ढुंगाढुंगामा मूर्तिकला

मुस्ताङ । घरपझोङ गाउँपालिकाले १५ दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो । मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो । कालिगण्डकी नदीमा पाइने विशाल ढुंगालाई बाहिर निकालेर मूर्तिकारहरूले यहाँको मौलिकता झल्किने सृजनालाई मूर्तिकलाको स्वरूपमा बदल्ने भएका छन् ।

कालगण्डकी नदीमा पाइने ढुंगालाई छनौट गरी मूर्तिकला कुद्न दर्जनौँ ढुंगा जोमसोममा एकीकृत गरी संकलन गरिएको छ । सीमित स्रोत मात्रै उपलब्ध भएकाले अपेक्षा गरे अनुरूपका ढुंगाहरू संकलन गर्न सकिएको छैन । घरपझोङ गाउँपालिकाले संकलन गरी राखेका कालिगण्डकी विशाल ढुंगामा विभिन्न प्रकारका मूर्तिहरूको आकृति कोरिने योजना रहेको छ । घरपझोङ मूर्तिकला कार्यशालाका लागि ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ मूर्तिकार र १ दर्जन बढी सहयोगी मूर्तिकार मुस्ताङ आइपुगेर काम सुरु गरिसकेको ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए । कालिगण्डकी नदीका ढुंगाहरूमा यहाँको जीवन्त मौलिक कलासंस्कृतिलाई मूर्तिकलामार्फत उजागर गरिने प्रमुख महतोले बताए ।

यहाँको मौलिक पहिचान र कलाकारको सृजनालाई मूर्तिकलाको माध्यमबाट मूर्त रूप दिइने छ । धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा रहेको मुस्ताङलाई यहाँको पर्यटन विकासमा योगदान पुग्ने गरी १५ दिने कार्यशालाले ठुलो टेवा पु¥याउन सक्ने प्रमुख महतोको भनाइ छ । घरपझोङ मूर्तिकला कार्यशाला २१ वैशाखसम्म चल्ने छ । ढुंगामा कुदिने मूर्तिकलाबाट यहाँको भगवान् विष्णुको स्वरूप शालिग्राम, भगवान् नारायण, बुद्ध र गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोर्छे, घरपझोङको पहिचान घरपझोङ किल्लाको आकृति कोरिने बताइएको छ । यसैगरी कालिगण्डकी नदीका ढुंगाहरूमा यहाँको धर्मसंस्कृति, रहनसहन, हिउँ चितुवा, याकचौरी लगायतका यहाँको पर्यावरणको सम्पूर्ण प्रतिनिधित्व झल्काउने गरी मूर्तिकारहरूले आफ्नो सृजना पस्किने प्रमुख महतोले उल्लेख गरे । यहाँको मूर्तिकला कार्यशालामा कार्य अवधिभर २१ ठुला आकारका ढुंगामा मूर्तिकला सृजना प्रस्तुत हुनेछन् ।

यसका अलावा तोकिएको अवधिभन्दा अघि नै ढुंगामा मूर्तिकलाको काम सकिएमा थप अरू ढुंगाहरूमा क्रमशः मूर्तिकला कुद्ने लक्ष्य राखिएको छ । घरपझोङ मूर्तिकला कार्यशालाले मुस्ताङको पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पु¥याउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । मुस्ताङको कालिगण्डकी नदीमा पाइने सबै ढुंगाहरू स्वतः शालिग्राम रहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पर्यटकहरूको घुमफिर गर्ने बसाईं लम्याउने उद्देश्यले मूर्तिकला कार्यशाला चलाइएको बताए । मुस्ताङमा अधिकांश धार्मिक पर्यटक हिन्दु धर्माबलम्बीको रहेकाले यहाँको पवित्र ढुंगा (शीला) मा हिन्दु तथा बौद्ध धर्मको समान अस्तित्व रहने गरी मूर्तिकारले आफ्ना सृजना कोर्ने कार्यक्रम रहेको छ । कोरला नाका, उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटकहरू सिधैँ गन्तव्यतर्फ प्रस्थान गर्ने भएकाले मूर्तिकलाको प्रस्तुतिले पर्यटकहरूको बसाईं लम्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

घरपझोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्रांगणमा मूर्तिकला सुरु गरिएको छ । यसका लागि घरपझोङ गाउँपालिकाले ढुंगा र विद्युत् व्यवस्थापन मिलाएको छ । काठमाडाँैकी मूर्तिकार अनमारी तामाङले मुस्ताङको उच्च उचाइको स्थानमा पहिलोपटक मूर्तिकला प्रस्तुत गर्न आइपुगेको जानकारी दिइन् । तराई र पहाडका क्षेत्रमा मूर्तिकला कोर्ने अनुभवभन्दा यहाँको मूर्तिकला अनुभव केही फरक रहेको उनले बताइन् । यहाँको हावाहुरी र चिसोका कारण मूर्तिकला कुद्न केही असहज हुने मूर्तिकार तामाङले उल्लेख गरिन् ।

घरपझोङ मूर्तिकला कार्यशालामा कोरिएका ढुंगालाई जोमसोम बजारको कालीगण्डकी नदीको दायाँबायाँ किनारामा पार्क निर्माण गरी प्रतिस्थापन गर्ने जनाइएको छ । सोमबारदेखि सुरु गरिएको मूर्तिकला कार्यशालामा अहिले मूर्तिकारहरूले यहाँको ढुंगाहरूको अध्ययन गर्ने र मूर्तिकलाका लागि सेफ तयार गर्ने लगायतका काम गरेको बताइएको छ । ढुंगामा कोरिएका मूर्तिकलाबाट समग्र मुस्ताङ जिल्लाको पहिचानलाई झल्काउने कार्यशालाको मूल उद्देश्य रहेको छ ।

प्रतिक्रिया