अन्ततः फुटको अन्तिम संघारमा कांग्रेस, देउवाको निर्णायक सन्देश कुर्दै इतर समूह

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला रोक्ने संस्थापन पक्षको प्रयास असफल भएको छ । राष्ट्रिय भेला रोकेर कुनै न कुनै रूपको सहमति गरी पार्टी फुट्नबाट जोगाउने रणनीतिमा संस्थापन पक्ष थियो । छुट्टै पार्टी कार्यालय खोलेर समानान्तर गतिविधि सुरु गरिसकेको इतर पक्षले पनि सहमतिका लागि बाटो हेरेर बसेको थियो । तर, दुवै पक्षले एकअर्काको प्रस्ताव स्विकार्न नसक्दा अन्ततः कांग्रेस व्यावहारिक रूपमा फुटेको छ । इतर पक्षका शीर्ष नेताहरूले कांग्रेस एकताको सम्भावना अब सकिएको बताएका छन् । उनीहरूले सहमतिका लागि गरिएको सम्पूर्ण प्रयास विफल भएको घोषणा गरेका हुन् ।

नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको विभाजन हुने भएसँगै पुनः अर्को एउटा राजनीतिक दल थपिने भएको छ । यसले राष्ट्रिय राजनीतिमा प्रभाव त पार्छ नै, कांग्रेस–एमाले गठबन्धन टुटेर प्रदेश सरकारहरूमा बन्ने नयाँ गठबन्धनमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । कांग्रेस विभाजनसँगै गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशन, त्यसपछि निर्वाचन आयोगले गरेको निर्णय र सर्वोच्च अदालतको फैसलासमेत कालान्तरसम्म राजनीतिक मुद्दाका रूपमा जीवित रहिरहने भएको छ । किनकि इतर पक्षले विशेष महाधिवेशनको नेतृत्वलाई अवैधानिक मान्दै आएको छ । सर्वोच्च अदालतले वैधता दिएपछि बाध्य भएर मात्रै उनीहरू आफ्नो पक्षका नेताहरूको व्यवस्थापनसहितको सर्तमा मिल्ने तयारीमा थिए । अन्ततः मिलापको स्थिति नरहेपछि कांग्रेस विभाजनको अन्तिम संघारमा पुगेको हो । विभाजनको सम्पूर्ण तयारी पूरा गरिसकेको इतर पक्षीय कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ताको काम मात्रै बाँकी राखेको छ ।

साउनभित्रै राष्ट्रिय भेला, पर्सि मिति घोषणा

संस्थापनसँग सहमतिको आशासहित राष्ट्रिय भेलाको तिथिमिति तोक्न इतर पक्ष अन्कनाइरहेको थियो । यसबीचमा सभापति गगन थापा र नेता पूर्णबहादुर खड्काबीच पनि निर्णायक छलफल भइसकेको छ । तर, सहमति जुट्न नसकेपछि इतर पक्षले आफ्नो बाटो तताउने निर्णय लिइसकेका छन् । पार्टी विभाजनको दोष शीर्ष नेताहरूलाई मात्रै नलागोस् भन्ने हेतुले यस प्रक्रियामा तल्लो तहका नेता, कार्यकर्ताहरूलाई समेत समावेश गराउने नीति नेताहरूले लिएका छन् । त्यसका लागि यही साउन महिनाभित्रै राष्ट्रिय भेला बोलाउने निर्णय गरिसकिएको नेता मीन विश्वकर्माले जानकारी दिए । ६ साउनमा कांग्रेसका संस्थापक बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भेलाको मिति तय गरिने उनले बताए ।

