फेरि बज्दै छ वाम एकताको ‘बाँसुरी’, ओली र प्रचण्डले बढाए अनौपचारिक संवाद

एकातर्फ दुवै दलको क्षीण शक्तिले ओली–प्रचण्डलाई नजिक बनाउँदै छ भने अर्कातर्फ एकतापछि आर्जन हुने शक्तिको नेतृत्व आफूले गर्नुपर्ने स्वार्थले एकता सहज पनि देखिँदैन

काठमाडौँ । गत प्रतिनिधिसभा चुनावको नतिजाले संसदीय राजनीतिमा अस्तित्व जोगाउन मात्रै सफल भएका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको छलफल सुरु भएको छ । दुवै पार्टीभित्र एकताको विषयलाई लिएर मतान्तर देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग सैद्धान्तिक सहमति लिएर उनीहरू निकट नेताहरूले एकताका लागि छलफल सुरु गरेका हुन् । ओली र प्रचण्डलाई ‘एकताको आवश्यकताबोध’ भएकाले सकारात्मक भएको निकट नेताहरूले दाबी गरेका छन् । यसका लागि दुवै नेताले नेताहरू खटाएर अनौपचारिक छलफल सुरु गरेका हुन् । अनौपचारिक संवादले निष्कष दिने देखिएमा औपचारिक रूपमा छलफल अघि बढाउने योजनामा शीर्ष नेताहरू छन् । तर, एकताका लागि दुवै पार्टीभित्र पदाधिकारी तहमै असन्तुष्टि रहेकाले सहज भने देखिँदैन ।

०००

ओली–प्रचण्ड नजिक बनाउने फ्याक्टर

अघिल्लो प्रतिनिधिसभामा ७९ सिटसहित दोस्रो रहेको एमाले अहिले २५ सिटमा खुम्चिँदै तेस्रो दलमा झरेको छ । ४२ सिट (नेकपा एसको १० र माओवादी केन्द्रको ३२) को नेकपा १७ सिटमा झर्यो । यी दुइटा पार्टीको सिट मात्रै घटेन, संसदीय गणितमा उनीहरू इतिहासकै कमजोर प्रतिपक्षीका रूपमा सीमित भए, त्यो पनि प्रमुख प्रतिपक्षी होइन । दुइटा पार्टी मिलाउँदा सभाको दोस्रो दल बन्ने र प्रमुख प्रतिपक्षको हैसियत प्राप्त हुने अवसरका कारण एमाले–नेकपाका शीर्ष नेताहरू एकताका लागि जुर्मुराएका हुन् । कम्युनिस्ट पार्टीका ४ पूर्वप्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै संसद्मा छन् । सत्ता र शक्तिको राजनीतिमा लिप्त नेताहरूले पुनः संसदीय राजनीतिमा शक्तिशाली भएर फर्किन सकिन्छ कि भन्नेमा पनि ध्यान दिएको देखिन्छ ।

गत चुनावमा एमाले–नेकपाको एकता नभएको अवस्थामा धेरै ठाउँमा झिनो मतान्तरले मात्रै रास्वपा उम्मेदवारहरूले जितेका छन् । उनीहरूलाई सोही हारको चोटका कारण पनि एकताको पक्षमा जुट्न सहज भएको देखिएको छ । अर्कातर्फ आगामी २०८४ सालमा स्थानीय तह र प्रदेशसभाको चुनाव हुनेछ । सो चुनावमा यसैगरी लज्जास्पद हार नहोस् भन्न पनि एमाले–नेकपा एकताको तयारी गरिरहेका हुन् । एमाले उच्च स्रोतका अनुसार एमाले अध्यक्ष ओली आफ्नो गिर्दो साखलाई फर्काउने गरी राजनीतिक मुभ लिनेबारे सोचिरहेका छन् । उनले आफूविरुद्ध विदेशी शक्तिकेन्द्र र नेपालका सबै शक्ति लागिपरेको बताउँदै आएका छन् । चुनाव जितेर ठुलो शक्ति भएर सो शक्तिविरुद्ध लड्ने उनको सपना चकनाचुर भएको छ ।

