बढ्दै वंशाणुगत रोगप्रतिको आमचिन्ता

डिएनएमा हाम्रो वंशाणुगत कोड हुन्छ, जसको माध्यमबाट आमाबुबाको बानी र रोग बच्चासम्म पुग्छ । यसमा खराबीका कारण वंशाणुगत रोगहरू एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्छ ।

मान्छे रोगले भन्दा शोकले मर्छ भन्ने नेपाली उखान छ । तर रोग मान्छेका लागि कम चुनौतीपूर्ण हुँदैन । अझ अहिलेको महँगीमा रोग लाग्नु भनेको सामान्य नागरिकका लागि ठुलै भाउँतो बन्छ । रोगको भिडमा वंशाणुगत रोग चुनौती बन्दै छ । कैयौँ वंशाणुगत रोगका कारण मान्छेले बाँचुञ्जेल दुःख पाउने गरेको छ । त्यसैले यसबारेमा आममान्छेको चिन्ता बढेको पाइन्छ ।

बढ्दो प्रदूषित वातावरण, जीवनशैली, खानपान र उमेरका कारण लाग्ने रोग अनगिन्ती छन् । तर कतिपय रोग यस्ता पनि छन्, जुन हामीलाई जन्मदेखि नै आमाबाबुका कारण लाग्ने गर्छ, त्यस्ता रोगलाई वंशाणुगत रोग भनिन्छ । यो अहिले स्वास्थ्य क्षेत्रमा निकै पेचिलो बन्दै छ । विज्ञका अनुसार यसको उपचार सम्भव छैन । त्यसैले पनि यो जटिल बनेको छ ।

हामीमध्ये धेरैलाई वंशाणुगत रोगबारे जानकारी हुँदैन जसले त्यसप्रति ख्याल पनि गरिन्न र रोग फैलँदै जान्छ । मानव शरीरमा लाखौँ कोषहरू हुन्छन् । ती कोषिकाहरूलाई नियन्त्रण गर्ने काम डिएनएले गर्छ । विज्ञका अनुसार हाम्रो शरीरको डिएनएको एक भाग आमाबाट र अर्को भाग बुबाबाट प्राप्त हुन्छ । डिएनएमा हाम्रो वंशाणुगत कोड हुन्छ, जसको माध्यमबाट आमाबुबाको बानी र रोग बच्चासम्म पुग्छ । यसमा खराबीका कारण वंशाणुगत रोगहरू एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्छ ।

विज्ञका अनुसार कतिपय रोग बालबालिकामा जन्मदेखि नै देखिन्छन् भने कतिपय रोग बुढेसकालमा देखा पर्छन् । आमा र बाबु दुवैको जिनमा रोग भएमा बच्चामा जन्मजात रोग हुन्छ । यदि आमाबाबुमध्ये एकको मात्र जिनमा दोष छ भने केही वर्षपछि वंशाणुगत रोगको लक्षण देखापर्छ ।

०००

विज्ञका अनुसार वंशाणुगत रोगका अनगिन्ती नाम र जात छन् । जसका कारण मान्छेले सास्ती खेप्नु परेको छ । ती मध्ये केही यस्ता छन्, थैलासेमिया वंशाणुगत रोगको एउटा नाम हो । यो आमाबाबुबाट बच्चाहरूलाई सर्छ । चेतनाको कमीका कारण विश्वभर यस रोगबाट पीडित बालबालिकाको संख्या निरन्तर बढिरहेको पाइन्छ । विज्ञका अनुसार यो रगतसँग सम्बन्धित रोग हो । थैलासेमिया दुई प्रकारका हुन्छन्, थैलासेमिया मेजर र थैलासेमिया माइनर । बालबालिकाले एक जना आमाबाबुबाट मात्र क्षतिग्रस्त जिन पाएपछि थैलासेमिया माइनर हुन्छ । तर जब उसले आमा र बुबा दुवैबाट क्षतिग्रस्त जिनहरू प्राप्त गर्दछ, तब मेजर थैलासेमियाको सम्भावना बढी हुन्छ ।

यसको लक्षण भनेको रक्त अल्पता, मेरुदण्डको हड्डी ठुलो हुनु, कलेजो फेल हुनु, मुटुको आकार बढ्नु, अनुहार र छाला सुक्खा हुने आदि हुन् । विज्ञका अनुसार थैलासेमियाबाट पीडित बालबालिकाको स्थायी उपचार सम्भव छैन । रगत परिवर्तन गरेर उसलाई केही समय जीवित राख्न सकिन्छ । यसका लागि नियमित अन्तरालपछि रगत परिवर्तन आवश्यक हुन्छ । तर बच्चालाई बारम्बार रगत चढाउँदा संक्रमणको जोखिम बढ्छ । ध्यान दिनुपर्ने कुरा रगत चढाएपछि बच्चालाई अतिरिक्त आइरन दिनु हुँदैन । किनभने त्यसो गर्दा रगतमा आइरनको मात्रा निकै बढ्छ, जसकारण मुटु, कलेजो र इन्डोक्राइन प्रणालीमा असर पर्छ ।

