
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद शुक्रबार सर्वोच्च अदालतको फैसलाले टुंग्याएसँगै ढुक्कले १५औँ महाधिवेशन गर्ने बाटो खुलेको छ । आगामी १६–१९ असोजमा कांग्रेसको महाधिवेशन तय गरिएको छ । कार्यतालिकाअनुसार १ वैशाखदेखि सदस्यता वितरण तथा नवीकरणको १ महिने ‘जरा अभियान’ सुरु भइसकेको छ । तर, सर्वोच्चमा विचाराधीन मुद्दा देखाउँदै इतर (शेरबहादुर देउवा, पूर्णबहादुर खड्का) पक्ष जरा अभियानमा सहभागी भएको थिएन । गत २७–३० पुसमा भएको विशेष महाधिवेशनलाई सर्वोच्चले वैधानिकता दिएसँगै संस्थापनको बाटोमा देखिएको अवरोध पूर्णतः क्लियर भएको छ । तर, पार्टीलाई एकताबद्ध राख्ने विषय भने सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय समितिलाई चुनौतीपूर्ण देखिएको छ । १४औँ महाधिवेशनको संस्थापन पक्षले आफ्नो गुट कायम राख्दै गतिविधि गरिरहँदा पार्टीलाई एकताबद्ध बनाउन कांग्रेसलाई चुनौती देखिएको हो । तर, नेताहरूले पार्टीलाई एकताबद्ध बनाइराख्ने प्रतिबद्धता भने जनाइरहेका छन् ।
०००
देउवा–खड्का समूहलाई विश्वासमा लिने चुनौती
१४औँ महाधिवेशनकै प्रतिनिधिको सहभागितामा भएको विशेष महाधिवेशनमा सोही महाविधेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बहुमत भने सहभागी थिएन । सो कार्यसमितिमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत थियो । विशेष महाधिवेशलाई केन्द्रीय समितिको स्वामित्वको बनाउन तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भरमग्दुर प्रयास गरेका थिए । केन्द्रीय समितिले अपनत्व त लिएन नै, बरु ३० पुसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि पार्टीबाटै निष्कासन ग¥यो । यसरी विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पक्षबीच तुषको राजनीति देखिएको थियो । विशेष महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको सहभागिता शून्य थियो ।
अर्कातर्फ कांग्रेसमा नेता शेखर कोइराला पक्षले पनि निर्णायक प्रभाव पार्ने गरेको छ । विशेष महाधिवेशनमा उनी र उनी पक्षका नेताहरू पनि सहभागी भएनन् । गगन नेतृत्वको समितिमा देउवा र कोइराला पक्षका कोही पनि नेता नभएका कारण दुवै पक्षको विश्वास जितेर साझा स्वामित्वको महसुस गराउने चुनौती संस्थापनलाई छ । यस्तै, असोजमा महाधिवेशन तोकेर सदस्यता वितरण तथा नवीकरण सुरु भइसक्दा इतर पक्षले भने नयाँ कार्यतालिकाअनुसार सदस्यता नवीकरण नै बहिष्कार गरेको छ । पार्टीको वैधतामाथि नै प्रश्न उठाउँदै सदस्यता नवीकरण नगर्ने चेतावनीसहित कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकालेका पूर्णबहादुर खड्कालाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।
अब वैधता विवाद टुंगिसकेकाले उनले स्पष्टीकरण देलान् कि नदेलान् ? देउवा–खड्का समूह सदस्यता नवीकरणमा सहभागी होला कि नहोला ? जस्ता विषयले कांग्रेस एकताबद्ध हुने कि टुक्रिने भन्ने प्रश्नको उत्तर खोज्ने राजनीतिक विश्लेषकहरूको मत छ । यद्यपि, इतर पक्षका धेरै नेताले पार्टी एकता कायम रहने अथवा नरहने सभापति गगन थापा र उनी नेतृत्वको कार्यसमितिले लिने निर्णयमा भर पर्ने बताइरहेका छन् । इतर पक्षले आफूहरूको सर्त भने स्पष्ट पारिसकेको छैन ।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा देउवा पक्षीय नेता ईश्वरी न्यौपानेले एकता र सहकार्यको विकल्प नभएको, तर विभाजित कांग्रेसीहरूको मन कसरी जोडिन्छ भन्ने भविष्यले बताउने बताइन् । उनले विगतको नजिर प्रस्तुत गर्दै यो विषयमा वर्तमान नेतृत्व नै जबाफदेही हुनुपर्ने उल्लेख गरिन् । ‘नेतालाई टुँडिखेलबाटै गाली गर्दा अर्को दिन उसकै घरमा चिया खान जाने बिपी, कांग्रेस फुटेर दुईटुक्रा भइसकेपछि आफूपछिको दोस्रो वरीयता दिएर एकजुट बनाउन पहल गर्ने गिरिजा, केन्द्रीय समितिमा दुईतिहाइ आफ्नै पक्षमा हुँदा पनि अल्पमतको कदर गर्दै सर्वसम्मतिमा मात्रै निर्णय गरेर सबैको सम्मान गर्ने शेरबहादुर, त्यस्तो नेता अब कोही बन्न सक्छ कि सक्दैन ? भविष्यले बताउला,’ उनले भनिन् ।
