रास्वपाले वैशाख १५ गतेबाट जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ गतेबाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

सोमबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दै छ । केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ ।

रास्वपाको वडा र पालिका अधिवेशन यही वैशाख २ गतेबाट पुनः सुरु भएको थियो । २०८० मंसिरबाट सुरु भएको वडा अधिवेशन फागुन २१ को प्रतिनिधि सभा निवाचनलाई लक्षित गरी गत माघ दोस्रो साताबाट रोकिएको थियो ।

चुनावका कारणले रोकिएको वडा र पालिका तहमा संगठन निर्माणको कार्य वैशाख २ गतेदेखि जारी छ । गठन निर्माण हुन नसकेका वडा र पालिकामा तदर्थ समिति गठन गर्न लागिएको छ ।

वैशाख महिनाभर वडा र पालिकामा तदर्थ समिति तथा वडा परिषद् गठन गर्ने उनको भनाइ छ । महामन्त्री बुर्लाकोटीका अनुसार अहिलेसम्म ४५२ वडा र ६२ पालिकाको अधिवेशन सकिएको छ ।

प्रतिक्रिया