ अध्ययन संस्थानमा लामो समय प्राध्यापन गरेका उपकुलपति बज्राचार्यले त्यहाँ स्मार्ट प्रविधिको प्रयोग निकैअघि देखि भएको जानकारी दिँदै त्यसको अनुभवका आधारमा सबै क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्न खोजिएको बताए ।
बक्स

उच्चशिक्षामा एआईको विवेकशील प्रयोगमा विज्ञहरूको जोड

सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैंक तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्सांकन’ सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपालका साथै चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भूटानलगायत देशका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले कृत्रिम बौद्धिकताको सचेत प्रयोग गरी उच्चशिक्षालाई थप गुणस्तरीय, प्रभावकारी तथा विश्वपरिवेश अनुरूपको बनाउनुपर्नेमा जोड दिए ।

उनले कृत्रिम बौद्धिकताको प्रयोगबारे प्राध्यापक र विद्यार्थीलाई दक्ष बनाई संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने, अनुसन्धान दक्षता अभिवृद्धि गर्नुपर्ने र नीतिगत रूपमा सरकारले कृत्रिम बौद्धिकताको प्रयोगलाई सहज बनाउने नीति तथा कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले कृत्रिम बौद्धिकताको विकासले मानवीय चिन्तन प्रणालीमा व्यापक परिवर्तन ल्याएको धारणा व्यक्त गर्दै कृत्रिम बौद्धिकताको दिगो प्रयोग र सम्भावित चुनौतीको सामना गर्न चीन सरकारले अनुसन्धानमा लगानी बढाएको बताए ।

उनले उच्चशिक्षामा कृत्रिम बौद्धिकताले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै सबै मुलुकहरूले आपसी सहयोग र सहकार्यमार्फत प्रविधिको सकारात्मक र मानवउपयोगी प्रयोगमा जोड दिनुपर्ने धारणा राखे । कार्यक्रममा अनलाइन शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय संस्था नेपालको प्रारम्भ गरिएको छ । उक्त निकाय प्रारम्भ गर्ने सहमति पत्रमा निमित्त शिक्षाध्यक्ष प्राडा शंकरप्रसाद खनाल र बी सियाओहान, युनेस्को उपनिर्देशकबीच हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया