
काठमाडाैं । गोरखामा पहिलो पटक आयोजना गरिएको खुल्ला ठाडो भाका प्रतियोगिता सम्पन्न भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर रानीपोखरी परिसरमा ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा गोरखासहित लमजुङ, तनहुँ र कास्कीका १५ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा लमजुङको सुन्दरबजार नगरपालिका–११, ठूलो स्वाँराका मानसिंह दुरा नेतृत्वको समूह प्रथम बन्दै ८० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उक्त समूहमा लिला दुरा, मानसिंह दुरा, कुमार दुरा, धनमाया दुरा र विष्णु दुरा सहभागी थिए । सोही समूह यसअघि २०७८ सालमा दोर्दीमा आयोजित ठाडो भाका प्रतियोगितामा पनि विजेता बनेको थियो ।
त्यस्तै, लमजुङको दुधपोखरी गाउँपालिका–२ का डम्मर राज घले नेतृत्वको टिम द्वितीय हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उक्त टिममा रोशन गुरुङ, लालमाया तामाङ, चिना तामाङ र क्यान्जो तामाङ सहभागी थिए ।
तृतीय स्थान रमना भण्डारीको टिम र लमजुङ लोककला प्रतिष्ठानले प्राप्त गर्दै जनही २०–२० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ८० हजार, ५० हजार र ३० हजार रुपैयाँ तोकिएको भए पनि तृतीयतर्फ दुई टिम भएकाले पुरस्कार बराबरी वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका मुख्य प्रायोजक गोरखा ब्रुअरी रहेको थियो। प्रथम पुरस्कार जोन घले (घले हार्भेस्टिङ, अष्ट्रेलिया), द्वितीय पुरस्कार खगिराम गुरुङ (हङकङ) र चित्रबहादुर गुरुङ (युके), तृतीय पुरस्कार धार्चे गाउँपालिका तथा सान्त्वना पुरस्कार मिना गुरुङ (युके) ले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको मूल्यांकन निर्णायक मण्डल संयोजक अमर विरही गुरुङसहित हरिमाया गुरुङ, कृष्ण गुरुङ र धनबहादुर गुरुङले गरेका थिए भने कार्यक्रम सञ्चालन सागर गुरुङले गरेका थिए ।
समापन समारोह ठाडो भाकाका ‘बादशाह’ भनेर चिनिने धम्पु दुराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले ठाडो भाकाको संरक्षणमा यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए ।
कार्यक्रममा गायनमार्फत ठाडो भाकाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नव पुस्ताबाट गायिका चिजा तामाङ र पुरानो पुस्ताबाट विष्णुमाया गुरुङलाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष पृथ्वी गुरुङले ठाडो भाका लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि प्रतियोगिता महत्वपूर्ण पहल भएको बताए ।
प्रतिक्रिया