अर्को भनेको डाउन सिन्ड्रोम हो । यो रोग आमा र बुबा दुवैको जिनबाट आएको हुन्छ । बच्चाले आमा र बुबाबाट पनि क्रोमोजोमहरू प्राप्त गर्छ । यो रोग आमाको एउटा मात्र जिनमा भएमा बच्चामा सर्छ । क्रोमोजोमहरू प्रायः जोडीमा पाइन्छ । जब तिनीहरूको संख्या बढ्छ तब स्थिति असामान्य हुन्छ । यसका लक्षण बच्चा जन्मदेखि डाउन सिन्ड्रोमबाट पीडित छ भने उसले राम्रोसँग दुध पिउँदैन । सुस्त रहन्छ, मानसिक तथा शारीरिक रोगबाट पीडित हुन्छ, शारीरिक रूपमा कमजोर हुन्छ, राम्ररी सुन्न सक्दैन, मुटुसम्बन्धी रोगबाट र थाइराइडबाट पीडित हुन्छ ।
सिन्ड्रोमबाट पीडित बच्चाको हरेक वर्ष थाइराइड परीक्षण गराइन्छ र मुटुको जाँच गराइन्छ । बोल्न कुनै अप्ठ्यारो नहोस् भनेर इको गरिन्छ र स्पिचथेरापी दिइन्छ । यस रोगले बालबालिकामा अल्जाइमर रोग पनि निम्त्याउँछ, जसले स्मरण शक्ति, निर्णय गर्ने र काम गर्ने क्षमतामा बाधा पु¥याउँछ ।

यस्तै मधुमेह पनि वंशाणुगत रोगको वर्गमा पर्छ । शरीरमा धेरै प्रकारका ग्रन्थीहरू हुन्छन् जसले शरीरलाई विभिन्न प्रकारको पोषण प्रदान गर्न र शरीरलाई नचाहिने पदार्थहरू हटाउने काम गर्छन् । यस्तै एउटा ग्रन्थी प्यान्क्रियाज हो । यस ग्रन्थीको काम इन्सुलिन बनाउनु हो, इन्सुलिनले शरीरका धमनीहरूबाट रगतमा पु¥याउने र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने काम गर्छ । यो वंशाणुगत रोग पनि हो, जुन एक पुस्तादेखि अर्को पुस्तामा सर्ने गर्छ । तथ्यांकअनुसार आमाको तुलनामा बुबालाई मधुमेह भएमा बच्चामा यसको जोखिम बढी हुन्छ । मधुमेहले हृदयघात, मिर्गौला फेल, पक्षघात, मानसिक तनाव, अनिद्रा र कलेजो फेलजस्ता समस्या निम्त्याउँछ ।

हेमोफिलिया, सिस्टिक फाइब्रोसिस, आँखा र छालासम्बन्धी रोग, थाइराइड, महिलासम्बन्धी समस्या पनि वंशाणुगत रोगमा पर्छन् । यसका कारण लाखौँ मान्छेले बर्सेनि समस्या झेल्दै आएका छन् ।

००००

आमाबाबुको भूमिका

वंशाणुगत रोगहरूमा अभिभावकको भूमिका धेरै महत्वपूर्ण हुने विज्ञ बताउँछन् । किनभने अभिभावकको सानो गल्तीले बच्चाले जीवनभर गम्भीर रोगको सामना गर्नुपर्ने हुन्छ । बच्चा जन्माउने निर्णय गर्नुअघि आमाबुबाले स्वास्थ्य परीक्षण गर्नु राम्रो मानिन्छ । यसो गर्दा उनीहरूलाई कुनै प्रकारको रोग छ भने बच्चालाई त्यसबाट सुरक्षित राख्न सकिन्छ । यसले आफ्नो समस्याका कारण सन्तानले जीवनभर समस्या झेल्नु नपर्ने हुनसक्छ । त्यसबारेमा सन्तान जन्माउनुपूर्व अभिभावकले सचेत हुनपर्ने विज्ञ बताउँछन् ।

विज्ञका अनुसार गर्भवती महिलाले गर्भावस्थाको पहिलो ३ महिनामा थैलेसेमिया परीक्षण गराउनुपर्छ । यदि उनमा थैलिसेमिया भएमा पतिको पनि परीक्षण गराउनुपर्छ । यदि दुवै थैलासेमिक भएमा बच्चालाई थैलेसेमियाको जोखिम हुन्छ । साथै, विवाहअघि नै आफ्नो थैलासेमिया परीक्षण गराउनुपर्छ ताकि केटाकेटी दुवैमा थैलासेमिया छ भने विवाह गर्नु हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो बच्चाको कुनै पनि लक्षणलाई बेवास्ता गर्नु हुँदैन । बच्चामा विशेष लक्षण देखिए कारण के हो भनेर चिकित्सकसँग परामर्श लिनुपर्छ ।

वंशाणुगत रोग जटिल विषय हो : डा. समीरमणि दीक्षित, जनस्वास्थ्यविद्

डा. समीरमणि दीक्षित, जनस्वास्थ्यविद्

पछिल्लो समय वंशाणुगत रोगका धेरै केस देखिने गरेका छन् । यो समस्या बढेको भने होइन, परीक्षण हुने गरेकाले रोग बढेको जस्तो भएको हो ।

पछिल्लो समय वंशाणुगत रोगहरू निकै देखिएको छ । यो भनेको बाबु वा आमाबाट सन्तानमा सर्ने अवस्थाको रोग हो । वंशबाट सर्ने रोग हो यो । यो सरुवा रोग होइन । कोभिड, हान्टाभाइरस वा अरू जस्तै सरुवा रोग होइन । यो कुनै किटाणु वा जीवाणुबाट सर्ने पनि होइन । यो नितान्त वंशभित्रै सर्ने रोग हो । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा सर्ने प्रक्रियालाई वंशाणुगत रोग भनिन्छ ।

अहिले यसको पहिचान सजिलो भएको छ । यसका परिक्षणहरू धेरै ठाउँमा हुने गरेको छ । सेवा सजिलो गरी उपलब्ध छ । पहिला पहिला सजिलै पत्ता लाग्दैन थिए । अहिले भने सजिलै पत्ता लाग्ने गरेको छ । त्यसको कारण भनेको त्यसका लक्षणहरूका बारेमा बाहिर आउँदा मान्छे सचेत भएर परिक्षण गर्ने गरेका छन् । पहिलाभन्दा परीक्षण धेरै सहज भएका छन् । त्यसैले पछिल्लो समय वंशाणुगत रोगका धेरै केस देखिने गरेका छन् । यो समस्या बढेको भने होइन, परीक्षण हुने गरेकाले रोग बढेको जस्तो भएको हो ।

यसका नाम हजारौँ छन् । नाम एउटा मात्रै छैन । वंशबाट सर्ने भएकाले यसका नाम र जात विभिन्न छन् । वंशाणुगत रोग समयमा नै पहिचान गर्न कठिन छ । त्यसको कारण भनेको बच्चा जन्मँदै रोगी भएको हुन्छ । उसले बताउन पनि सक्दैन र कति अवस्थामा सुरुमै लक्षण पनि देखिन्न । सुरुमै परीक्षण भएमा अझ सजिलो हुन्छ । अहिले त कतिपय मान्छेले जन्मँदै परिक्षण गर्ने गरेको पनि पाइन्छ । बाबुआमामा त्यस प्रकारका कुनै समस्या भएकाले बच्चा जन्मने बित्तिकै पनि परीक्षण गर्ने गरेको पाइन्छ । त्यो सचेतनताका कारण हो ।

वंशाणुगत रोगका बारेमा सुरुमै पत्ता लाग्यो भने पनि त्यो निर्मुल पार्ने तरिका छैन भन्दा हुन्छ । वंशाणुगत रोग निर्मुल भएका घटना निकै कम छन् । यसका नाम भनेको, थैलिसेमिया, मुटु रोग, कोलोस्टेरल बढनु, पछि क्यान्सर पनि वंशाणुगत रोग हो । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा सर्ने रोग नै वंशाणुगत रोग हुन् । पछिल्ला दिनमा यसमा अलि अलि सचेत भएको पाइन्छ । मान्छेमा चेतना जागेको छ । प्रविधिले फड्को मारेको छ । जसका कारण केही सहज भएको पाइन्छ ।

हजुरबा, हजुरआमा, बा, आमामा भएका रोग सन्तानलाई देखिनु नै वंशाणुगत रोग हो । मानसिक स्वास्थ्यको कुरा पनि यसैमा पर्छ । यसलाई कतिले तनाव भएर भन्छन् । तर, एउटाले लिएको तनाव र अर्कोको फरक हुन पर्ने हो नि । तर, त्यसो हुँदैन । कतिपयलाई वंशाणुगत कारणले मानसिक स्वास्थ्य समस्या भएको पनि देखिन्छ । परिवारका सदस्यमा भएको कमजोरीले नै देखिन्छ ।

प्रतिक्रिया