दलीय आबद्धता, दोहोरो सुविधा रोकजस्ता विषय राम्रा भए पनि केही बुँदा हेर्दा सरकार स्वेच्छाचारी हुन खोजेजस्तो देखिन्छ । मुख्यसचिव नियुक्तिका लागि पनि प्रावधान राख्नुपर्छ, बढुवासम्बन्धी केही प्रावधान सच्याउनुपर्नेछ भने तलब सुविधालगायत केही विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने देखिन्छ । – गोपीनाथ मैनाली, पूर्वसचिव
दर्जनौँ नयाँ प्रावधानसहित सार्वजनिक विधेयक मसौदाबारे आइतबार नेपाल जनप्रशासन संघले छलफल गर्दै सच्याउनुपर्ने विषय सुझावका रूपमा सरकारलाई पठाउने भएको छ
काठमाडौँ । संघीय सदनका दुवै सदनबाट पारित भएर प्रतिनिधिसभा पुगेको निजामती विधेयक भदौमा भएको प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भएको थियो । अहिले सरकारले पुनः उक्त विधेयकलाई संसद्मा लैजाने गरी मसौदा तयार पारेको छ । पुरानै विधेयकका अधिकांश विषय समेटिएको उक्त मसौदामा करिब ५० वटा नयाँ व्यवस्था समेटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मसौदामा सुझाव दिन शुक्रबारसम्म समय तोकिएको छ । सुझाव संकलन र परिमार्जनपछि बजेट अधिवेशनमै संसद्मा दर्ता गरी छलफल गराउने तथा बजेट अधिवेशनपछिको अधिवेशनमै उक्त विधेयक पारित गराउने सरकारको तयारी छ ।
सामान्य प्रशासन मन्त्रालयले सुझाव माग गर्दै मसौदामा समेटिएका केही मुख्य विषयसमेत सार्वजनिक गरेको छ । जसमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष, राजनीतिक दल तथा दलको भ्रातृ संगठनमा आबद्ध भए बर्खास्त गर्ने जस्ता व्यवस्था राखिएको छ । त्यस्तै, निजामती सेवामा प्रवेश गर्ने उमेरको अधिकतम सीमा पुरुषको हकमा ३२ वर्ष, महिलाको हकमा ३५ र अपांगता भएका व्यक्तिको हकमा ३९ वर्ष कायम गरिएको छ । मौजुदा कानुनमा सेवा प्रवेश गर्ने उमेरहद महिला र अपांगता भएका व्यक्तिको ४० वर्ष तथा पुरुषको हकमा ३५ वर्ष छ । त्यस्तै, मुख्यसचिव र सचिवको पदावधि २ वर्ष कायम गरिएको छ । हाल मुख्यसचिवको पदावधि ३ र सचिवको ५ वर्ष छ ।
यसका साथै, सरकारले खटाएको क्षेत्रमा जान नमान्ने कर्मचारीलाई लगाम लगाउन ७ दिनभित्र बरबुझारथ गरी खटिएको कार्यालयमा हाजिर हुन रमाना लिनुपर्ने व्यवस्थासमेत मसौदामा छ । प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेशगत रूपमा एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाइने र स्थानीय तहमा पदस्थापन गरिने विषयलाई प्रशासकहरूले स्वागत गरेका छन् । निष्क्रिय भएको विधेयकमै रहेको २ बर्से कुलिङ पिरियडको व्यवस्था मसौदामा समेटिएको छ । जसमा राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीको कर्मचारी निवृत्त भएको २ वर्षसम्म कुनै राजनीतिक वा संवैधानिक पदमा नियुक्त हुन बन्देज लगाइएको छ ।
मसौदामा राम्रा विषयसँगै केही प्रवधान हटाउनैपर्ने खालका भएको पूर्वसचिव गोपीनाथ मैनाली बताउँछन् । मन्त्रालयले सार्वजनिक गरेको मसौदाका विषयमा आइतबार नेपाल जनप्रशासन संघले छलफल गरेको थियो । उक्त छलफलमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वमुख्यसचिवहरू, पूर्वसचिव मधुरमण आचार्य, गोपीनाथ मैनालीलगायतको उपस्थिति थियो । उक्त छलफलमा यी विषय उठाइएको थियो । छलफलमा उपस्थित एक पूर्वप्रशासकका अनुसार त्यहाँ उठेका विषयलाई सुझावका रूपमा सरकारलाई पठाइनेछ ।
