
काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि नियुक्त भएको २७ दिनमै गृहमन्त्री सुधन गुरुङको पद गुमेको छ । गत १३ चैतमा गृहमन्त्री नियुक्त भएका उनले बुधबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन् । गृहमन्त्री नियुक्त भएको भोलिपल्टैदेखि विभिन्न फाइल पल्टाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलगायत उच्च पदस्थलाई पक्राउ गरेर काम थालेका उनी २७ दिनसम्म चर्चा र विवादको घेरामै रहे ।
हाल अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका व्यवसायी भट्टसँगको व्यावसायिक साझेदारी भएको समाचार सार्वजनिक भएसँगै उनीमाथि पार्टीभित्र र बाहिरबाट राजीनामाका लागि चर्को दबाब परेको थियो । राजीनामा नदिने मनस्थितिमा रहेका उनले पद जोगाउन निकै दौडधुप गरे पनि अन्ततः पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले साथ नदिएपछि राजीनामा दिन बाध्य भएका हुन् । उनले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्री बालेन आफैँले सम्हालेका छन् । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई नै तोकेको जानकारी दिएको छ ।
यसकारण राजीनामा दिन बाध्य
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका विवादास्पद व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको व्यावसायिक साझेदारी रहेको विवरणहरू सार्वजनिक भए । भट्टले बिमा ऐन, २०७९ को दफा १४० उल्लंघन गरी सम्पत्ति आर्जन गरेको आरोप छ । त्यसरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी काम गरेको अभियोगमा उनीमाथि अनुसन्धान जारी छ । यसैबीच, स्टार माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको तथ्य बाहिरिएको थियो । सो इन्स्योरेन्स भट्टसँग कारोबारमा मुछिएका उनी नजिकका विभिन्न व्यक्तिहरूको स्वामित्वमा रहेको देखिएपछि उनीमाथि प्रश्न उठेको थियो ।
यससँगै उनका विभिन्न सेयर कारोबारको विवरण, सम्पत्ति विवरण र आर्थिक कारोबारको विवरण सार्वजनिक हुन थालेको थियो । ‘हामी नेपाल’ नामक गैरसरकारी संस्था चलाइरहेका गुरुङको विगतदेखि नै भट्टसँगको निकट सम्बन्ध पनि छताछुल्ल भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण र सार्वजनिक विवरणमा तालमेल नमिलेपछि पार्टीभित्र र जनस्तरबाट पनि उनलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न दबाब परेको थियो ।
बालेन सरकारबाट बाहिरिने दोस्रो मन्त्री
गुरुङ १३ चैतमा सरकार गठनपछि सरकारबाट बाहिरिने दोस्रो मन्त्रीका रूपमा दर्ज भएका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहको विषयलाई प्राथमिकता दिएको सरकारले मन्त्रीको काम कारबाहीप्रति सार्वजनिक रूपमा प्रश्न उठ्नासाथ हटाउने नजिर स्थापित गरेको छ । यसअघि श्रममन्त्री दीपककुमार साहले स्वास्थ्य बिमा बोर्डलाई दबाबमा पारेर पत्नी जुनु श्रेष्ठलाई बोर्डको सदस्यमा निरन्तरता दिएको आरोप लागेपछि २६ चैतमा पदमुक्त गरिएको थियो । सो प्रकरणमा स्वास्थ्यमन्त्री निशा मेहतालाई समेत सचेत गराइएको थियो ।
चर्चा र विवाद शृंखला
पछिल्ला केही दिन गृहमन्त्री गुरुङको दौडधुप निकै बढेको थियो । उनले पटक–पटक पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । राजीनामाको दबाब टार्न उनले पद नछाडी समिति बनाएर छानबिन गर्ने विकल्प नेताहरूलाई दिएको स्रोत बताउँछ । तर, पदमै रहेर छानबिन गर्न नैतिक रूपमा अप्ठ्यारो पर्ने र स्वार्थको द्वन्द्व हुने भन्दै सभापति र प्रधानमन्त्री उनको कुरामा सहमत भएनन् । उनै गुरुङले बालेनलाई रास्वपामा समाहित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जेनजी आन्दोलनको मर्मअनुसार पुराना दलहरूलाई विस्थापित गराउन सबै नयाँ दल एक हुनुपर्ने एजेन्डा बोक्दै उनले कुनै पनि हालतमा रवि–बालेन मिल्नुपर्ने भन्दै दबाब दिएका थिए । अन्ततः उनी आफ्नो एजेन्डामा सफल पनि भए । उनले रास्वपामा कुलमानले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीलाई पनि मिलाएका थिए । तर, सो एकता टिकेन । हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीलाई पनि रास्वपामा मिलाउने उनको योजनाले सफलता पाएन ।
२३ भदौअघि ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थामार्फत् विपद् व्यवस्थापनलगायत सामाजिक काममा सक्रिय उनी सोही संस्थामार्फत् २३ भदौको आन्दोलनमा सक्रिय भएका थिए । २४ भदौको आन्दोलनपछि उनी जेनजी अगुवाका रूपमा निर्णायक भूमिकामा रहे । बदलिँदो राजनीतिक अवस्थालाई निकास दिन प्रधानसेनापतिसँग वार्ता गरेर सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । २१ फागुनको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका उनी गोरखा–१ बाट निर्वाचित भएका हुन् ।
मन्त्री नियुक्त भएको दिनदेखि नै सक्रिय भएका उनले भोलिपल्टै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे । पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ परे । लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पनि बालहिंसाको पुरानो मुद्दाका आधारमा पक्राउ गरियो । अन्य आधा दर्जन मुद्दामा उनले चासो राख्दै फाइल अघि बढाएका थिए । तर, उनले गरेका यी सबै काममा दरिलो कानुनी प्रक्रिया नपु¥याएको भन्दै प्रशस्त आलोचना भएको थियो । प्रहरी कार्यालयहरू निरीक्षण गर्नेदेखि सडक अनुगमनलगायत उनले गरेका काममा चर्चासँगै विरोध पनि हुने गरेको थियो । मन्त्रिपरिषद् गठन हुँदा तेस्रो वरीयतामा रहेका उनलाई पछि मन्त्रिपरिषद्को पाँचौँ वरीयतामा पु¥याइएको थियो ।
०००
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भनेर राजीनामा दिएँ’
गृहमन्त्री गुरुङले आफूमाथि सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भनेर राजीनामा दिएको बताएका छन् । ‘मेरा लागि पदभन्दा ठुलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठुलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जबाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस्, त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको छु ।’
प्रतिक्रिया