
काठमाडौँ । नेकपा(एमाले)को प्रचार सामग्रीबाट अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाउन थालिएको छ । यसअघि पार्टीको केन्द्रीय सचिवालयदेखि वडा तहसम्मले गर्ने सबै प्रकारका कार्यक्रमको पोस्टर तथा प्रचारप्रसारको सामग्रीमा अध्यक्ष ओलीको फोटो अनिवार्य हुने गर्दथ्यो । अहिले भने पार्टीले गर्ने औपचारिक कार्यक्रमको पोस्टरबाटै उनको फोटो हटाइएको हो ।
एमालेले आज(बुधबार) नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस मनाउँदै छ । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको पोस्टरबाट अध्यक्ष ओलीको फोटो हटाइएको छ । एमाले केन्द्रीय कार्यालय आयोजक भनिएको कार्यक्रमको पोस्टरमा नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको तस्बिर राखिएको छ । एमालेले आफूलाई नेकपाकै निरन्तरताको रूपमा लिने गरेको छ । यसअघिका पोस्टरहरुमा मनमोहन अधिकारी र मदन भण्डारीको पनि तस्बिर राख्ने गरेको थियो । सो तस्बिर पनि प्रचार सामग्रीमा अटाइएको छैन ।
गत भदौ २३ र २४को जेनजी आन्दोलनपछि एमाले अध्यक्ष ओली आमरूपमा अलोकप्रिय बनेका छन् । उनको अलोकप्रियताकै कारण गत चुनावमा पनि पार्टीलाई ठुलो क्षति पुगेको आम कार्यकर्ताको बुझाइ छ । चुनावी समीक्षा गर्न नपाउँदै १४ चैतमा पक्राउ परेका ओली २६ चैतमा रिहा भएका थिए । पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेताहरू प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतका नेताहरू पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । पार्टीभित्र अप्ठ्यारोमा परेका ओलीको तस्बिर प्रचार सामग्रीबाट हटाउन थालिनुलाई उनको शक्ति क्षीण भएको आम बुझाइ छ ।
केन्द्रीय कार्यालयले जारी गरेको बाहेक अन्य विभिन्न कमिटीहरूको नाममा जारी भएको पोस्टरहरूमा पनि अध्यक्ष ओलीको फोटो हटाइएको छ । त्यसो त गत आम निर्वाचनमा पनि प्रायः सबै उम्मेदवारहरुले आफ्ना प्रचार सामग्रीमा अध्यक्ष ओलीको फोटोे राखेका थिएनन् ।
प्रतिक्रिया