०००
केही प्रावधानप्रति सरोकारवालाकै असन्तुष्टि
अर्थ मन्त्रालयले कर्मचारीलाई महिनाको २ पटक तलब दिने तयारी गरिरहँदा उक्त विषय पनि मसौदामा समेटिएको छ । मसौदाको दफा ४७ मा तलब भत्तासम्बन्धी व्यवस्था छ भने उक्त दफाको उपदफा १ मा ‘तलब भुक्तानी हुने अवधि मासिक रूपमा वा नेपाल सरकारले निर्धारण गरेबमोजिम हुने’ भनिएको छ । यसलाई व्यावहारिक मान्न नसकिने प्रशासकहरूको मत छ । यदि उक्त विषय ऐनका रूपमा आयो र सरकारले चाहे जसरी महिनाको २ पटक तलब दिने व्यवस्था ग¥यो भने गम्भीर आर्थिक समस्या पर्ने पूर्वसचिव मैनाली बताउँछन् । उनले भने, ‘सरकारले अर्धमासिक वा साप्ताहिक रूपमा तलब दिने व्यवस्था गरेमा सरकार र नागरिकको नगद व्यवस्थापनमै समस्या भए के हुन्छ ? भन्नेबारे मसौदा मौन रहँदा यसको कार्यान्वयन जटिल बन्न सक्छ ।’
त्यस्तै, मसौदाको दफा २९ (२) मा निजामती सेवाको अधिकृत सातौँ, अधिकृत नवौँ र अधिकृत ११औँ तहको पदमा बढुवा सिफारिस गर्न समितिको व्यवस्था गरिएको छ भने उपदफा ७ मा ‘बढुवा समितिले बढुवा सिफारिस गर्दा अपनाउने कार्यविधि बढुवा समिति आफैँले निर्धारण गरेबमोजिम हुने’ भनिएको छ । यो पूर्ण रूपमा अव्यावहारिक हुने र भविष्यमा यसले चयनमुखी प्रथा बसाल्ने देखिन्छ । यो व्यवस्थाले भविष्यमा सिफरिस समितिमा भएकाले आफूखुसी कार्यविधि बनाएर बढुवामा चलखेल गर्न सक्ने सम्भावना बढाउने जानकारहरू बताउँछन् । ‘मुख्यसचिव नियुक्तिको प्रावधान मसौदामा छैन, यो अत्यावश्यक छ । मुख्यसचिव हुन नपर्नेहरू मुख्यसचिव बन्ने र लायक व्यक्तिहरू मुख्यसचिव नबन्ने पुरानो प्रथा हटाउन पनि प्रावधान चाहिन्छ । यसका अलावा बढुवा समितिमा कानुन सचिव राख्ने व्यवस्था अव्यवहारिक देखियो, यसले भविष्यमा विवाद निम्त्याउन सक्छ,’ मैनालीले भने ।
साथै, अधिकृत १३औँ तहका निजामती कर्मचारीको पदावधि बढीमा १ वर्ष थप गर्न सक्ने व्यवस्था पञ्चायतकालमै असफल भइसकेकाले उक्त व्यवस्था हटाउनुपर्ने मैनाली बताउँछन् । त्यस्तै, सचिव सरुवाको विषयमा सरकार स्वेच्छाचारी हुने अहिलेको मसौदामा पनि देखिएकाले कम्तीमा १ आर्थिक वर्षसम्म सचिवको सरुवा नहुने व्यवस्था राख्नुपर्ने उनको सुझाव छ । कर्मचारीको अनुभव हस्तान्तरणजस्ता विषय पनि विधेयक बनाउँदा समेट्नुपर्ने उनको माग छ ।
०००
ट्रेड युनियन हटाउने प्रावधान पारित भए कानुनी परीक्षण हुने सम्भावना
टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता
सरकारले निजामती सेवामा ट्रेड युनियन नरहने, तर सेवा सर्तसम्बन्धी विषय वा पिरमर्का गुनासो सुनुवाइका लागि प्रभावकारी व्यवस्था राखेको छ । मसौदाको दफा १३२ (६) मा ‘निजामती सेवामा कुनै पनि संगठित गतिविधि गर्न नपाइने’ उल्लेख छ । यस व्यवस्थाले निजामती सेवामा ट्रेड युनियनलाई स्वतः प्रतिबन्ध लगाउँछ । तर, यो व्यवस्था संविधानको धारा ३४ बर्खिलाप हुने प्रशासकहरू बताउँछन् । धारा ३४ को उपधारा ३ मा ‘प्रत्येक श्रमिकलाई कानुनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने’ उल्लेख छ । सरकारले राखेका उक्त व्यवस्था संविधानविपरीत हुने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई बताउँछन् । यदि उक्त प्रावधान पारित भए कानुनी लडाइँ लड्ने विभिन्न दलका संघ–संगठनले बताइसकेका छन् ।
प्रतिक्रिया