कांग्रेसले बोलायो संसदीय दलको नेता चयन गर्न सांसदहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि सांसदहरुलाई छलफलमा बोलाएको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले आज दिउँसो ३ बजे बैठक बोलाएको हो । बैठक कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

‘अहिले म दलको कार्यालयमै भेटघाटमा छु, सहमहामन्त्री प्रकाश जीले ३ बजेका लागि बैठकमा बोलाउनुभएको छ, एजेण्डा बारे भन्नुभएको छैन तर, संसदीय दलको नेता चयन गर्न बनेको समितिको सदस्यले बोलाएपछि दलको नेता चयनकै लागि भन्ने बुझेका छौँ,’ सांसद भरतबहादुर खड्काले भने ।

खड्का डोटीबाट निर्वाचित खड्का पनि दलको नेताको आंकाक्षी हुन । बिहीबार भएको संसदीय समितिमा उनलाई कांग्रेसले सार्वजनिक लेखा समितिको सर्वसम्मत उम्मेदवार बनाएको छ । उनी उक्त समितिको प्रमुख हुने पक्का छ ।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’निर्वाचन समितिका संयोजक समेत हुन । उनले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई छलफलका लागि बोलाएका हुन् ।

यसअघि संयोजक रसाइलीले २ गते दलको नेताको लागि छलफल तथा निर्वाचन कार्यतालिका प्रकाशन ३ गते सर्वसम्मतिको प्रयास र ४ चैतमा नेता चयन गर्ने तयारी भएको जानकारी दिएका थिए । तर, हालसम्म कार्यतालिका सार्वजनिक भएको छैन ।

भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, निश्कल राई संसदीय दलको नेताको चर्चामा रहेका सांसद् हुन् । राइ, आचार्य र खड्का प्रत्यक्ष निर्वाचित हुन भने आङ्देम्बे र केसी समानुपातिकबाट आएका हुन् ।

लामो समयसम्म संसदीय दलको नेता चयन नहुँदा कांग्रेसमाथि प्रश्न पनि उठेको थियो । गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनिपछि बल्ल कांग्रेसले संसदीय दलको नेता चयन गर्न लागेको हो ।

प्रतिक्रिया