
काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र डाटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ ‘टियर ४’ हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिचुटिन डाटा भोल्ट प्रालिले बिहीबार काठमाडौंमा परियोजनाको घोषणा गरेको हो । नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्यका साथ देशकै पहिलो ‘टियर ४’ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्न लागिएको कम्पनीको भनाइ छ ।
नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको यो कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको संकल्प लिएको कार्यक्रममा जानकारी दिइएको छ । यो परियोजना काठमाडौं र वीरगञ्जमा रहनेछ । सुरुवाती चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने यो सेन्टरलाई सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ ।
कम्पनीका अनुसार यो डाटा सेन्टरको सबैभन्दा सबल पक्ष यसको अन्तर्राष्ट्रिय गुणस्तर र प्रमाणीकरण हो । नेपालकै पहिलो टियर ४ प्रमाणित डाटा सेन्टरका रूपमा यसले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्ने दाबी गरिएको छ । वर्षभरिमा २६ मिनेटभन्दा कममात्र प्राविधिक अवरोध हुन सक्ने र यसले गर्दा बैंकिङ, दूरसञ्चार र सरकारी तथ्यांक जस्ता संवेदनशील क्षेत्रका लागि यो अत्यन्तै भरपर्दो मानिने कम्पनीले बताएको छ ।
विश्वस्तरीय प्रविधि भित्र्याउन कम्पनीले भीभीडीएन टेक्नोलोजी, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी समेत गरेको छ । यो पूर्वाधारले नेपालको डाटा नेपालभित्रै सुरक्षित राख्ने सुनिश्चितता प्रदान गर्नुका साथै विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधक क्षमतालाई बलियो बनाउने विश्वास कम्पनीको छ ।
वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै यो डाटा सेन्टर पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ। सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बिचुटिनले भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेट जस्ता विद्युतीय उपकरणहरू उत्पादन गर्ने दूरगामी सोच समेत राखेको जनाएको छ ।
प्रतिक्रिया