
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ जना सांसद छन् ।
कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ । सहमतिको लागि भोलि पनि फेरि बैठक बस्ने उनले बताए ।
उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ, आज दलको नेता टुंगिएन, हामी भोलि पनि दाबेदारहरुसँग छलफल गर्छौँ ।’ उनले दलको नेतामा दाबी गर्नेहरुसँग पार्टी नेतृत्वसहित बसेर भोलि छलफल गर्ने बताए । आजको बैठकमा ३८ मध्ये २६ जनाले बोलेको सांसद अर्जुननसिंह केसीले बताए ।
दलको नेता दाबी गरिरहेका नेता केसीले भने, ‘सबैले आफ्नो आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो, सबैले संसदीय दलको नेता चयनमा ढिला भएको भन्ने गुनासो राख्नुभयो, र यसलाई चाहिँ जसरी पनि सहमतिपूर्ण ढंगले एउटा निष्कर्ष निकालौँ, चाँडो निकालौँ भन्नेमा नै सबैको एउटै आवाज त्यही नै थियो ।’ उनले लोकतान्त्रिक पार्टी भएकाले सबैसँग सहमतिको प्रयास भइरहेको बताए ।
प्रतिक्रिया