‘पार्टी एकताका लागि अन्तिमसम्म लड्छु’

प्रदेश र जिल्लाका नेताहरूको दबाबपछि पूर्णबहादुरले भने—

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकताका लागि आफू अन्तिमसम्म लड्ने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा सुरु भएको ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठी समापन गर्दै खड्काले यस्तो बताएका हुन् । उद्घाटन समारोहमा पार्टी विभाजनको डिलमा पुगेको बताएका खड्कालाई कर्णालीका प्रदेश र जिल्ला तहका नेताहरूले पार्टी विभाजन रोक्न चर्को दबाब दिएका थिए ।

निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशको भेला आयोजना गरेका थिए । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिमा देउवा समितिको बाहुल्यता छ । त्यसको फाईदा उठाउदै खड्काले प्रदेश समितिमार्फत गुटको भेला आयोजना गरेका हुन् । भेला उद्घाटन गर्दै शनिबार खड्काले पार्टी विभाजनको संघारमा पुगेको अभिव्यक्तिले कर्णालीका कांग्रेस नेताहरूलाई त्रसित बनाएको भन्दै जिल्ला सभापतिहरूले चिन्ता व्यक्त गरेका थिए ।

सुर्खेत पुगेका खड्काले कांग्रेसका प्रदेश र जिल्ला तहका नेताहरूलाई भेटेर पार्टीको विवाद समाधानका लागि नेतृत्व गम्भीर नभएको बिफ्रिङ गरेका थिए । जिल्लागत रुपमा नेताहरूसंग भेटेका खड्काले नेतृत्वको अहमताले पार्टी एकता जोगाउन सकिने अवस्था नरहेको बताएको भेटमा सहभागी एक जिल्ला सभापतिले बताए ।

पार्टीको विवाद समाधान गरि आसन्न १५ ओैं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरि लाग्न आफूले आग्रह गरेको खड्कालाई भेटेका एक जिल्ला सभापतिले बताए । ‘निवर्तमान कार्यबहाक सभापतिले पार्टी एकताका लागि गम्भीर नभएको र पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अपमान गरी पार्टी कब्जा गर्ने मनसायले अगाडि बढेको बताउनु भयो’ ति सभापतिले भने, ‘अपमान सहेर पार्टीमा रहिरहन सकिने अवस्था देखिएन भन्नुभयो ।’ पार्टी एकतामा दुबै पक्षले लचकता अपनाउन आग्रह गरेको उनले बताए ।

कार्यक्रममा जाजरकोटका सभापति बेदराज सिंहले पार्टीको आन्तरिक विवादले प्रतिनिधिसभा निर्वाचनमा भोगेको क्षतिलाई सम्झेर सबै पक्षको लचकता जरूरी भएको बताए । ‘भदौ २३ गतेको जेन्जी बिद्रोह र २४ गतेको विध्वंस निन्दनीय भएपनि यो अवस्था ल्याउन कांग्रेस पनि जिम्मेवार रहेको कुरा भुल्न हुँदैन’ उनले भने, ‘नागरिकका असन्तुष्टि बेलैमा सम्बोधन गर्न कांग्रेस चुकेको पनि सत्य हो नि ।’ त्यसैले कांग्रेसले पार्टीभित्रका विवादलाई साँघुरो बनाउदै बृहत् एकता गरि अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

खड्कासंग भेटेका अधिकांश नेताहरूले पार्टी एकतामा लाग्न दबाब दिएका थिए । पार्टीेभित्रका गुटहरू संस्थागत भएको भन्दै कार्यकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधीसभा निर्वाचनको परिणामले तल्लोतहका कार्यकर्ता र मतदातामा निराशा उत्पन्न भएको र पार्टीको विवादले त्रसित बनाएको रिपोर्टिङ जिल्ला सभापतिहरूले गरेका थिए । कर्णालीमै आफ्नै समूहका अधिकांश नेताहरूले विभाजनमा जाँदा मुलधार छोड्न नसकिने बताए पछि खड्काले आइतबार भेला समापन गर्दै एकताका लागि अन्तिमसम्म लड्ने बताएका छन् ।

कर्णाली प्रदेश समितिमार्फत जिल्ला पदाधिकारीहरू र प्रदेशसभा संसदीय दलमार्फत कर्णाली प्रदेशसभा सदस्यहरूलाई भेलामा आउन निर्देशन दिए पछि भेलामा सहभागी भएका कर्णालीमा जनप्रतिनिधि र पार्टीका पदाधिकारीहरू भेलामा सहभागी भए पनि विभाजनको साक्षि बस्न नसकिने भन्दै पार्टी एकताको पक्षमा लाग्न खड्कालाई दबाब बढाएका थिए । दोस्रो दिनको कार्यक्रममा अधिाकंश सहभागी नभए पछि खड्कालाई दबाब बढेको बताइएको छ ।

