हरायो परम्परागत दैनिकी : फैलियो विकास, खुम्चियो आत्मीयता र सामाजिक भावना

५० बर्ष अगाडी मान्यजनको घरमा सामुहिकरुपमा टिका ग्रहण गरेपछिको सामुहिक तस्विर : सौजन्य – सुबाश हमाल

विकासले मानव जीवनलाई सहज, व्यवस्थित र आधुनिक बनाएको छ । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य तथा प्रविधिको विस्तारले मानिसको दैनिक जीवनमा सहजता ल्याएको छ । पहिले घन्टौँ लाग्ने काम अहिले केही मिनेटमै गर्न सकिन्छ । मानिसको जीवनशैलीमा नै आमूल परिवर्तन आएको छ । तर, विकासको गतिसँगै समाजका पुराना आत्मीय सम्बन्ध, सामाजिक भावना र परम्परागत संस्कार भने बिस्तारै विस्थापित हुँदै गएका छन् । विशेष गरी मधेसको चुरे क्षेत्र, महेन्द्र राजमार्ग आसपास विकसित सहरहरू र आधुनिक विकास नै यसको कारक बनेका छन् । पहिले गाउँघरमा मेलापात, परम्परागत श्रमदान, घर लिप्ने–चोख्याउने, चाडपर्वमा सामूहिक सहभागिता र दुःख, सुखमा एकअर्काको साथ दिने संस्कार बलियो थियो । मानिसहरू व्यस्त जीवनशैली, व्यक्तिगत स्वार्थ र प्रविधिमा सीमित बन्दै जाँदा सामाजिक सम्बन्धहरू कमजोर बन्दै गएको पाका व्यक्तिहरूको अनुभव छ ।

विकासकै कारण सामाजिक भावना विखण्डन

अहिले जताततै देखिने भीमकाय कंक्रिटका भवनहरू, चिल्ला सडक, व्यस्त जनजीवन देख्दा महोत्तरी बर्दिवासका ९२ वर्षीय खड्गबहादुर बस्नेतलाई बेलाबेला के नपुगे, के नपुगेजस्तो भइरहन्छ । २ दशकअघि र अहिले तुलना गर्दा पूर्वाधार विकास मात्र होइन, मानिसको चेतना, भावना पनि विकास भयो । शिक्षाको स्तर, जीवनस्तर, रहनसहन, संस्कार, संस्कृतिजस्ता अनेकौँ प्रत्यक्ष, अप्रत्यक्ष विकास भए पनि बस्नेत यस्ता विकासप्रति चिन्तित छन् । उनी भन्छन्, ‘यो विकासले मानिसमा स्वार्थ र लोभको बीजारोपण ग¥यो । तर, सामाजिक भावना, संस्कार, संस्कृति सबै विस्थापन गरिदियो । मानिस पैसाले भरिपूर्ण भए होलान् । तर, म त उनीहरू अझ दरिद्र बनेको पो देख्छु ।’

व्यस्त भएकै कारण आजकाल छिमेकीको हालखबर सोध्नसमेत फुर्सद नभएको देख्दा उनलाई अचम्म लागेर आउँछ । छोटो अवधिमा रोगले थलिएको, दया, माया र भावना विस्थापन भएका कैयौँ घटना बस्नेतका आँखैअगाडि छन् । उनी चाहेर पनि सम्झाउन, बुझाउन सक्दैनन् । किनकि बुझक्कड समाजले उनका अनुभवलाई ग्रहण गर्नुको साटो बहिष्कार गर्नतिर लाग्छ । ‘बढी जान्ने भएछ भन्छन्, त्यसैले छिमेकमा मात्र होइन, घरैमा त सम्झाउन सकिँदैन,’ बस्नेतले भने, ‘हाम्रो समयमा आत्मीयता थियो, सहयोगको भावना थियो, मौलिकता थियो, सामाजिक एकता दरिलो थियो । अहिले किन हो कुन्नि, यो एकादेशको कथा बन्यो ।’

