
काठमाडौँ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा–पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतको फैसला मानेर जाने निर्णय गरेसँगै खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता हुनसक्ने चर्चा चले पनि सोमबारको केन्द्रीय अनुशासन समिति बैठकले खड्कालाई सोधिएको स्पष्टिकरण फिर्ता गरेको छैन । बैठक रामेछापका जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई स्पष्टिकरण सोधेको छ ।
खड्काले दुई पटक कार्यबाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेपछि उनलाई २ बैशाखमा ७ दिने स्पष्टिकरण सोधिएको थियो । खड्काले भने अवैधानिक समितिले सोधेको स्पष्टिकरण नदिने बताएका थिए । उनले स्पष्टिकरण दिने समय बाँकी छदैँ शुक्रबार गगन थापा नेतृत्वको कांग्रेसले सर्वोच्च अदालतबाट आधिकारिकता पाइसकेको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङले लिखित रुपमा स्पष्टिकरण सोधिएको भन्दै विधि र प्रक्रिया अनुसार चल्ने बताए । उनले स्पष्टीकरण नदिने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गरे ।
समितिको सोमबारको बैठकले कांग्रेस रामेछाप जिल्ला समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई ३ दिने स्पष्टिकरण सोधेको छ । उनले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको हो । तामाङले कांग्रेस सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ पैसा भएको भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् बाहिरिएको थियो ।
संसदीय दलको नेता चयन ११ बैशाखमा
कांग्रेसले आगमी ११ बैशाखमा संसदीय दलको नेता चयन गर्ने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उक्त दिन संसदीय दलको नेताको निर्वाचन हुने जानकारी दिएको हो । ११ बैशाखमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने जनाइएको छ । निर्वाचन कार्यतालिका अनुसार १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
कांग्रेसको प्रतिनिधि सभामा ३८ जना सांसद छन् । संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भिष्मराज आङ्दम्बे, मोहन आचार्य र निष्कल राईलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।
प्रतिक्रिया