नेकपाको स्थापना दिवस : जनसेवामा लाग्ने नेताहरुको प्रतिबद्धता

काठमाडौं । नेपालमा आजैका दिन २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विभिन्न समूह र नाममा विभाजित रहेको छ ।

नेकपाको संस्थापकमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेका थिए । विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्ने पुष्पलाल श्रेष्ठले स्थापना गरेको कम्युनिष्ट पार्टी विभिन्न नाम र समूह टुटफुट र एकताको चरणबाट अघि बढ्दै आएको छ ।

मुलुकमा कम्युनिष्ट पार्टी विभाजित हुँदा गत फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपरेको छ । विसं २०७४ को निर्वाचनमा झण्डै दुई तिहाइ सिट नजिक रहेको कम्युनिष्ट पार्टी अहिले ३२ सिट प्राप्त गरेका छन् ।

एमाले प्रत्यक्षमा नौ सिटसहित २५ सिट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रत्यक्षमा आठ स्थानसहित १७ सिट प्राप्त गरेका छन् । यही पृष्ठभूमिमा आज नेकपा एमाले एवं नेकपालगायत पार्टीले ७७औँ स्थापना दिवस मनाएर निर्वाचनको गम्भीर समीक्षासहित आफूहरू सच्चिएर जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपाकै अग्रणीधारका रूपमा एमाले, नेकपा, नेकपा (माले) लगायत कम्युनिष्टका प्रमुख पार्टी मुलुकका क्रियाशील रहेका छन् । विसं २०७४ को निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा झण्डै दुई तिहाइको जनमत हासिल मात्र भएन २०७५ जेठ ३ गते पार्टी एकता पनि भयो तर त्यो लामो समय टिक्न सकेन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाभित्रको विवादका बीच प्रतिनिधिसभा विघटन गरेपछि विभाजित हुन पुगेको नेकपा पछि सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् पार्टीमा फर्किएका थिए । एमाले र माओवादी केन्द्रले पालैपालो नेपाली कांग्रेससँग तालमेल सत्ता गठबन्धन गरेपछि कम्युनिष्टहरुबीच फाटो बढ्दै गयो ।

यहीबीचमा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा एकीकृत भएको छ ।

नेकपाको ७७औँ स्थापना दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेताहरुले निर्वाचनको पराजयलाई स्वीकार गर्दै आफूहरू जनताको बीचमा गएर थप मेहनत गर्ने बताएका छन् । सो पार्टीका उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायत नेताले जनतासँग नजिक भएर पुनः राष्ट्रिय राजनीतिमा स्थापित हुने बताए ।

उपाध्यक्ष बादलले नेपालमो समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको विषयमा आफूहरुले समीक्षा गर्ने अहिलेको पराजयलाई विजयमा रूपान्तरण गर्न एकताबद्ध हुने नयाँ संकल्प गरेर अघि बढ्ने बताए । विसं २००६ सालमा सानो बिरुवाका रूपमा रोकिएको नेकपा आज विशाल वृक्षमा रूपान्तरित भएको र जनतामा कम्युनिष्टधारको मूल धार एमाले हुन सकेको बताए ।

उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादले एकपटक मात्र होइन, बारम्बर जनताको विश्वास जितेर अघि बढ्नुुपर्ने मर्म रहेको उल्लेख गर्दै निरन्तर जनतामा जाने र जनताबाट अनुमोदित हुनुको विकल्प नभएको बताए ।

महासचिव पोखरेलले पार्टीको विधानमा युवा र महिलालाई नेतृत्वमा आरक्षणको पहिलो अभ्यासकर्ता आफ्नो पार्टी भए पनि त्यो वर्गको विश्वास लिन र सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने सही मनसायलाई युवामाझ बुझाउन नसकिएको बताए । ‘हामी यसबीचमा सत्तामुखी र केन्द्रमुखी भएछौँ भन्ने बुझ्नुपर्छ, आफूलाई सच्याउन जनतातिर फर्कनुपर्छ, हामीले गरेका राम्रा कुराहरुलाई पनि जनताका बीचमा लान नसकेको कुरा स्वीकार्नै पर्छ’, उनले भने ।

पार्टीका सचिव पद्मा अर्यालले स्थापना दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली आउने तयारी भए पनि स्वास्थ्यलाभ गरिरहेको कारण आउन नसकेएको जानकारी दिइन् । विसं २०४७ मा माले र नेकपा (माक्र्सवादी) बीच एकीकरण गरेर बनेको एमाले २०५४ सालमा विभाजन भएको थियो ।

तत्कालीन एमालेका नेता वामदेव गौतमले एमालेबाट अलग भई माले गठन गरेका थिए । पछि नेता गौतम सहितलगायत सबै ठूला नेता एमालेमा मिसिए पनि सिपी मैनाली आएनन् । उनले माले पार्टीको नेतृत्व गरिरहेका छन् । गौतम अहिले प्रचण्ड नेतृत्वको नेकपामा पुगेका छन् ।

अहिले प्रचण्ड नेतृत्वको (नेकपा माओवादी केन्द्र) माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र रन्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी मिलि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यति धेरै पार्टी मिलेको पार्टीले पनि निर्वाचनमा राम्रो स्थान ल्याउन सकेन ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट अलग भएर नेता मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द्र लगायतले पनि अलग पार्टी गठन गर्नु छ । यस्तै तत्कालीन माओवादी केन्द्रबाट अलग रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेका छन् । उता मोहनविक्रम सिंहले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा तथा नारायणमान विजुक्छेले मजदुर किसान पार्टी गठन गरेर नेतृत्व गरिरहेका छन् ।

नेपालमा २०५१ सालमा पहिलो पटक कम्युनिष्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री बने । तत्कालीन एमाले संसद्को ठूलो दलको हैसियतमा पार्टीका अध्यक्ष अधिकारी प्रधानमन्त्री बनेका हुन् । त्यसपछि एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट दाहाल र डा बाबुराम भट्टराई प्रधानमन्त्री बनेका छन् । यस्तै कम्युनिष्ट पार्टीबाट मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन् । एमालेकी पूर्वउपाध्यक्ष भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी हुन् ।

प्रतिक्रिया