
काठमाडौँ । देशका अधिकांश स्थानमा आगामी मंगलबारसम्म नै वर्षा हुने भएको छ । विशेष गरी कोसी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन् । बाग्मती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
यस्तै, आज सोमबार दिउँसो सोमबार कोसी र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थान तथा बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । आज राति पनि मधेससहित अधिकांश प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ । कोसी, बाग्मती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । भोलि मंगलबार पनि वर्षाको क्रम जारी रहनेछ । दिउँसो पहाडी भूभागका धेरै स्थान तथा कोसी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने र कोसी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मंगलबार राति पनि कोसी, बाग्मती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । कोसी, बाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
०००
‘ठुलो बाढीको खतरा छैन’
जल तथा मौसम विज्ञान विभागले अनुमान गरिएअनुसार ठुलो बाढीको जोखिम नरहेको जनाएको छ । यद्यपि, सोमबारसम्म विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका बाढीविद् सौहाद्र्र जोशीका अनुसार अतिभारी वर्षाको सम्भावना रहे पनि वर्षा एक–दुई स्थानमा मात्र भएको र एउटै क्षेत्रमा केन्द्रित नभएकाले अनुमान गरिएको स्तरको बाढीको जोखिम देखिएन । विभागका अनुसार आइतबार बिहानसम्म कोसी, नारायणी, बाग्मती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीको बहाव सतर्कता तहभन्दा तल थियो । तर, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया