
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाएर अझ बलियो बनाउने साझा यात्राको ढोका खोलेको बताएका छन् । अदालतले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले यसलाई जित–हारको विषय नबनाउन आग्रह गरेका हुन् ।
सभापति थापाले अदालतको निर्णयलाई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा व्याख्या गरेका छन् । ‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,’ थापाले भनेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
एकता र पुनर्जागरणमा जोड
पार्टीभित्रको आन्तरिक विवाद समाधान भएको संकेत गर्दै सभापति थापाले देश र विदेशमा रहेका सबै सदस्य तथा शुभेच्छुकहरुलाई अब जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।
उनले पार्टीको मुख्य नेतृत्वको हैसियतले सबैलाई समेट्ने जिम्मेवारी आफ्नो काँधमा रहेको समेत स्वीकार गरेका छन् । थापाले लेखेका छन्, ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’
आफ्नो धारणा राख्ने क्रममा सभापति थापाले अब पार्टीको सम्पूर्ण ध्यान १५औँ महाधिवेशनमा केन्द्रित हुने स्पष्ट पारेका छन् । महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको ठुलो अवसरका रूपमा उपयोग गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
‘अग्रजहरुको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ,’ थापाले भनेका छन् ।
सर्वोच्चको यो फैसलासँगै लामो समयदेखि कांग्रेसभित्र देखिएको आधिकारिकतासम्बन्धी अन्योल अन्त्य भएको छ भने गगन थापालाई आगामी महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने कानुनी र राजनीतिक बाटो खुल्ला भएको छ भएको छ । गत पुसमा सभापति थापा र पार्टी उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन भएको थियो ।
सोही महाधिवेशनबाट उनी सभापति चयन भएका हुन् भने विश्वप्रकाश पनि उपसभापति चयन भएका थिए । त्यसपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन अस्वीकार गरेर खारेजको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकोमा हिजो शुक्रबार सर्वोच्चले गगन र विश्वप्रकाशकै पक्षमा फैसला गरेको हो ।
प्रतिक्रिया