नेपाली कांग्रेस कालिकोटका सभापति अम्बबहादुर शाहीले प्रदेश समितिको कार्यक्रम भनेर सहभागि भए पनि उद्घाटन समारोहमा निवर्तमान कार्यबहाक सभापतिले पार्टी विभाजनको संघारमा रहेको बताए पछि आइतबार आफू सहभागि नभएको बताए । ‘पार्टी पद्दतीमा सबै चल्नु पर्ने भनेर कार्यक्रममा सहभागी भएका हौ’ उनले भने, ‘पार्टीको एकतामा जान नसकिने भने पछि विभाजनको साक्षी बस्न नसक्ने भनेर कार्यक्रममा सहभागि भएन ।’ जिल्ला सभापतिमा पनि खड्का समूहमै रहेका जुम्ला, रुकुमपश्चिम लगायतका सभापतिहरू कार्यक्रममा सहभागि भएनन् ।

पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने खड्काले बताएका थिए । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठि नाम दिएको भेलामा देउवा समूहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ । संस्थापन समूहले भेलालाई अघोषित बहिष्कार गरेका छन् । देउवा समूहका मानिने प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशसभा सदस्यहरू र निवर्तमान केन्द्रीय सदस्यहरू सहभागि भएका थिए ।

समापन समारोहमा झण्डै तीन घण्टा बोलेका खड्काले पार्टी विभाजनको श्रृङ्खला, जेन्जी आन्दोलन पछिको अवस्था, तत्कालिन अवस्थामा महामन्त्रीहरूले खेलेको भुमिका लगायतका बिषयमा चर्चा गरेका थिए । पटक पटक सभापति गगनकुमार थापा र उपसभापति बिश्वप्रकाश शर्मालाई लेखेका सन्देशहरू पढेर सुनाउँदै आफूले पार्टीको गरेको एकता प्रयासबारे जानकारी गराएका थिए । महामन्त्रीबाट पटक पटक धोका भएको भन्दै विश्वाशिलो वातावरण नभएको उनको भनाई थियो ।

पार्टी एकताको खाका सभापतिले बनाउने बचन दिए पनि त्यसमा गम्भीर नभएको उनले आरोप लगाए । प्रतिनिधीसभा निर्वाचनमा पार्टीको लज्जास्पद हार हुँदा पनि पार्टी नेतृत्व एकताको पहलमा नलागेको उनले दोहो¥याए । ‘चुनावको संघारमा हामी विभाजित मन लिएर गाउँमा गयौ’ उनले भने, ‘पार्टी कार्यकर्तामा छाएको निराशाले मत रोक्न सकिएन ।’ उनले एकताको प्रयास गर्नु पर्ने नेतृत्व टिम विभाजनतर्फ अग्रसर भएको उनको गुनासो छ । ‘हामी एकताको लागि पहलमा लाग्यौ । नेतृत्व पहिले हाम्रो विचार समूहका भएकाहरूलाई टिपेर केन्द्रीय सदस्य मनोनितमा लागेको देखियो’ उनले भने, ‘यसले विश्वास गर्ने वातावरण कहाँ रह्यो ।’

फरक विचारमा रहेकाहरूलाई धम्क्याउने, तर्साउने काम नेतृत्वबाट भएको उनले बताए । ‘सभापति र उपसभापतिहरूले त्यस्तो गर्नु भएन होला । उहाँकै कार्यसमितिमा रहेका कतिपय नेताहरू सांसद र जनप्रतिनिधीहरूलाई थर्काउन लाग्यो । उनीहरूलाई स्पष्टिकरण सोधेको खै ?’ पद जाने र कार्वाही भयबाट मुक्त हुन खड्काले सबै तहका जनप्रतिनिधीलाई आग्रह गरे । नेताहरूलाई घेराबन्दीमा पार्ने र बिशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको भन्दै क्रियाशिल सदस्यता अध्यावधिक नगर्न उनले कर्णाली जिल्ला सभापतिहरूलाई आग्रह गरे । चुनावमा भोट नहालेको आरोप र क्रियाशिल अध्यावधिकको नाममा सदस्यहरूलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ ।

डिजिटलाईजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए । समायानुकुल क्रियाशिल सदस्यको अभिलेखिकरण गर्न जरुरी भए पनि उपयुक्त समय र असल मनसायका साथ नभएको उनको जिकीर छ । ‘सदस्यको अभिलेखिकरण समायानुकुल हुनु पर्छ’ उनले भने, ‘तर यो असल नियतका साथ आएको छैन ।’

प्रतिक्रिया