
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्को निवासमा आज शनिबार बसेको बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए ।
सर्वोच्चको फैसलापछि आफूहरूले गगन थापालाई पार्टी सभापति मानेको उनले बताए । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए ।
उनले भने, ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले बल फाल्दिएको छ, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको खुट्टामा छ ।’
सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद तीन महिनापछि हिजो वैशाख गते टुंग्याएको थियो । सर्वोच्चले निर्वाचन आयोगको निर्णय कानुनी आधारमा रहेकोसहित अन्य तीन कारण देखाउँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । त्यसपछि देउवा पक्षको बैठक वैशाख ५ मा बसेको हो ।
सर्वोच्चको संक्षिप्त आदेशमा देउवा पक्षले कारबाहीको विषयमा निर्वाचन आयोगलाई गराएको जानकारी र विशेष महाधिवेशनबारे दिएको उजुरी पत्रलाई राजनीतिक दलको ऐन दफा ४३ र ४४ अन्तर्गतको उजुरी मान्न नमिल्ने भएकाले कारबाही सदर हुन नसक्ने उल्लेख छ ।
यस्तै, केन्द्रीय पदाधिकारीको हेरफर अद्यावधिक भएपछि गगन थापाको हस्ताक्षरबाट फागुन २१ को संघीय संसद्को निर्वाचन सम्पन्न भएको र त्यसले राजनीतिक वैधता प्राप्त गरेको सर्वोच्चको संक्षिप्त आदेशमा उल्लेख छ ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णय कानुनी आधारमै भएकाले निवेदनको भरमा हस्तक्षेप गर्न नमिल्ने पनि भनेको थियो । सर्वोच्चको फैसलापछि आगामी बाटो तयका लागि देउवा पक्ष छलफल जुटेको हो । उनीहरूले सांगठनिक र भावनात्मक एकताबारे छलफल अघि बढाउने निष्कर्ष निकालेका हुन् ।
प्रतिक्रिया