गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएका हुन् । पछिल्लो समय विवादमा आएका गुरुङले चौतर्फी दबाबका कारण राजीनामा दिएका हुन् । गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’

विवादित व्यवसायीसँग विभिन्न शेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई राजीनामा बुझाएका हुन् ।

उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए । रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको बताइएको छ ।

प्रतिक्रिया