
काठमाडौं । बलात्कारको मुद्दामा पक्राउ परेका नेकपा एमालेका नेता कर्णबहादुर मल्ल जेल चलान भएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशपछि मल्ललाई जेल चलान गरिएको हो । उनलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताए ।
बलात्कारको मुद्दामा गत चैत १४ गते मल्ललाई सातदोबाटोबाट प्रक्राउ गरिएको थियो । पुर्पक्षका लागि भएको थुनछेक बहसपछि जिल्ला अदालत, ललितपुरले जेल चलान गर्न आदेश दिएको हो ।
एमाले कर्णाली प्रदेश कमिटी सदस्य मल्ललाई ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ । तीन लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई क्षतिपूर्ति भराइदिन पनि सरकारी वकिलको माग छ ।
मल्लले बलात्कार गरेको एक ३० वर्षीया युवतीले आरोप लगाएकी थिइन् । २०८० कार्तिकमा मल्लसँग भेटघाट र चिनजान भएको उनले बताएकी छन् ।
२०८० फागुन १२ गते एकछिन भेटौँ, खाजा खाएर जानु भन्दै बोलाएर मल्लले होटलमा लगेको पीडितको जाहेरी छ । ग्वार्कोको एक होटलमा लगेपछि जबर्जस्ती करणी गरेको र आफूलाई श्रीमतीका रुपमा स्वीकार गर्छु समेत भनेको जाहेरीमा उल्लेख छ ।
त्यसपछि दुई वर्षसम्म निरन्तर यौन सम्पर्क गरेको र त्यसक्रममा गर्भ समेत रहेको उनको दाबी छ । मल्लले मानसिक यातना समेत दिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।
प्रतिक्रिया