विकासले मानिस सौखिन बने, गाउँ सहर बन्यो । पुख्र्यौली जग्गा, जमिनको मूल्य अकासियो । काम नगरी जमिन बेचेरै खान पुग्ने अवस्था बन्यो । भूमाफियाले जग्गा अतिक्रमण गर्न थाले, वन फडानी बढ्यो । अहिले मधेसको बर्दिवासलगायत ठाउँमा बस्ने रैथानेहरूको वास्तविकता यही हो । तर, बस्नेतजस्तै, विकासकै कारण परम्परागत मौलिकता, गौरवपूर्ण संस्कार, संस्कृति खोजेर पनि नपाउने अवस्थामा पुगेको देख्दा महोत्तरी गौशालाका रामजनम महतो पनि चिन्ता व्यक्त गर्छन् । ‘जनसंख्या बढ्यो । आवश्यकताहरू थपिँदै गए, जीविकोपार्जनको तौरतरिका फेरियो । तर, मानवीय संकट भने यथावत् छ,’ महतोले भने, ‘विकासको नाममा प्रकृति नासियो, पानी संकट चुलिँदै गयो । अनि वर्षायाममा नै सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बाध्यता सिर्जना भयो ।’

गाउलेहरु झन्डै ४० बर्ष अगाडी मचानमा बसेर छलफल गर्दै । तस्विर : सुबाश हमाल

घर लिप्ने र चोख्याउने परम्परा नै विस्थापन

घर लिप्ने, चोख्याउने परम्परा नेपाली समाजको पुरानो र महत्वपूर्ण सांस्कृतिक अभ्यास हो । विशेष गरी गाउँघरमा चाडपर्व, पूजाआजा, विवाह, व्रतबन्ध वा अन्य शुभकार्यअघि घरलाई सफा गरेर गोबर, माटो आदिले लिपपोत गर्ने चलन छ । यस परम्पराले घरलाई सफा, शुद्ध र आकर्षक बनाउने विश्वास गरिन्छ । गोबर र रातो माटोले लिप्दा वातावरण स्वच्छ हुने, किराफट्यांग्रा कम हुने तथा प्राकृतिक सुगन्ध फैलिने मान्यता छ । तर, मधेसको चुरे क्षेत्रमा यो परम्परा विकासकै कारण विस्थापित हुँदै गएको छ । चुरेका उपल्ला क्षेत्रहरूमा अझै फुसका घरहरू छन् । तर, सहरले बिस्तारै आकार लिँदा लिपपोतको सट्टा पानी लगाएर पखाल्ने संस्कार स्थापित भएको छ । लालबन्दीको चुरे क्षेत्रमा बसोबास गर्ने राममाया तामाङ विकटताकै कारण मानिसहरू सुगम खोज्दै सहर पस्ने गरेको र यस्ता परम्परा हराउँदै गएको बताउँछिन् ।

गाग्री लिएर पानी लिन पुग्ने र पानीप्रतिको विश्वास नै परिवर्तन

पहिले चुरेका गाउँघरमा गाग्री, डोको वा बाल्टिन बोकेर धारा, इनार, कुवा वा पँधेरामा पानी लिन जाने चलन थियो । पँधेरामा भेटघाट हुन्थ्यो, दुःख–सुखका कुरा साटासाट हुन्थे, सम्बन्ध अझ नजिकिन्थे । तर, अहिले घरघरमा धारा पुगे, मोटर जडान भए, बोतल/जारको पानी र फिल्टरको प्रयोग बढ्यो । यसले जीवन त सहज बनायो, तर पानीप्रतिको पुरानो आत्मीयता र सामाजिक सम्बन्ध भने बिस्तारै हराउँदै गयो । ‘अझ बासी पानी प्रयोग गर्न हुँदैन भन्ने मान्यता थियो । अहिले त धाराको पानी ट्यांकरमा भरिन्छ, अनि दिनहुँ त्यही पानी ताजा भनेर प्रयोग गरिन्छ,’ बर्दिवासको उपल्लो क्षेत्र बस्ने सम्झना दोङ भन्छिन्, ‘अहिले त गाग्री लिएर कहाँ जानु र ! खोला, मुहान, इनार सबै सुकेका छन् ।’

पानीकै कुरा गर्दा दशकअघि महोत्तरीको रातु नदीमा गएर पौडी खेलेको र सफा पानी पिउने गरेको बर्दिबास–१ का स्थानीय शंकर थापालाई अहिले पनि आँखैअगाडि झलझली याद आइरहन्छ । दशकको छोटो अवधिमा थापाले रातु नदीमा मात्र होइन, चुरेको फेदीमा पानी पलाइरहने मुहानसमेत सुकेको देखेका छन् । सहरीकरण र विकासले गति लिँदै जाँदा जनघनत्व बढ्दै गयो । मानिसहरूले जमिन, चुरे, जंगल, खोला दोहन गर्न थाले । परिणाम स्वरूप पानीको दीर्घकालीन भविष्यमाथि नै गम्भीर प्रश्न उठेको छ । ‘पहिले र अहिले तुलना गर्दा नदीमा देखिएको सुक्खापनले साह्रै विरक्त लाग्छ,’ उनले भने, ‘हाम्रो नाति पुस्ता कसरी बाँच्ला भन्नेमा नै मलाई ठुलो चिन्ता छ ।’

मधेस प्रदेशको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सिँचाइयोग्य क्षेत्रको अनुपातमा सिँचाइ क्षेत्र ८५.३६ प्रतिशत छ । खानेपानीको मुख्य स्रोतका रूपमा ट्युबवेल र पाइप प्रणाली प्रयोग गरिएको छ । तथ्यांकअनुसार खानेपानीका लागि ट्युबवेल र हाते पम्पको प्रयोग गर्ने परिवारको संख्या ८ लाख ३० हजार २१९ छ भने नदी/खोलामा आश्रित परिवारको संख्या ७२९ मात्र छ । मधेसको जनसंख्याको ठुलो हिस्सा भूमिगत पानीमा निर्भर छ । केही परिवार चुरेका जरुवा, नदी, खोलामा आश्रित छन् । तर, भूमिगत पानीको मुख्य स्रोत चुरे क्षेत्र क्षत्विक्षत् भएपछि यतिबेला मधेसका चापाकल/ट्युबवेल सुकेका छन् ।

बर्दिवासका तत्कालिन प्रधानपंच निर बहादुर हमाल गोरुगाँड़ाबाट सामान ओसारपसार गर्दै । तस्विर – सुबाश हमाल

रोगको भारी बोकेर आयो विकास !

विकासले मानव जीवनलाई सहज, आधुनिक र सुविधासम्पन्न त बनायो । तर, सँगै विभिन्न प्रकारका रोग र स्वास्थ्य समस्या पनि बढाएको चिकित्सकहरू बताउँछन् । ‘पहिले मानिसहरू शारीरिक श्रम धेरै गर्थे, प्राकृतिक खाना खान्थे र प्रकृतिसँग नजिक थिए,’ डा. गणेश श्रेष्ठ भन्छन्, ‘तर आधुनिक विकाससँगै मानिसको जीवनशैली परिवर्तन भयो । मेसिन र प्रविधिमाथिको निर्भरता बढ्दै जाँदा शारीरिक गतिविधि घट्यो । बजारका प्रशोधित खाना, जंकफुड, रासायनिक पदार्थको अत्यधिक प्रयोग तथा अनियमित जीवनशैलीले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनालगायत समस्या बढ्दै गएका छन् ।’

त्यसैगरी, वातावरणीय प्रदूषण पनि विकासकै अर्को चुनौती बनेको छ । उद्योग, सवारीसाधन र अव्यवस्थित सहरीकरणले हावा, पानी र माटो प्रदूषित बनाइरहेको छ । जसका कारण श्वासप्रश्वास, एलर्जी, क्यान्सरजस्ता रोगको जोखिम बढ्दो छ । मानसिक तनाव, एक्लोपन र प्रतिस्पर्धात्मक जीवनशैलीले मानसिक स्वास्थ्यसम्बन्धी समस्यासमेत बढाइरहेको चिकित्सकहरूको भनाइ छ ।

विज्ञहरूका अनुसार वायुमण्डलीय प्रदूषणका दृष्टिले कोसी र मधेस प्रदेश अग्रस्थानमा छन् । काठमाडौँ त कहिलेकाहीँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहरका रूपमा दर्ज हुने गरेको छ । विश्वकै अध्ययन हेर्ने हो भने १९९८ देखि २०२३ सम्म वायुमण्डलीय धुलो प्रदूषण ७४ प्रतिशतले बढेको छ, जसले औसत जीवन १.६ वर्षले घटाएको छ । इपिक इनर्जी इन्स्टिच्युट सिकागो विश्वविद्यालयले भर्खरै गरेको अध्ययनमा मधेसको सबैभन्दा बढी वायु प्रदूषण रौतहट, महोत्तरी र बारामा हुने गरेको छ । यो सबै विकासकै प्रतिफल हो ।

