
सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको ब्यानरमा शनिबार वीरेन्द्रनगरमा ‘पार्टीको बृहत् एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठी’ नाम दिइएको गुट भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिवेदनको नाममा घेराबन्दी गरी पार्टी कब्जा गर्न खोजिएकाले विभाजनको संघारको पुगेको बताए ।
विशेष महाधिवेशनको नामबाट आएको पार्टी नेतृत्व एकताका लागि गम्भीर नहुँदा विभाजनको संघारमा पुगेको खड्काको आरोप छ । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जास्पद हार हुँदा पनि पार्टी नेतृत्व एकताको पहलमा नलागेको उनको भनाइ छ । विशेष महाधिवेशनकै कारण पार्टीले प्रतिनिधिसभा निर्वाचनमा हार बेहोर्नुपरेको उनले बताए । ‘चुनावको संघारमा हामी विभाजित मन लिएर गाउँ गयौँ,’ उनले भने, ‘पार्टी कार्यकर्तामा छाएको निराशाले मत रोक्न सकिएन ।’ निर्वाचन परिणामलाई मध्यनजर गर्दै एकताका साथ अघि बढ्नुपर्नेमा त्यस्तो पहल वर्तमान नेतृत्वबाट हुन नसकेको खड्काको भनाइ छ ।
विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेको तत्कालीन सभापति देउवा समूह सर्वोच्चको फैसलापछि पनि सम्मानजनक एकताका लागि दबाब दिन भन्दै समानान्तर गतिविधि बढाइरहेको छ । पार्टीको बृहत् एकताका लागि कार्यकर्ताको सुझाव लिन सबै प्रदेशमा भेला आयोजना गरिने खड्काले बताए । विशेष महाधिवेशनकै कारण गत २१ फागुनको चुनावमा पार्टीले हार बेहोर्नुपरेको उनको आरोप छ । ‘इतिहासमै नेपाली कांग्रेस पहिलो पटक लज्जास्पद हार बेहोर्नुपरेको छ,’ उनले भने, ‘चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार बेहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ ।
पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ । ‘नेतृत्व एकताभन्दा पनि टिम विभाजनतर्फ लागेको देखियो,’ उनले भने, ‘यसरी पार्टी एकतालाई बल पु¥याउँदैन ।’ नेताहरूलाई घेराबन्दीमा पार्ने र विशेषको नाममा पार्टी कब्जा गर्न उद्यत् रहेको उनले बताए । चुनावमा भोट नहालेको आरोप र क्रियाशील अद्यावधिकका नाममा सदस्यहरूलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ । डिजिटाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रूपमा लखेट्न खोजिएको उनले बताए । समयानुकूल क्रियाशील सदस्यको अभिलेखीकरण गर्न जरुरी भए पनि उपयुक्त समय र असल मनसायका साथ नभएको उनको जिकिर छ । ‘सदस्यको अभिलेखीकरण समायानुकूल हुनुपर्छ,’ उनले भने, ‘तर, यो असल नियतका साथ आएको छैन ।’

पार्टी इतिहासकैै कठिन मोडमा पुगेकाले कार्यकर्ताको सुझावका आधारमा निर्णय लिन प्रदेशस्तरमा भेला आयोजना गरिएको उनले बताए । सम्बोधनको क्रममा पटक–पटक आफ्ना कमजोरी स्विकारेको भन्दै कार्यकर्तालाई माफी दिन आग्रह गरेका खड्काले कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए । पार्टीमा लागेर आफूले पाउनुपर्ने सबै पद र अवसर प्राप्त गरिसकेकाले आफूलाई पदको लोभ नभएको खड्काको भनाइ छ । पार्टीको कुनै पदमा नहुँदा पनि आफू शक्तिशाली भइरहने भन्दै कार्यकर्तालाई आश्वस्त पारेका छन् । ‘मैले पाउनुपर्ने सबै अवसर प्राप्त गरिसकेँ,’ उनले भने, ‘अब म पार्टीमा योगदान दिएका तपाईंहरूको राजनीतिक भविष्यका लागि लड्नेछु ।’
कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले कार्यक्रममा देउवा समूहबाहेकका नेताहरू सहभागी नहुनु दुःखद् भएको बताए । ‘पार्टी एकताको पक्षमा आयोजना गरिएको भेलामा वर्तमान केन्द्रीय सदस्यहरू आउनुभएन,’ उनले भने, ‘विशेषबाट आएको भनिएका, निर्विरोध निर्वाचित, मनोनित वा जे शब्दमा भने पनि केन्द्रीय सदस्यहरू आउनुभएन ।’ हिजोसम्म आउने बताए पनि कार्यक्रममा सहभागी नभएको भन्दै उनले दुःखेसो पोखे । कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठी नाम दिएको भेलामा देउवा समूहका नेताकार्यकर्ता सहभागी थिए । कर्णाली प्रदेश समितिमा अधिकांश देउवा समूहको बाहुल्य छ । १४औँ महाधिवेशनमा कर्णालीका १० मध्ये ९ जिल्लाका सभापति देउवा समूहका छन् । त्यसैले पनि कर्णालीमा आफ्नो प्रभाव देखाउन देउवा समूहले सबै पार्टी पदाधिकारी र जनप्रतिनिधिहरूलाई अनिवार्य सहभागी हुन निर्देशन दिएको थियो ।
कांग्रेस संस्थापनले भने भेला अघोषित बहिष्कार गरेको छ । देउवा समूहका मानिने प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशसभा सदस्यहरू र निवर्तमान केन्द्रीय सदस्यहरू भेलामा सहभागी भए । भेला आज आइतबार पनि चल्ने बताइएको छ । सबै क्षेत्रका जनप्रतिनिधि, पार्टी पदाधिकारीबाट आएका सुझावका आधारमा निष्कर्ष सुनाउने खड्काले सम्बोधनको क्रममा बताए । पार्टीको कार्यक्रम सञ्चालन कार्यविधिअनुसार नै प्रमुख अथिति खड्का, कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेश सभापति ललितजंग शाहीलाई मात्र मञ्चमा राखिएको थियो ।
प्रतिक्रिया