संसद अधिवेशन स्थगित गर्नुको कारण सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा संसद अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएको विषयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको वास्तविक कारण सार्वजनिक गर्न माग गरेको छ ।

ललितपुरको बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको यस कदमलाई संवैधानिक नैतिकता र संसदीय परम्परा विपरीतको कार्य भएको ठहर गरेको हो ।

बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अनुसार अधिवेशन आह्वान गर्नु वैधानिक प्रक्रिया हो, तर बैठक नै नबस्दै स्थगन गर्नुले संसदलाई कार्यपालिकाको सुविधा अनुसार चल्ने औजार बनाउने जोखिम उत्पन्न गरेको छ ।’
कांग्रेसले मुलुकका आर्थिक चुनौती र जनजीविकाका सवालमा संसदमा हुने छलफलबाट सरकार भाग्न खोजेको आरोप समेत लगाएको छ ।

‘विशेष कारण भन्दै संसद रोक्नु र नागरिकलाई स्पष्ट जानकारी नदिनुले सरकारको पारदर्शितामा प्रश्न उठाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो प्रवृत्तिले लोकतन्त्रको नियन्त्रण र सन्तुलन (Check and Balance) को प्रणालीलाई कमजोर बनाउँछ ।’

कांग्रेसले अविलम्ब संसद सूचारु गर्न र संसदप्रति सरकारको पूर्ण जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यदि संसदलाई प्रभावहीन बनाउने प्रयास जारी रहेमा सदन र सडक दुवै माध्यमबाट सशक्त आवाज उठाउने चेतावनी समेत दिएको छ ।

बैठकले संसदसँगै अन्य विविध समसामयिक विषयमा पनि निर्णयहरू गरेको छ । परिमार्जित विधान पारित गर्दै संसदीय दलको नेता चयन प्रक्रियाका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।

विद्यार्थी संगठन खारेज गर्ने नभई सुधार र रूपान्तरण गर्नुपर्ने तथा उमेर हद र पारदर्शिता लागू गर्नुपर्नेमा जोड दिइएको छ । कांग्रेसले बल प्रयोग नगरी वास्तविक सुकुम्बासीको पहिचान गरेर मात्र समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

इरानी सैनिकको हिरासतमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्न र सरकारले फैलाएको भ्रामक सूचना सच्याउन माग गरिएको छ ।

बैठकले सिन्धुलीको प्रहरी हिरासतमा मृत्यु भएका कृष्ण विकको घटनामा गहिरो छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया