आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाइ

सुर्खेत । गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरूको पुनर्निर्माणमा ढिलाइ भएको छ । ७ महिना बितिसक्दा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सरकारको ध्यान गएको छैन । जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षति बेहोरेको कर्णाली प्रदेशसभा सचिवालयको भवन मर्मत र पुनर्निर्माण नगर्दा कर्णाली प्रदेशसभा अधिवेशनका लागि वैकल्पिक स्थानको खोजी गर्नु परेको छ ।

जेनजी आन्दोलनमा कर्णाली प्रदेशसभा पूर्णरूपमा ध्वस्त भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री निवास, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको निवासहरू र प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयलगायत अन्य केहीमा संरचनाहरूमा आंशिक क्षति भएको थियो । नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरू र नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीलगायतका कार्यालयहरूमा क्षति पुगेको थियो ।

वीरेन्द्रनगर नगरपालिकाले आफ्ना वडा कार्यालयहरू मर्मत गरेर सेवा प्रवाह सुरु भए पनि प्रदेश सरकारका संरचनाहरूको पुनर्निर्माण र मर्मत सम्भारमा ध्यान गएको छैन । जेनजी आन्दोलनको निशानामा परेका कर्णाली प्रदेश सरकारका विभिन्न संरचनाहरूमा ७ करोड ८१ लाख ५० हजार १५६ रुपैयाँ ३५ पैसाको आर्थिक क्षति पुगेको स्टेमेट निकालिएको छ । कर्णाली प्रदेशसभा भवनमा मात्रै ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको भएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४ सरकारी संरचना पुनर्निर्माण गर्न १ करोड ५० लाख लाग्ने अनुमान पूर्वाधार विकास निर्देशनालयका प्रमुख सूर्यबहादुर शाहीले बताए । निर्देशनालयले गरेको क्षतिग्रस्त संरचनाहरूको लागत अनुमानअनुसार उक्त खर्च अनुमान गरिएको र बजेट सुनिश्चितता भए पनि पुनर्निर्माणको काम थालिने उनले बताए । ‘४ कार्यालयको क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि लागत अनुमान गरिएको छ’ उनले भने, ‘अब स्रोतको सुनिश्चितता गरी काम सुरु गरिन्छ ।’

मुख्यमन्त्री निवास, सोही ठाउँमा रहेको सुरक्षाकर्मीको निवास, कृषिमन्त्रीको निवास र प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयको पुनर्निर्माण तथा मर्मत सम्भार गरिने छन् । आन्दोलनमा सुर्खेतमा २१ करोड १० लाख ५६ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया