ग्रोथ फोरम नेपाल २०२६ काे एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । ‘नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम विकासमार्फत प्रभाव पार्ने’ मूल विषयलाई केन्द्रमा राख्दै ग्रोथ फोरम नेपाल २०२६ अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

एम्र्बाक कलेजले युनिभर्सिटी अफ रोहम्प्टन -यूके_ सँगको प्राज्ञिक साझेदारीमा आयोजना गरेको यो सम्मेलन २०२६ मे ८ गते होटल हिमालय, ललितपुरमा सम्पन्न भएको हो । सम्मेलनमा नीति निर्माता, उद्योगी, प्राज्ञिक विज्ञ, उद्यमी, लगानीकर्ता तथा विकास साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

एसएमई केन्द्रित आर्थिक बहस

दिनेभर चलेको सम्मेलनमा साना तथा मझौला उद्यम तथा अतिसाना, साना र मझौला उद्यमलाई नेपालको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने विषयमा गहिरो छलफल गरिएको थियो ।

एम्र्बाक कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले उद्घाटन मन्तव्य दिँदै एसएमईलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा व्याख्या गरेका थिए । उनले प्राज्ञिक संस्था र बजारबीचको दूरी घटाउन अनुसन्धानमुखी अभ्यास आवश्यक रहेकोमा जोड दिए ।

नीति र समृद्धिको बहस

काठमाडौं विश्वविद्यालयका प्राडा अच्युत प्रसाद वाग्लेले नेपाल नीति छलफलमा सीमित भएको र समृद्धि केन्द्रित कार्यान्वयन कमजोर रहेको टिप्पणी गरेका छन् । उनले एसएमईलाई स्वरोजगारको सीमित दृष्टिकोणबाट बाहिर ल्याएर उत्पादन र नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताए ।

मुख्य मन्तव्य र अन्तर्राष्ट्रिय दृष्टिकोण

भारतका डा राजेन्द्र प्रताप गुप्ताले जर्मनीको ‘मिट्टेलस्ट्यान्ड’ मोडेललाई उदाहरण दिँदै नेपालका लागि एसएमई केन्द्रित विकास मोडेल आवश्यक रहेको उल्लेख गरे । उनले डिजिटल पहुँच, हरित ऊर्जा र महिला–युवा उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

एफएओका प्रतिनिधि केन शिमिजु ले कृषि–आधारित एसएमई, खाद्य सुरक्षा र ग्रामीण जीवनस्तर सुधारमा उद्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्यानल छलफलहरू

पहिलो प्यानल छलफलमा व्यवसाय गर्न सहज वातावरण, नियमन सुधार र डिजिटल सुशासन विषयमा चर्चा भयो । नेपाल उद्योग परिसंघ अध्यक्ष विरेन्द्र राज पाण्डेले ‘सिंगल डोर नीति’ आवश्यक रहेको बताए भने राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगानाले डिजिटल साक्षरता र समावेशी नीतिमा जोड दिए ।

महिला उद्यमी संघकी अध्यक्ष दर्शना श्रेष्ठले वित्तीय पहुँच र बजार पहुँच महिलाका लागि प्रमुख चुनौती भएको उल्लेख गरे । दोस्रो प्यानलमा वित्तीय पहुँच र लगानी संरचनाबारे छलफल भयो। भेन्चर क्यापिटलको विस्तार, ग्रामीण उद्यमको औपचारिकीकरण र क्षेत्रीय नीति आवश्यकतामा जोड दिइयो ।

एआई र भविष्यको शिक्षा

टेक्नो इन्डिया युनिभर्सिटीका प्रा उज्ज्वल अनु चौधरीले एआई युगमा निरन्तर सिकाइ अनिवार्य भएको बताउँदै राष्ट्रिय स्तरको एआई साक्षरता अभियान आवश्यक रहेको सुझाव दिए ।

एम्र्बाक रिसर्च रिभ्यु सार्वजनिक

कार्यक्रमको अवसरमा एम्र्बाक रिसर्च रिभ्यु भोल्युम २ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । यसलाई नेपाल केन्द्रित अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरिएको छ ।

निष्कर्ष र नीतिगत सिफारिस

सम्मेलनले नेपालका लागि चार प्रमुख प्राथमिकता पहिचान गरेको छ । डिजिटल एकीकृत ‘सिंगल डोर नीति’, प्रादेशिक समावेशी सुशासन, व्यावहारिक र स्थानीय शिक्षा प्रणाली, बैंकिङ क्षेत्रमा रहेको तरलता उत्पादनशील क्षेत्रमा रूपान्तरण । आयोजकले सम्मेलनलाई नेपाललाई निर्वाहमुखी अर्थतन्त्रबाट नवप्रवर्तनमुखी अर्थतन्त्रतर्फ लैजाने महत्वपूर्ण प्रयासका रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया