
काठमाडौँ । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारको निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने ठहर गर्दै निर्णय सच्याउन कांग्रेसले सरकारलाई आग्रह गरेको हाे ।
‘सरकारले नियमन गर्नसक्छ तर चयनात्मक व्यवहार गर्न सक्दैन’, कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘निर्णय सच्याइ समान व्यवहार गर्न सरकारलाई आग्रह गरिन्छ ।’
सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकार सरकारसँग भए पनि कुनै विशेष सञ्चारमाध्यमलाई लक्षित गरी विभेदपूर्ण नीति अपनाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरिएको छ । विज्ञापन वितरण प्रक्रियालाई पारदर्शी, न्यायोचित र मापदण्डमा आधारित बनाउन पनि कांग्रेसले माग गरेको छ । पत्रकार सम्बद्ध संस्था तथा निजी क्षेत्रका सञ्चारमाध्यमले पनि सरकारी निर्णयको बिरोध गर्दै आएका छन् ।
प्रतिक्रिया