बिपी स्मृति दिवसको अवसरमा संस्थापनले छुट्टै कार्यक्रम आयोजना गर्दै छ । कांग्रेसले यस दिनमा हरेक वर्ष केही न केही कार्यक्रम गर्दै आएको हो । यही विशेष दिनको अवसर पारेर इतर पक्षले छुट्टै भेला बोलाउनुले सोही दिनदेखि पार्टी विभाजनले औपचारिकता पाउने इतर पक्षका नेताहरूले बताएका छन् । ‘केही प्राविधिक र राजनीतिक काम बाँकी रहला । तर, ६ साउनदेखि कांग्रेस औपचारिक रूपमा पनि फुट्छ भन्न सकिन्छ । व्यावहारिक रूपमा त अहिले पनि फुटेकै अवस्था छ,’ इतर पक्षका एक नेताले भने ।


संस्थापनले ५ प्रस्ताव नमानेका कारण बाटो अलग गर्नुपरेको जिकिर


६ साउनमा चुनदेवीस्थित इतर पक्षको कार्यालयमा ६ नेताहरूले पत्रकारसँग संवाद गरे । नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, प्रकाशशरण महत र मीन विश्वकर्मा ६ साउनमा गर्न खोजेको बिपी स्मृति दिवसको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित थिए ।

उनीहरूले पत्रकार सम्मेलनमार्फत् आफूहरूको प्रस्ताव सार्वजनिक गरे । १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनको कार्यसमितिसँग मिलाएर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने र पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने इतर पक्षको प्रस्ताव सार्वजनिक भएको छ ।

त्यस्तै, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने र पार्टीमा विवाद हुनुअघि तत्कालीन महामन्त्री गगन थापा संयोजक रहेको समितिले टुंयाएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने तथा डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने प्रस्ताव गरेको थियो ।

यीमध्ये केन्द्रीय कार्यसमितिको समायोजन, क्रियाशील सदस्यता नवीकरण पुरानै कायम हुनुपर्ने र महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने विषयमा संस्थापनको स्पष्ट असहमति छ । संस्थापनको असहमतिका कारण फरक बाटो तय गर्नुपरेको नेताहरूले बताएका छन् । नेता मीन विश्वकर्माले संस्थापनले एकताका लागि लचकता र तत्परता नदेखाएको भन्दै आफूहरू अल्मल्लिएर नबस्ने बताए । उनले संस्थापनका कारण एकताको बाटो कमजोर भएको भन्दै नयाँ बाटो तय गर्न खोजेको बताए ।

०००

हङकङमा रहेका देउवाको सन्देशको प्रतीक्षा

इतर पक्ष तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा काम गरिरहेको भए पनि यसको मियो भने तत्कालीन सभापति शेरबहादुर देउवा नै हुन् । २१ फागुनको चुनावअघि नै सिंगापुर गएका उनी उतैबाट हङकङ पुगेका थिए । त्यसयता उनी हङकङका विभिन्न बजारमा देखिने गरेका छन् । इतरपक्षीय उच्च स्रोतका अनुसार कांग्रेसभित्रका सम्पूर्ण वार्ता, छलफल र गतिविधिहरू निरन्तर देउवासमक्ष ब्रिफिङ भइरहेको छ र उनैको निर्देशनबमोजिम इतर पक्षले गतिविधि गरिरहेको छ । तत्कालै विभाजनमा नपुग्नुमा पनि देउवाकै कारण रहेको नेताहरूले बताएका छन् । देशभित्रको राजनीतिक सन्तुलन र अन्तर्राष्ट्रिय समुदायबाट समेत समर्थन प्राप्त गर्नुपर्ने भन्दै देउवाले नै विभाजनका लागि हतार नगरेको ती नेताले जानकारी दिए ।