इतर पक्षले वर्तमान नेतृत्वले गर्ने आगामी महाधिवेशनको निष्पक्षतामाथि आशंका गरिरहेको छ । महाधिवेशन सम्पन्न गर्न दुवै पक्षको सहमतिमा साझा संयन्त्र बनाउनुपर्ने माग पनि इतर पक्षभित्र उठिरहेको छ । नेता डा. प्रकाशशरण महतले अहिलेको कार्यसमिति एउटा तप्काको मात्रै भएको र निर्णय पनि एकांकी भएको भन्दै साझा संयन्त्र बनाएर महाधिवेशन गर्नुपर्ने बताए । ‘१५औँ महाधिवेशन गर्ने एउटा साझा संयन्त्र दुवैैको सहमतिमा राख्ने र त्यसले सम्पूर्ण अधिकारसहित अधिवेशन सम्पन्न ग¥यो भने सबैको स्वामित्व हुन्छ । अहिले त्यसमा सबैको स्वामित्व छैन । एउटा तप्का मात्रै छ । एकांकी निर्णय भएको छ अहिलेसम्म,’ उनले भने ।
०००
पूर्णबहादुरको समानान्तर गतिविधि जारी
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानान्तर गतिविधिलाई निरन्तरता दिएका छन् । उनले शनिबार दिउँसो १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसहितको गुट भेला बोलाएका हुन् । गोल्फुटारस्थित खड्का निवासमा भएको छलफलमा नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखकलगायत शीर्ष नेताको उपस्थिति थियो । सर्वोच्चको आदेशपछि पहिलो पटक राखेको छलफलले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने अदालतको आदेशलाई स्विकार गर्ने निर्णय गरेको छ । कांग्रेसले आदेशमा पर्याप्त त्रुटि भए पनि मान्ने निर्णय भएको नेता मीन विश्वकर्माले जानकारी दिए । ‘अग्रज र निवेदकहरूले त्यसमा देखिएका पप्र्याप्त त्रुटिका आधारहरू हुँदाहुँदै पनि, फैसलाले आधार मानेका विभिन्न विषय विरोधाभाषपूर्ण र विवादास्पद हुँदाहुँदै पनि स्विकार गर्ने कुरा भएको छ ।’
फैसला स्विकार गरे पनि देउवा–खड्का समूहले गुटलाई भने निरन्तरता दिने भएको छ । तत्कालका लागि विकल्पविहीन बनेको उक्त समूहले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा अझै छलफल गरेर मात्रै ठोस निष्कर्ष निकाल्ने निर्णय गरेको छ । यसका लागि देशभरका तल्लो तहका नेता, कार्यकर्ताको सल्लाह, सुझाव सुनिने भएको छ । यसका लागि खड्काले आज आइतबार बिहान ११ः४५ बजे बस्ने गरी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बैठक बोलाएका छन् । नेता विश्वकर्माले कानुनी पाटोको निरुपण भए पनि पार्टी एकताको राजनीतिक विषय भने कायमै रहेको बताए । उनले पार्टी एकताको सन्दर्भमा चिन्ता व्यक्त भइरहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति थापाको भएको बताए । ‘पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब त्यो गोल सर्वोच्च अदालतले सभापति गगन थापाको खुट्टामा फालिदिएको छ,’ उनले भने, ‘उहाँले कसरी पार्टीलाई एकताबद्ध र ठुलो बनाउनुहुन्छ ? कसरी सबैलाई एकस्वरले कांग्रेसको पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, उहाँको खुट्टामा छ ।’
०००
पार्टी एकताका लागि सक्रिय हुन्छु : गगन
यता, सभापति थापा भने सर्वोच्चको आदेशपछि नरम सुनिएका छन् । उनले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने भन्दै पार्टी पंक्तिलाई आग्रह गरे । ‘अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एकढिक्का भएर अघि बढौँ,’ थापाले भनेका छन् । आधिकारिकता जितहारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको प्रतिक्रिया दिँदै उनले पार्टी एकताका लागि सबैभन्दा ठुलो जिम्मेवारी आफ्नै भएकाले त्यसैअनुरुप सक्रिय हुने स्पष्ट पारेका छन् । ‘पार्टीका सदस्य र शुभेच्छुकहरूबाट जिम्मेवारीसाथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ,’ उनले भनेका छन्, ‘सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’
०००
शेखर कोईराला पक्ष गगनसँगै, मन मिल्ला ?
