लालीबजारको प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार सो आदेश जारी गर्दै २२ वैशाखसम्म चलचित्र सार्वजनिक रूपमा प्रदर्शन नगर्न निर्देशन दिएको हो । रोशनी नेपालीले दायर गरेको रिटमा फिल्मले वादी समुदायको इज्जत, प्रतिष्ठा र सम्मानमा आघात पु¥याउने तथा भेदभावलाई न्यायोचित देखाउने आरोप लगाइएको छ । सोही आधारमा अदालतले तत्कालै अपूरणीय क्षति हुन सक्ने भन्दै प्रदर्शन रोक्ने आदेश दिएको हो ।

अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जबाफ पेस गर्नसमेत आदेश दिएको छ । साथै, यस विषयमा दुवै पक्षको विस्तृत छलफलपछि मात्र अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय हुने जनाइएको छ । आदेशमा सर्वोच्च अदालतको ७ वर्ष पुरानो नजिरलाई समेत आधार बनाइएको छ । २०७५ सालमा सर्वोच्च अदालतले ‘नथिया’, ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रसम्बन्धी मुद्दामा जातीय तथा सामाजिक समूहको सम्मानमा आघात पुग्ने सामग्रीमा नियमन आवश्यक हुने निर्देशनात्मक आदेश जारी गरेको थियो ।

उक्त नजिरअनुसार चलचित्र विकास बोर्डले यस्ता विषयवस्तुमा प्रभावकारी नियमन गर्नुपर्ने उल्लेख गरिएको थियो । षट्कोण आट्र्सको प्रस्तुति रहेको ‘लालीबजार’ १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो । फिल्म सोमबार मात्र सेन्सर बोर्डबाट पास भएको भए पनि अदालतको आदेशपछि यसको प्रदर्शन अनिश्चित बनेको छ । सेमिफाइनल सुनुवाइ २२ वैशाखका लागि तोकिएको छ ।

प्रतिक्रिया