देखिन छाडे घरेलु हातहतियार बनाउने आरन

जन्ती र मलामी त पाइन छाडे, दैनिकीको के कुरा !

सुविधासम्पन्न जीवन बिताउने सोख, शिक्षा तथा रोजगारी खोज्न गाउँबाट सहर र सहरबाट विदेश भौँतिरिने चलन धेरै अघिदेखि चलिआएको हो । औपचारिक रूपमा आफ्नो थातथलो छाडेर अन्यत्रै बसाइँसराइ गरेर जाने पनि नेपाली प्रचलन छ । मानिसहरू हिमाल तथा पहाडबाट तराईतिर झर्ने गरेका छन् । गाउँबाट सहरमा आउने गरेका छन् । परिवारको शिक्षादीक्षाका लागि, स्वास्थ्यमा सहज पहुँचका लागि र रोजगारीका लागि गाउँबाट सहर छिर्ने कुरा अब चलन, प्रचलन वा परम्परा मात्रै रहेन, बाध्यता र अत्यावश्यकसमेत भइसकेको छ ।

पछिल्लो दशकमा त झनै गाउँ छाडेर सहरमा बसोबास गर्नेको संख्या उल्लेख्य बढेको देखिन्छ । उनीहरू औपचारिक रूपमा बसाइँसराइ नगरी गाउँको घर, खेतबारी आफ्नै स्वामित्वमा रहँदारहँदै अस्थायी रूपमा सहरमा बसोबास गर्न आइरहेका छन् । यसले व्यक्ति तथा परिवारको स्वस्थकर जीवनशैलीमा असर पु¥याएको छ । गाउँले जनजीवन, दैनिकी र परम्परालाई पनि बिर्साउँदै लगेको छ । खासगरी मध्य नेपालमा गाउँ छाडेर सहरमा बसोबास गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदा त्यसले धेरै सकारात्मक दैनिकीहरूलाई गुमाएको छ ।

गाउँमा वृद्धवृद्धा र बालकालिकामात्रै, पाइन छाडे जन्ती र मलामी !

बाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, मकवानपुरलगायत जिल्लामा गाउँ छाडेर सदरमुकाम अथवा संघीय राजधानी काठमाडौँमा बस्नेको संख्या उल्लेख्य छ । गाउँमा पस्ने हो भने हरेक घरका कोही न कोही सदस्य सहरमा बसेकै छन् । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा जानुपर्ने कुरा त झन् बाध्यता नै भइहाल्यो । परिवारका एक सदस्य वैदेशिक रोजगारीमा पुगेकै छन् । यसले गर्दा गाउँमा युवायुवती छैनन् । केवल वृद्धवृद्धा र बालबालिका मात्रै छन् ।

जसले गर्दा नेपाली समाजमा उच्च महत्व दिइँदै आएको परम्परा विवाहमा जन्ती र मृत्युमा मलामी जानैपर्ने भावनात्मक र सामाजिक सम्बन्ध थियो, त्यसमा समेत असर परेको छ । कसैको विवाहमा जन्ती र कसैको मृत्युमा मलामी जाने मानिसको समेत अभाव हुँदा गाउँमा आपसमा दुःख, सुख साट्ने परम्परा पनि बिस्तारै हराउँदै गएको छ । मानवीय साथ, सहयोगसमेत दिन नसक्ने अवस्थामा गाउँघर पुग्नु निकै नै डरलाग्दो अवस्था बनेको छ ।


खेतीयोग्य जमिन मरुभूमीकरण, वनजंगलले दायरा बढाउँदै


गाउँघरमा सुविधा हुँदै नभएको होइन । दशकअघिको तुलनामा अहिले धेरै ठाउँमा सडक सुविधा पुगेका छन् । शिक्षा र स्वास्थ्यको सुविधा पनि केही हदसम्म पुगेकै छ । सडक सञ्जालका कारण कृषि कर्म गर्नेहरूलाई बजारीकरण गर्न पनि धेरै ठुलो समस्या छैन । तर, सुख र सुविधाको लोभमा गाउँ छाडिँदा गाउँका खेतीयोग्य जमिन मरुभूमीकरण भएका छन् । सुक्खा छन् । अर्कातर्फ गाउँगाउँमा डोजरे विकासमार्फत् सडक सञ्जाल पु¥याउँदा पनि खेतीयोग्य जमिन घटेको छ र घडेरीमा परिवर्तन भएको छ । यसले गर्दा उब्जनी गर्न सकिएको छैन । विगतमा धान, मकै, गहुँ, कोदोजस्ता खाद्यान्न बाली तथा तरकारी आफैँले उत्पादन गर्ने परिवारले अहिले बजारबाट किनेर गर्जो टार्ने अवस्था छ । खेती गर्न सक्षम जनशक्ति नै गाउँमा नहुँदा खेतीयोग्य जमिन मरुभूमीकरण हुन पुगेको हो ।
यता, मानव सभ्यता वनजंगल, खोला किनार हुँदै बस्तीको विकासमा आइपुगेको थियो । जब बस्तीको विकास भयो, पछि वनजंगल मास्नुहुँदैन भन्नेतर्फ गयो । वनजंगल अतिक्रमण गर्ने र रोक्ने दुवै पक्ष समाजमा विद्यमान थियो । अहिले गाउँघरमा वनजंगल अतिक्रमण गर्नेहरू छैनन् । घट्दो जनसंख्याका कारण वनजंगल निष्पट्ट घना जंगलमा परिणत भएका छन् । बरु वनजंगलले चाहिँ बस्तीमाथि अतिक्रमण गर्दै छ र बस्तीलाई पनि बिस्तारै जंगल बनाउँदै छ । यसले वृद्धवृद्धा र बालबालिका मात्रै रहेका गाउँघरमा जंगली हिंस्रक जनावरको आतंकसमेत फैलिन थालेको छ । ‘गाउँघर मरुभूमिमा परिणत हुँदै छन् । खेतीयोग्य जमिन मासिँदै छ र जंगली जनावरको समेत समस्या देखिन थालेको छ । गाउँ सुनसान बन्दै छन्,’ कमलामाई नगरपालिका–११ का धनबहादुर घिसिङले भने ।


घाँस, दाउरा र मेलापातको दैनिकी हराउँदै


हरेक घरमा गाई, भैँसी, बाख्रा, कम्तीमा १ हल गोरुलगायत जनावर पालिन्थे । ती मानव जीवन र दैनिकीका अभिन्न अंग बनेका थिए । गाई, भैँसीबाट उत्पादित दूध, दहीमोहीको उपयोगले मानवीय जीवनशैलीलाई स्वस्थकर बनाउने गरेको थियो । आफैँ खेतीपाती गर्न गोरुपालनले सहज थियो । बाख्रा बेचबिखनबाट आर्थिक रूपमा जीविकोपार्जनमा सहयोग पुगेको थियो र हरेक बिहान घाँस काट्न वनजंगल जानुले एकातर्फ स्वास्थ्यलाई फुर्तिलो बनाउने गरेको थियो भने अर्कातर्फ पर्यावरणीय हिसाबले वनजंगललाई पनि सफा राख्न सहयोग पुगेको थियो । दाउराबाट आगो बालिने हुँदा वनजंगलका पुराना, ढलेका रूखहरू मानिसले ल्याउने गरेका थिए । यसले वनजंगललाई अनावश्यक घारी हुनबाट बचाएको थियो । तर घाँस, दाउराको प्रचलन हराउँदा यसले पनि पर्यावरणीय सन्तुलनलाई असर पुर्याएको छ ।


गाउँघरमा ऐँचोपैँचो, मेलापातको प्रचलन पनि हराउँदै गएको छ । एकले अर्काको काममा सघाउन मेलापात गर्ने गरे पनि अहिले कुनै काम लगाउनुपर्दा पैसा दिँदासमेत कामदार नपाउने गम्भीर समस्याबाट आमकृषक गुज्रिएका छन् ।


छैनन् घरेलु हातहतियार बनाउने आरन


गाउँघरमा कृषि कर्म हुँदा, पशुपन्छी पालनको काम हुँदा घरेलु हातहतियार बनाउने आरन हुने गथ्र्यो । जहाँ हँसिया, कचिया, कुटो, कोदालोलगायत सबै प्रकारका आवश्यक हातहतियार बनाइन्थ्यो । कृषि कर्म घटेसँगै फलामका हातहतियार निर्माण गर्ने गाउँघरका आरन पनि लोप हुने अवस्थामा पुगेका छन् । गाउँगाउँमा हुने आरन अहिले फाट्टफुट्ट मात्रै भेट्न सकिन्छ ।


लाल्टिन र टुकी बत्ती लोप, वैकल्पिक ऊर्जा प्रयोग हुनु सकारात्मक


गाउँघरमा विद्युत् नपुगेको अवस्थामा विगतमा मट्टीतेलको प्रयोग गरेर बत्ती बालिन्थ्यो । विद्युत्को राष्ट्रिय प्रसारण लाइन नजोडिएको तथा वैकल्पिक ऊर्जाको समेत पहुँच नभएको अवस्थामा मट्टीतेल प्रयोग गरी बत्ती बाल्नुपर्ने बाध्यता थियो । सबै एकै ठाउँमा, बत्तीको वरिपरि बसेर पढ्नुपर्दा विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्ने अवस्था थियो । तर, अहिले गाउँगाउँमा बिजुली पुगेको छ । विद्युत् नपुगेका ठाउँमा पनि सोलारलगायत वैकल्पिक ऊर्जा प्रयोग हुन थालेको छ र मट्टीतेल पूर्ण रूपमा लोप भएको छ । यो कुरा जनजीविका तथा स्वास्थ्यका दृष्टिले सकारात्मक देखिएको छ ।

प्रतिक्रिया