मध्यमार्गी धारमा उभिएका नेता शेखर कोइराला पछिल्लो समय देउवा समूहसँग निकट थिए । नेता पूर्णबहादुर खड्काले बोलाएको छलफलमा सहभागी भएका उनले माइन्युटमा हस्ताक्षर गर्न भने मानेका थिएनन् । विशेष महाधिवेशनमार्फत् सभापति बन्न गगनले अन्तिम समयसम्म गरेको प्रस्तावमा उनले तत्कालीन सभापति शेरबहादुर देउवासहितको विशेष महाधिवेशन मात्रै मान्ने भन्दै तटस्थ बसेका थिए । कोइराला १५औँ महाधिवेशनमा सभापतिका आकांक्षीसमेत हुन् । सर्वोच्चको आदेशसँगै उनी कांग्रेसभित्रै र एकताकै पक्षमा देखिएको निकट नेताहरूले बताएका छन् । शनिबार नेता पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पनि उनी र उनी पक्षका नेताहरू अनुपस्थित रहे । २१ फागुनको प्रतिनिधिसभा चुनावमा सर्लाही–४ बाट सभापति थापालाई हराउन भूमिका खेलेको आरोप पनि कोइरालामाथि छ । यस्तो अवस्थामा कोइराला र उनी पक्षधर नेताहरूलाई पार्टीले कुन व्यवहार गर्छ भन्नेमा उनीहरू सशंकित देखिएका छन् ।
कोइरालानिकट नेता सुनिल शर्माले कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले इतर पक्षसँग सर्वोच्चको आदेश मानेर जानुको विकल्प नभएको बताए । १४औँ महाधिवेशनको संस्थापनले समयमा महाधिवेशन र विशेष महाधिवेशन नगरेकै कारण यस्तो परिस्थिति बनेको भन्दै उनले कांग्रेसकै प्रतिनिधिले छानेको नेतृत्वलाई मान्दिनँ भन्नु गलत हुने बताए । ‘कांग्रेस विधिको शासन मान्ने पार्टी हो । सर्वोच्चको आदेश मानेर जानुपर्छ,’ उनले भने, ‘विशेष महाधिवेशनमा भृकुटीमण्डपबाट कांग्रेसका कार्यकर्ताहरूले नै नेतृत्व चयन गरेका हुन् । त्यसलाई मान्नुको विकल्प छैन ।’ शर्माले शेखर कोइराला पनि त्यसको विरुद्ध नजाने विश्वास व्यक्त गरे । ‘उहाँ विगतदेखि नै एकताको पक्षमा हुनुहुन्थ्यो । उहाँ पनि यही नेतृत्व मानेर जानुहोला भन्ने विश्वास छ,’ उनले भने ।
फैसलामा पप्र्याप्त त्रुटिका आधार हुँदाहुँदै पनि, फैसलाले आधार मानेका विषय विरोधाभाषपूर्ण र विवादास्पद हुँदाहुँदै पनि फैसला स्विकार गर्छौं । अब सर्वोच्चले सभापति गगन थापाको खुट्टामा बल फालिदिएको छ । पार्टीलाई कसरी लैजाने भन्ने विषय उहाँमै निर्भर छ । – मीन विश्वकर्मा, देउवापक्षीय नेता
नेपाली कांग्रेस विधिको शासन मान्ने पार्टी हो । विशेष महाधिवेशनमा भृकुटीमण्डपबाट कांग्रेसका कार्यकर्ताहरूले नै नेतृत्व चयन गरेका हुन् । त्यसकै आधारमा सर्वोच्चले पनि सदर गरिदिएपछि अब त्यसलाई मान्नुको विकल्प छैन । – डा. सुनिल शर्मा, कोइरालापक्षीय नेता
अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास छ । सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरै हो । त्यसका लागि प्रतिबद्ध छु । १५औँ महाधिवेशनलाई पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ । – गगन थापा, सभापति
०००
–
प्रतिक्रिया