देशभर कुल ३७ हजार १४२ लघु, घरेलु तथा साना उद्योग दर्ता भएकामध्ये १९ प्रतिशत त मधेस प्रदेशमै छन् । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेस प्रदेशमा आर्थिक वर्ष २०७९/८० यता नेपालमा दर्ता भएका कुल उद्योगको करिब ११ प्रतिशत अर्थात् ३६ वटा नयाँ उद्योग थपिएका छन् । यद्यपि वातावरणीय सन्तुलनका लागि खासै ध्यान नदिइँदा स्वास्थ्यसम्बन्धी मापदण्ड भने मिचिएको र त्यसको असर भयावह बन्दै गएको विभिन्न तथ्यहरूले पुष्टि गरेका छन् । जथाभावी खुलेका यस्ता उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई खुलेआम चुनौती दिइरहेको विज्ञहरूको निष्कर्ष छ ।

साँघुरिँदै भावना, फैलिँदै स्वार्थ !

मधेस प्रदेशको चुरे मात्र नभएर भित्री मधेसकै कुरा गर्ने हो भने मानिसहरू भावनात्मक रूपमा टुक्रिँदै गएको देखिएको छ । टाठाबाठाहरूले सोझसिधालाई सधैँ पेलिरहने र शक्तिको आडमा आफ्नो प्रभावको दायरा विकसित गरिरहेको स्थानीय बताउँछन् । विकासले व्यापार, पैसालाई महत्व दिँदा मानिसहरू वन अतिक्रमण, सार्वजनिक जमिन अतिक्रमणमा सक्रिय देखिएको विभिन्न तथ्यहरूले नै पुष्टि गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेसको ५ हजार ६९२.१५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । यसमध्ये सबैभन्दा बढी रौतहटमा ३ हजार १९०.५२ हेक्टर अतिक्रमणमा परेको मन्त्रालयले जनाएको छ । मधेसका १३६ वटै पालिका वनमा आश्रित भए पनि सबै पालिकामा वन छैन । सप्तरीका १८ मध्ये ८ पालिकामा वन क्षेत्र छ भने सिरहाका १७ मध्ये ११, धनुषाका १८ मध्ये ४, महोत्तरीका १५ मध्ये २, सर्लाहीका २० मध्ये ७, रौतहटका १८ मध्ये ५, बाराका १६ मध्ये ३ र पर्साका १४ मध्ये ७ वटा पालिकामा मात्र वन छन् । पानी भण्डारण गरेर राख्ने चुरेको जंगल नै अतिक्रमणमा परेपछि पानीको दीर्घकालीन भविष्यमाथी गम्भीर चिन्ता देखिएको छ ।

सम्झनामै सीमित मचान र चौतारा

पहिले गाउँघरमा बनेका गाउँको न्यायालयका रूपमा चिनिने मचान, चौतारा, पाटी, पौवा, बर–पिपलको छहारी अहिले मधेसमा देख्न पाइँदैन । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्दा यसअघि महोत्तरी, धनुषा र सर्लाहीमा ११ हजार ५३३ रूख काटिसकेको सडक विभागले जनाएको छ । यसमध्ये शताब्दिऔँ पुराना पिपलका रूख मात्र १५ सयभन्दा बढी काटिएका छन् । जसले बटुवाहरूको छहारी मात्र होइन, स्थानीयका वर्षौं पुराना सम्झनासमेत मेटिएका छन् । ‘यी स्थान गाउँको सामूहिक जीवनका केन्द्र थिए । मानिसहरू भेला हुने, सुख–दुःख साट्ने, खेतीपातीदेखि समाजका निर्णयसम्म छलफल गर्ने थलो नै त्यही हुन्थ्यो,’ २० वर्षअघि सम्झिँदै स्थानीय सीतामाया कोइराला भन्छिन्, ‘त्यो आत्मीयता पनि मेटियो । यस्ता ठाउँहरू पनि विकासका कारणले नामेट भए ।’

कुनै विवाद परे गाउँका अगुवा, भद्रभलाद्मी र समुदायका मानिस त्यहीँ भेला हुन्थे । अदालत, प्रहरी वा कागजी प्रक्रियाभन्दा बढी मेलमिलाप, छलफल र सामाजिक सहमतिबाट न्याय खोज्ने चलन थियो । चौताराको फैसला कानुनी दस्तावेज नभए पनि सामाजिक विश्वास र नैतिकताका आधारमा टिकेको हुन्थ्यो । अर्का स्थानीय शंकर महतो भन्छन्, ‘पहिले चौतारामा भेटिन्थ्यो समाज, अहिले मोबाइलको पर्दाभित्र सीमित हुँदै गएको छ ।’

प्रतिक्रिया