पार्टी विभाजनपछि गठन हुने नयाँ कांग्रेसलाई अन्तर्राष्ट्रिय मित्रहरूबाट समर्थन जुटाउने गरी देउवा अन्तर्राष्ट्रिय लबिइङमा लागेको इतर पक्षका ती नेताले दाबी गरे । देउवाको एक कल फोनमा विभाजन रोकिएको भन्दै विभाजनका लागि देउवाको अन्तिम आदेश आउनासाथ प्राविधिक रूपमा कांग्रेस विभाजन हुने बताइएको छ । ‘उहाँ (देउवा)ले फोन गरेर अगाडि बढ भन्नासाथ नयाँ पार्टी दर्ताको निवेदन निर्वाचन आयोग पुग्छ,’ ती नेताले भने, ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्र मिलाउने लबिइङ छ भनेर हामीलाई भनिएको छ ।’ पार्टीको विभाजनपछि मात्रै देउवाको स्वदेश फिर्ती हुने नेताहरू बताउँछन् । देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाइएको अवस्थामा उनी नेपाल उत्रिनासाथ धरपकड हुने र कांग्रेसले उनको पक्षमा समेत नबोल्ने भएकाले आफ्नो पक्षमा बोल्ने राजनीतिक शक्तिका रूपमा पनि नयाँ पार्टी गठनको अनिवार्यता भएको देउवाको निष्कर्ष रहेको बताइएको छ ।

‘पूरा नहुने माग राखेर इतर पक्षले विभाजनमा अग्रसरता देखायो’


संस्थापन पक्षले भने इतर पक्षले केन्द्रीय समिति समायोजनको कुरा गरेर विधानविपरीत माग राखेको बताएको छ । माग पूरा हुँदैन भनेर जान्दाजान्दै समायोजनको अड्डी कसेर पार्टी सभापतिलाई दोषी देखाउन खोजिएको भन्दै सो माग पूरा गर्न नसकिने संस्थापनको भनाइ छ । संस्थापन पक्षीय नेता अजयबाबु सिवाकोटीले इतर पक्ष बाक्लो दाल खान छुट्टिन खोजेको भए पनि विभाजनको दोष सभापतिलाई लगाएर जान चाहेको बताए । यद्यपि पार्टी सभापति र सिंगो केन्द्रीय समिति एकताको पक्षमा रहेको उनको भनाइ छ ।

वार्ता, छलफल भइरहेको छ । तर त्यो सार्थक भएन र आजको मितिसम्म उपलब्धिमूलक भएन । त्यसैले यो कमजोर भयो । अब अल्मल्लिएर नबस्ने, अब नयाँ कार्यदिशातिर पनि लाग्नुपर्छ भनेर राष्ट्रिय भेला गर्न लागेका हौँ । सानेपाबाट जे लचकता, धैर्यता, सहनशीलता र तत्परता हुनुपर्ने हो, त्यो नभएका कारण हामी अहिले एकताको बाटो कमजोर भयो भन्ने निष्कर्षमा पुगेका हौँ । –मीन विश्वकर्मा, इतर पक्षीय नेता

कांग्रेस विभाजन नहोस् भन्ने हाम्रो चाहना हो । तर, यो कुरा सभापति गगन थापाको हातमा छ । देशको सार्वभौमिकता र प्रणालीकै रक्षाका लागि कांग्रेस एक हुनुपर्छ । तर, उहाँ मिलाउनेतिर उन्मुख भएको देखिँदैन । यथास्थितिमा मिल्ने अवस्था पनि छैन । – गुरु बराल, इतर पक्षीय नेता

१४औँ महाधिवेशनको कार्यसमिति र विशेष महाधिवेशनको कार्यसमिति समायोजन गर्नु भनेको विशेष महाधिवेशनलाई नमान्नु हो । उहाँहरूले विधानविपरीत र पदीय लालचको कुरा गरिरहनुभएको छ, जुन कुरा स्विकार्न सकिँदैन । उहाँहरू बाक्लो दाल खान छुट्टिन खोज्नुभएको छ । तर, सभापतिलाई दोष लगाएर मोही माग्ने, ढुंग्रो लुकाउने व्यवहार गरिरहनुभएको छ । उहाँहरूको अग्रसरता विभाजनतर्फ नै देखिन्छ, तर हामी एकताबद्ध बनाउन लागिरहेका छौँ । – अजयबाबु सिवाकोटी, संस्थापन पक्षीय नेता

०००

प्रतिक्रिया