आगामी दिनमा शक्ति फर्काउने औजार नेकपालगायत वाम शक्तिसँगको एकता नै हुन सक्ने ओलीको बुझाइ छ । सरकारले गत १४ चैतमा उनलाई पक्राउ गरेपछि त्यसको विरोधमा एमालेले गरेको सडक संघर्ष फितलो भएपछि ओली झस्किएका छन् । उनीमाथिको मुद्दा यथावत् रहेको अवस्थामा सरकारले जुनकुनै बेला धरकपड गर्न सक्ने निष्कर्ष उनको छ । आफू शक्तिशाली नभए सरकारविरुद्ध लड्न नसक्ने तथ्यका कारण पनि उनी पछिल्लो समय एकताका लागि तयार देखिएको नेताहरूको दाबी छ ।

यता, संसद्मा निरीह प्रतिपक्षको भूमिकामा रहेका नेकपा संयोजक प्रचण्डले पनि आफ्नो शक्ति बढाएर संसदीय दलको नेता बन्ने चाहना राखेका छन् । उनलाई पनि आफूहरू कमजोर भएमा ओली, देउवालगायतलाई पक्राउ गर्न जसरी सरकार सक्रिय भयो, कुनै दिन आफूमाथि पनि बज्रिने आशंका छ । यसका लागि उनी आफ्नो जनमत र शक्ति बढाउन चाहन्छन् । पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको चर्को आवाज उठिरहेका बेला वाम एकताको नाममा विषयलाई अन्तै मोड्ने र परिस्थितिजन्य आवश्यकताको नाममा नेतृत्वमा निरन्तर रहने स्वार्थ प्रचण्डमा देखिएको छ ।

०००

कसरी बढ्दै छ छलफल ?

उच्च स्रोतहरूका अनुसार एकताको विषयमा अनौपचारिक छलफल भइरहेको छ । त्यो अनौपचारिक छलफल पार्टी च्यानलबाटै भए पनि ओली र प्रचण्डको व्यक्तिगत छलफल जसरी अघि बढिरहेको छ । ओलीको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव खगराज भट्ट, सचिव महेश बस्नेतलगायतले अनौपचारिक संवाद गरिरहेका छन् । प्रचण्डले वर्षमान पुन, शक्ति बस्नेत र आफ्नो सचिवालयमार्फत् संवाद गरिरहेको नेताहरूले बताएका छन् । प्रचण्ड एकता गर्न तयार भए पनि आफूलाई नै नेतृत्व मान्नुपर्ने पक्षमा छन् । ओलीको अलोकप्रियताले पार्टीलाई क्षति पुग्ने भन्दै ओलीलाई आलंकारिक पदमा राखेर पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने उनको सर्त छ । तर, ओली भने प्रचण्डको सो प्रस्ताव स्विकार्न तयार छैनन् । उनी पार्टी नेतृत्व आफूले राख्ने र संसदीय दलको नेतृत्व प्रचण्डलाई दिन तयार छन् ।

२०७४ सालमै असफल भइसकेको २ अध्यक्ष प्रणाली राख्न भने दुवै नेता सहमत देखिँदैनन् । ‘हाल एकता गर्नुपर्छ भन्ने दुवै पक्षलाई गहिरो गरी अनुभूत भए पनि ठोस मोडालिटी तय भएको छैन । अनौपचारिक रूपमा निर्णायक छलफल भयो भने औपचारिक रूपमा अघि बढ्छ,’ स्रोतले भन्यो । पार्टी एकता गर्ने, तर ओली र प्रचण्डबाहेक नयाँ व्यक्तिको नेतृत्वमा अघि बढ्ने विकल्पमा छलफल चलिरहेको छ । अथवा, प्रचण्ड वा ओलीकै नेतृत्वमा गएर आगामी ६ महिनाभित्र महाधिवेशन गरी दुवैले नेतृत्व छाड्ने विषयमा पनि छलफल भइरहेको छ ।

०००

माधवकै सल्लाहमा बढ्दै छन् प्रचण्ड, एमालेमा ३ धार

एमाले र नेकपाभित्र वाम एकता आवश्यक कि अनावश्यक भन्ने सन्दर्भमा तल्लो तहसम्मै मतैक्य छ । पक्ष र विपक्षमा उत्तिकै आवाजहरू छन् । तल्लो तहका नेता कार्यकर्ता एकताकै पक्षमा देखिए पनि पदाधिकारी र केन्द्रीय समितिमै सहमति जुटाउन नेताहरूलाई हम्मे पर्ने देखिएको छ । नेकपा संयोजक प्रचण्डले सहसंयोजक माधव नेपाललगायत नेतालाई विश्वासमा लिएरै छलफल गरिरहेकाले नेकपाभित्र धेरै विवाद छैन । तर, एमालेभित्र भने वादविवाद शृंखला नै चलेको छ । विगतमा आफूनिकट रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई समेत बायस गरेर ओलीले छलफल चलाएपछि उनीहरू तरंगित बनेका हुन् । उनीहरूले सार्वजनिक रूपमै अहिले एकता आवश्यक नभएको र गलत हल्ला फैलाइएको भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । ओली खेमाकै नेताहरू पार्टी पुनर्गठनको पक्षमा उभिएपछि ओली खेमामै अर्को गुट जन्मिएको छ ।

यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सक्रियता बढाइरहेकी छिन् । पछिल्ला दिनहरूमा उनी पुस्तक विमोचन र विभिन्न जनसंगठनका नेताहरूसँगको भेटवार्तामा व्यस्त छिन् । उनले पार्टी पुनर्गठनको मुद्दालाई साथ दिँदै पार्टी आफ्नै नेतृत्वमा आउन सक्नेतर्फ पनि ध्यान दिएकी हुन् । रक्षात्मक अवस्थामा देखिएका अध्यक्ष ओलीले पार्टीभित्रको किचलो फेस नै नगरी एकतामा लाने हुन् कि भन्ने त्रासमा एमाले पंक्ति रहेको नेताहरूले बताएका छन् ।

बजार हल्ला तथ्यमा आधारित होइन । ओली–प्रचण्डबीच त्यस्तो कुरा चल्यो भन्ने लाग्दैन । अस्पतालमा भएको भेटलाई लिएर तरंगित बनाउने काम भएको छ, अहिले त्यो विषयमा एमालेभित्र कुनै बहस छैन । एजेन्डा नै छैन । चुनावपछिको पहिलो बैठक बस्ने, चुनावको समीक्षा गर्ने र कसरी अघि बढ्ने भनेर कार्ययोजना बनाउँदा त्यो कोर्समा जाऊँ भनियो भने छलफल हुने कुरा हो । आजको दिनसम्म छलफल भएको छैन । हुने सम्भावना म देख्दिनँ । –पद्मा अर्याल, एमाले सचिव

वाम एकता आवश्यक छ । तर, एकताअघि सम्बन्धित दलहरूको आन्तरिक समस्या समाधान हुनुपर्छ । एमाले र नेकपाको आन्तरिक राजनीति सुधार नभई एकताले प्राथमिकता पाउँदैन । पहिले संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य भएपछि, वैचारिक मतभिन्नता छैन भनेपछि एकताको विषय आउँछ । तत्तत् पार्टीहरूले जहाँजहाँ गल्ती–कमजोरी गरेका छन्, त्यहाँ सुधार चाहियो । सुधार तलबाट होइन, माथिबाटै गर्नुपर्छ । –कर्ण थापा, एमाले नेता

वाम एकता इतिहासको आवश्यकता हो । वामपन्थी जनमत, कार्यकर्ताको चाहना र पछिल्ला परिघटना समीक्षा गर्दा व्यक्तिविशेषको अनुहार हेरेर होइन, आन्दोलन पुनर्गठनको आवश्यकता छ । एकताको अनौपचारिक छलफल चलेको छ, औपचारिक वार्ता भएको छैन । नेताहरूले एकअर्काले दोषारोपण गरेर कहीँ पुगिँदैन । पुस्तान्तरण, रूपान्तरणको मुद्दा उठिसकेको छ, यो ग्रहण गरेर वामपन्थी एकठाउँ हुनुपर्छ । -देवेन्द्र पौडेल, नेकपा नेता

वाम एकता जरुरी छ । वामपन्थीहरूलाई एकठाउँ ल्याउने कोसिस गर्नुपर्छ । तर, पुरानो चिज बोकेर हिँड्न सकिँदैन । धेरै चिज छाड्न तयार हुनुपर्छ । जे–जे छाड्नुपरे पनि छाड्ने, तर एकता गर्ने मानसिकतासाथ आइयो भने एकता हुन्छ । मेरो सिद्धान्त, विचार, लिगेसी छाड्दिनँ, तर वाम एकता चाहियो भनेर हुँदैन । –रामकुमार भट्टराई, नेकपा नेता

प्रतिक्रिया